|

इलाम : इलामको सूर्योदय नगरपालिका–१२ स्थित करफोक माविको खेलमैदानमा अपराहन्न ४ बजेसम्म फाट्टफुटट् मानिसहरु थिए। नेपथ्यको कन्सर्ट आयोजनास्थलमा जब ५ बजे डिजिटल डिस्प्लेमा काउन्टिङ सुरु भयो मानिसहरु धमाधम मैदान प्रवेश गर्न थाले।

निर्धारित ६ बजेबाट कन्सर्ट हुने भएपछि लोकरकमा झुम्न मैदानभरी उपस्थिति देखिन्थ्यो। ६ बजेर ९ मिनेट जाँदा अमृत गुरुङ आफ्नो टिमका साथ स्टेजमा देखा परे। ‘हो रामा रामा’ बोलको गितबाट सुरु भएको कन्सर्ट झन्डै २ घण्टा चल्यो। करफोकस्थित सल्लाघारीले घेरिएको पाखामा भएको कन्सर्टमा ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु र कुहिरोले’ गाइसकेपछि करफोकको ज्ञानभुमिमा हार्दिक स्वागत, कञ्चनजंघा, माई र हरियाली चिया वगानको भुमिका स्वागत ठुलाको आशीर्वाद, समकालिको सदभाव र सानाको मायाले नेपथ्य ३४ बर्ष पुरा भएको भन्दै गर्दा उपस्थित दर्शकहरुले गडगडाहट तालिले सम्मान गरे। 

त्यसपछि उनले पुरानो गीत सुनौँ भन्दै ‘आँगनै भरी हिउँ नै झरे’, ‘ आज भोलि के भयो के भयो’ गाए।

लाङटाङ क्षेत्रबाट संकलन गरिएको ‘भेडाको ऊनजस्तो’ हुँदै ‘छेक्यो छेक्यो’, ‘लामपाते सुरती’, ‘चरि मर्यो’ अनि ‘जोमसोमे बजार’ले निरन्तरता दिउन्जेल मैदानका अधिकांश भागमा नृत्यरत तन्नेरीहरु देखापर्न थालिसकेका थिए। मुलुकका फरक-फरक भेगको प्रतिनिधित्व गर्ने यी गीतहरु प्रस्तुत गर्दाका क्रममा अमृतले उपस्थित श्रोता दर्शकलाई आफ्नो देश घुम्न र यसलाई बुझ्न अनुरोध पनि गरिरहेका थिए। नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक र शैक्षिक क्षेत्रका साथै मुलुकमा ब्याप्त बेथितिका चर्चा गर्नुका साथै सकारात्मक सोचको विकास गर्न आव्हान पनि गरे।

सन् २००१ मा इलाम घुम्दा चिया बगानको रमाइलो र करफोक ग्राउन्डमा कन्सर्ट गर्ने इच्छा पूरा भएको सुनाउँदै २०६८ मा फिक्कलमा गरेको कन्सर्टसमेत सम्झिन भ्याए।

मादलमा शान्ति रायमाझीको धुनले उपस्थित सबै मन्त्रमुग्ध भएका थिए। ‘झ्याउरे भाकामा शिरैमा शिरफुल बनमा बन फुल’ गाए। जति रात पर्दै गयो उति रमाउँदै गएका दर्शकसामु त्यसपछि पनि नेपथ्यले लगातार ‘जिवन हो घाम छायाँ’ ‘गाउँ गाउँबाट उठ’, ‘जोगले हुन्छ भेट माया हुन्छ सम्झना’, ‘मै नाचे छमछमी’, ‘तालको पानी’ र ‘रेशम’ हुँदै अन्त्यमा ‘रातो र चन्द्रसूर्जे’ प्रस्तुत गरेपछि विदा लिएको थियो। गायक अमृतलाई सँधैझै ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।

इलाम, झापाका साथै भारतको दार्जिलिङ, मिरिक, खर्साङ लगायतका भू–भागबाट आएका ५ हजारभन्द बढी संगीतप्रेमीहरुले करिब २ घण्टा करफोक मैदानमा साथ दिए। गुरुङ समाज इलामको आयोजनामा इलाम नगरपालिका–६ गढीथुम्कामा निर्माणाधिन न्युपी थर्पा छोलिङ गुम्बाको सहयोगार्थ आयोजित कन्सर्टपछि वरिष्ठ पत्रकार केदार शर्मा लेख्छन् ‘हिजो इलामको करफोक स्कूलमा भएको नेपथ्यको कन्सर्ट ५००० बढी दर्शकले हेरे (स्रोतः आयोजक), र स्वाभाविक हो, ती सबैजसो युवा थिए।

रु ११००– को  टिकट काटेर कन्सर्ट हेर्न आएका गाउँघरका युवाको उत्साहपूर्ण उपस्थितिले भन्छ, गाउँघर रित्ता छैनन्।

म्यानपावरका अफिस र एयरपोर्टको डिपार्चर लाउन्जमा मात्र हेरेर निराशा पोख्ने महानुभावहरूलाई उनीहरूको सन्देश छ, हामीलाई भेट्ने भए गाउँमा पनि पस !’

इलामपछि नेपथ्यले आगामी चैत्र ३० गते झापाको डोमलाल राजवंशी रंगशालामा कन्सर्ट गर्दैछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.