|

काठमाडौं : जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्र २०८१ शुरू हुनअगावै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउने बताएको छ। केन्द्रले चैत १६ गतेदेखि पुस्तक वितरण शुरू गर्ने भएको हो। 

चैत १५ गतेभित्र पाठ्यपुस्तक छपाइ सकेर उपत्यकाबाहेक सातवटै प्रदेशमा रहेका वितरण केन्द्रबाट चैत १६ गतेदेखि वितरण शुरू गर्ने केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले बताए। 

‘हामीले जिम्मेवारी पाएको कक्षा ५ देखि १० सम्मका सम्पूर्ण सेटमै ९५ प्रतिशत पाठ्यपुस्तक छपाइ सकेका छौँ, चैत १५ गतेभित्र बाँकी पाँच प्रतिशत पुस्तक पनि छपाइ सक्छौँ’, उनले भने, ‘चैत १५ गतेदेखि नै पुस्तक वितरण शुरु गर्नेछौँ, शैक्षिक सत्र शुरू हुँदासम्म पूरै सेटमा सबै कक्षाका विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्‍याउँछौँ।’
    
केन्द्रले अहिले २४ सै घण्टा छापाखाना सञ्चालन गरेर दैनिक एक लाख थान पुस्तक छपाइ गरिरहेको छ। आउँदो शैक्षिक सत्रका लागि केन्द्रले एक करोड ७५ लाख थान पाठ्यपुस्तक छपाइ गर्नुपर्नेमा एक करोड ५७ लाख थान पाठ्यपुस्तक छपाइ सकेको र बाँकी १८ लाख थान पुस्तक १४ दिनभित्रमा छपाइ सम्पन्न गरेर वितरण गर्न शुरु गर्ने प्रबन्ध निर्देशक झाले बताए।
    
उनले पुस्तक छपाइका लागि आवश्यक कागज, मसीलगायत कच्चा पदार्थ पर्याप्त मात्रामा खरिद गरेर राखेको र पुस्तक छपाइको काम दुई सिफ्टमा सातै दिन, २४ सैँ घण्टा चलिरहेको जानकारी दिए। पुस्तक वितरण भने पहिलो प्राथमिकता हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र र तेस्रोमा तराईमा र अन्तमा उपत्यकामा गरिने भएको छ। 
    
केन्द्रबाहेक उपत्यका बाहिरका नौ प्रादेशिक कार्यालय एवं वितरण केन्द्रबाट बिहानदेखि बेलुकासम्म पुस्तक वितरण गरिने प्रबन्ध निर्देशक झाले बताए। छपाइ सकिएका पुस्तक सातैवटै प्रदेशका केन्द्रका प्रादेशिक कार्यालयको गोदाममा पुर्‍याउने काम भइरहेको छ। उनले यस वर्षको भर्ना अभियान सुरु हुन अगाडिनै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन सक्ने बताए। प्रबन्ध निर्देशक झाले भने, ‘गत वर्षजस्तै यो वर्ष पनि कुनै पनि कक्षाको कुनै पनि विषयको पुस्तक अभाव हुन नदिने र गत वर्षजस्तै सेटमै पुस्तक उपलब्ध गराउने छौँ, कुनै पनि पुस्तक यस वर्ष पनि अभाव हुँदैन।’
    
केन्द्रले आउँदो शैक्षिक सत्रका लागि ५ देखि १२ कक्षासम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो। चालु शैक्षिक सत्रका लागि गत वर्ष चैतमै कक्षा ६ देखि १२ सम्मको पुस्तक छपाइ गरेर शैक्षिक सत्र शुरु हुने बित्तिकै विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउन सफल भएपछि यस वर्ष सरकारले केन्द्रलाई कक्षा ५ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएको थियो। 
    
केन्द्रका प्रबन्ध निर्देशक झाले भने कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिन सरकारसँग माग गरेको भए पनि कक्षा ५ देखिको जिम्मेवारी पाएको बताए। आगामी वर्षदेखि सरकारले कक्षा १ देखिकै पुस्तक छपाइको जिम्मेवारी दिएपनि केन्द्रले फागुनभित्रै पुस्तक पछाइ सम्पन्न गरेर चैतमा वितरण सम्पन्न गर्नसक्ने दाबी उनले गरे। 

सरकारले गत वर्ष निजी क्षेत्रका छापाखानालाई कक्षा १ देखि ५ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मा दिए पनि यस वर्ष त्यसलाई खुम्च्याउँदै कक्षा १ देखि ४ सम्मको मात्रै दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.