|

काठमाडौँ : थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालबाट बच्चा चोरेकी मानकुमारी सिंहले आफू डिप्रेशनको शिकार भएको बयान दिएकी छन्।

दैलेखको नौमूले घर भएकी २४ वर्षीया मानकुमारीले फागुन ११ गते काभ्रेकी सविना श्रेष्ठकी २६ दिने छोरीलाई चोरेकी थिइन्। चोरी गरेकै दिन पक्राउ परेकी उनले प्रहरीका अनुसन्धान अधिकृतसमक्ष आफ्नो पटक पटक भएको गर्भपतनका कारण डिप्रेशनको शिकार बनेको बताएकी हुन्।

उनीविरुद्ध जिल्ला अदालत काठमाडौँमा अपहरण तथा शरीर बन्धक कसुरको अभियोगपत्र दायर भएको छ। आफू डिप्रेशनको विरामी भएकाले जानी जानी बच्चालाई अपहरण नगरेको बयान दिएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले दायर गरेको अभियोगपत्रमा उल्लेख छ।

 

यस्तो छ‚ मानकुमारीले प्रहरी समक्ष दिएको बयान :

मैले विवाह गरेको ३ वर्ष जति भयो। आजभन्दा करिव २ वर्ष अगाडि मेरो ८ महिनाको गर्भ खेर गएको थियो । मेरो गर्भ खेर गएपछि म डिप्रेशनमा गएँ। त्यसपछि मलाई मान्छेहरुको भिडभाड देख्नासाथ दिमागले काम नगर्ने, झिझ्याट महशुस हुने र आफु कहाँ छु? कोसँग छु? र के गर्दै छु भन्ने कुरा समेत याद नहुने भएपछि मेरो परिवारले काठमाण्डौ गएर डिप्रेशनको औषधी गराउनु भनेर श्रीमानसँग पठाएको थियो तर मैले अस्पताल गएर भने चेकजाँच गरिन। मेरो बेला बेलामा २/३ महिना जति गर्भ बस्ने र २/३ महिना पछि गर्भ खेरा जाने गर्दै आएकोले मलाई ज्योतिष शास्त्रमा बिश्वास रहेको हुँदा आज भन्दा करिव ८ महिना अगाडी मैले ज्योतिषीलाई पनि देखाएको थिएँ। ज्योतिषिले मलाई नानी अब तिम्रो बच्चा रहन्छ भनी झारफुक पनि गरेको थियो। त्यसपछि मेरो रक्तस्राब रोकिएको थियो। वारदात हुनु भन्दा करिव ४/५ दिन अगाडी मेरो फेरी रक्तस्राव हुन थाल्यो। मैले मेरो श्रीमानसँग कुराकानी गरी थापाथली प्रसुतीगृहमा चेकजाँच गराउने कुरा गरी मिति २०८०।११।१० गते प्रसुतीगृहमा आई चेकजाँच गराई परीक्षणका लागी रगत दिएको थिएँ।

अस्पतालले मलाई ऐ.११ गते रिपोर्ट लिन बोलाएको थियो । त्यसैले म र मेरो श्रीमान भई मिति २०८०।११।११ गते अस्पताल आएका थियौं । अस्पताल आएकोमा त्यहा रिपोर्ट लिने ठाउँ बन्द भएको थियो । रिपोर्ट लिने ठाउँमा श्रीमानलाई जान नदिने भएकोले श्रीमान पहिले नै तलै बस्नु भएको थियो भने म माथी गएको थिएँ। रिपोर्ट लिने ठाउँ बन्द भएकोले म तल आई श्रीमानलाई खोज्दा श्रीमान नभेटिएपछि म एताउता हेर्दै हिड्ने क्रममा जाहेरवालाको श्रीमतीले भुईमा म्याट राखेको ठाउँमा बच्चा बोकेर बसी रहेको ठाउँमा संजोकबस म पनि पुगें। निज जाहेरवालाको श्रीमातीले एक्कासी आफुसँगै बसेकी जेठानी दिदीलाई, माथी दिदी रिपोर्ट लिन जानु भएको थियो, अझै आउनु भएन भनेको कुरा मैले सुनें। त्यसपछि मैले निजलाई, दिदी बच्चा बोकेर गएको भए त, रिपोर्ट छिटै दिन्थ्यो होलानी भनेपछि निजले मलाई बच्चा समाउनु भन्नु भयो । मैले पनि बच्चा समाएँ। त्यसपछि निज जाहेरवालाको श्रीमतीले आफ्नो बच्चाले पिसाब फेरेको कपडा र दिशा गरेको डाईपर बोक्नु भयो।

हामीसँग सँगै हिंडी रहेका थियौं, एक्कासी जाहेरवालाको श्रीमतीले बच्चाले दिशा गरेको डाईपर फाल्न साईट तिर जानु भएछ । मैले सोचेकी उहाँ मेरो पछाडी हुनु हुन्छ भनेर तर हाल आएर मलाई थाहा भयो की उहाँ डाईपर फाल्न जानु भएको रहेछ । एक्कासी पछाडी हेर्दा मैले जाहेरवालाको श्रीमतीलाई देखिन र मेरो होस हरायो। फेरी निजले रिपोर्टको कुरा गर्दै गरेको मलाई याद आयो र म रिपोर्ट लिने ठाउँमा जाँदा त्यहा मैले निजलाई भेटिन र त्यसपछि म फेरी निजलाई खोज्दा दोस्रो तल्लामा पनि गए तर त्यहा पनि मैले निजलाई भेटिन । मैले एताउता खोज्दै हिंड्दा नभेटेपछि फेरी म पहिले भेटेको ठाउँमा गए, त्यहा पनि नभेटेपछि मलाई निज जाहेरवालाको श्रीमतीले कस्तो थिईन ? कस्तो कपडा लगाएकी थिईन ? भन्ने कुरा मलाई याद नै भएन र मेरो होस उठ्यो । त्यसपछि मेरो दिमागले काम गरेन र मैले बच्चा बोकेर बाहिर हिंडेछु।

म, मेरो श्रीमानसँग अस्पतालमा उपचार गर्न सँगै आएको हुँ भन्ने कुराको समेत याद भएन। मैले बच्चा बोकेर कहाँवाट कता गएँ र ट्याक्सी बोकेर गएको कुरा पनि याद छैन र ट्याक्सीलाई पैसा दिएको कुरा पनि याद छैन, मलाई एक्कासी प्रहरीले काँडाघारी चौकीमा लगेर गएपछि झसंङ्ग याद आयो। मलाई प्रहरीले मेरो कोठावाट बच्चा सहित ल्याएको कुरा बताएपछि मलाई याद भएको हो। मेरो दिमागले काम नगरेकोले मैले बच्चा बोकेर गएको हो। मैले जानी जानी २६ दिनको दुध खाने बच्चालाई अपहरण गरी लगेको होईन र बन्धक बनाएको पनि होईन। मेरो गर्भ बारम्बार बस्ने र खेरा जाने गरेकोले म डिप्रेशनमा गएको छु। त्यो दिन पनि निज जाहेरवालाको श्रीमतीले बच्चा दिई सकेपछि हामी दुबै सँगै हिंड्ने क्रममा जाहेरवालाको श्रीमती मेरो पछाडी आएको होलिन भनेको निज त्यहावाट कता गईन, गईन, मैले निजलाई खोज्दा खोज्दा नभेटपछि मेरो होस हरायो र मैले म कहाँ गए, कताँ गएँ र के गरे भन्ने कुरा मलाई यादै छैन, एक्कासी मलाई प्रहरीले प्रहरी कार्यालयमा लिई गएपछि मलाई होस आएको हो। मैले जानी जानी जाहेरवालाको बच्चा बोकी हिडेको होईन । मैले बिना जानकारी र बिना अनुमति बच्चा लिई जान मिल्दैन थियो, गल्ती भयो।

मैले बच्चाको आमालाई खोजी हिंड्दै गर्दा मैले बच्चाको आमालाई नभेटेपछि मेरो होस उठ्यो र मलाई बच्चाको आमा कस्ति थिईन भन्ने कुराको पनि पछि याद भएन र मैले बच्चा अस्पतालको बाहिर लिएर गएको सम्म याद छ, त्यसपछि मलाई केहि याद छैन । मैले बच्चाको आमा नभेटेपछि प्रहरी तथा अस्पतालमा खबर गर्नु पर्ने थियो, गल्ती भयो। ​ मेरो बच्चा खेरा गएपछि म डिप्रेशनमा गएको थिएँ। त्यसपछि मैले सुर्खेतको माया नर्सिङ होम अस्पतालमा चेकअप गराएको थिएँ। त्यसपछि मैले काठमाण्डौमा पनि चेक गराएको हो, मलाई अस्पतालको नाम याद छैन, पछि कागजातहरु पेश गर्नेछु। मैले डिप्रेशन सम्बन्धी कुनै औषधी सेवन गर्दिन। ​

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.