|

कास्की : पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरिने भएको छ। पोखरालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार पर्यटकीय राजधानी घोषणा गर्नेछन्। 

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको आयोजनामा घोषणा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव कुमानसिंह गुरुङले जानकारी दिए। 

उनका अनुसार घोषणा मूल समारोहअघि बसुन्धरा उद्यानबाट विभिन्न साँस्कृतिक झाँकीसहितको र्‍याली निकालिनेछ। घोषणा समारोह फेवाताल किनार बाराही घाटमा हुने आयोजकले जनाएको छ। ‘प्रदेशका विभिन्न जाति तथा समुदायका मौलिक झाँकीसहितको र्‍यालीपछि समारोह हुनेछ। राजधानी शहरको प्रतिमा अनावरणपछि औपचारिक घोषणा हुनेछ’, उनले भने। 

घोषणा समारोहलाई भव्य बनाउन पोखरा महानगरका प्रमुख धनराज आचार्यको संयोजकत्वमा मुल समारोह समिति गठन गरिएको छ। समितिमा प्रदेश सरकारका प्रमुख सचिवसहित सबै सचिव, पोखराका छिमेकी पालिका रूपा, मादी, माछापुच्छ्रे, अन्नपूर्ण, स्याङ्जाको फेदीखोला, तनहुँको शुक्लागण्डकी, पर्वतको कुश्मा र मोदी गाउँपालिकाका अध्यक्ष र पर्यटन संघ संस्थालगायत  छन्।

राजधानी घोषणा समारोहलाई भव्य बनाउन र यसको महत्त्वलाई अन्तर्राष्ट्रियस्तरमा समेत बुझाउन नेपालस्थित चीन र भारतका राजदूत र विभिन्न देशका नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलाई आमन्त्रण गरिएको छ। 

प्रदेश सरकारले आफ्नो राजधानी शहरलाई पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि अध्ययन समिति गठन गरेको थियो। समितिले गत फागुनमा प्रतिवेदन सरकारलाई बुझाएको थियो। पोखरा महानगर प्रमुख धनराज आचार्यले घोषणा समारोहलाई उत्सव बनाउने गरी भव्य बनाउने गरी तयारी गरेको बताए। 

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागिएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.