|

चितवन : युवाहरू विदेश पलायन हुँदा कृषि मजदुर पाउनै गाह्रो भएको छ। मजदुरको अभावमा दुईतीन वर्षमा सबैका खेतबारी बाँझै हुने अवस्था आएको भन्दै किसान चिन्तित बनेका छन्।

भरतपुरको अमृतनगरमा रहेको युवा आधुनिक सामूहिक खेती फार्मका सचिव सुमन सुवेदी कामदारको खोजीमा नवलपरासीका गाउँगाउँ पुगेका छन्।

त्यहाँबाट आएका युवालाई काममा लगाएर खेती गर्ने उनको योजना छ। उनले विगत पाँच वर्षदेखि तरकारीखेती गर्दै आएका छन्।

उनले भने, ‘कामदार नपाउने र आफूले मात्रै गर्न नसक्ने अवस्था आएपछि सबै किसान पलायन हुन सक्छन्। यस्तै अवस्था रहे दुईतीन वर्षमा सबैका खेतबारी बाँझै हुनेछन्।’

तरकारीखेतीका लागि कामदार नपाएपछि खोज्न गाउँगाउँ जानुपरेको उनले गुनासो गरे। यसरी कामदारको खोजीमा ठाउँठाउँ पुग्नुपर्ने बाध्यता भएको बताउँदै लामो समय काम गर्ने कोही नभेटिने उनको चिन्ता छ।

कृषि क्षेत्रमा काम गर्ने कामदारलाई बस्न र खान दिएर सीपअनुसार १२ हजारदेखि २० हजार तलब दिने गरिएको उनले बताए।

सामूहिक खेतीअन्तर्गत अहिले १५० बिघा क्षेत्रफलमा तरकारीखेती गरिए पनि आवश्यक कामदार नपाउँदा थोरै कामदारले हुने काम मात्रै गर्दै आइएको छ।

अहिले धेरै कामदार लाग्ने खेती खुर्सानी, भिन्डी, सिमीजस्ता तरकारी खेती गर्न किसानले छाडिसकेको उनले बताए। अहिले कामदार लिन मधेशसम्म पुग्नुपरेको उनले गुनासो गरे। उनले भने, ‘अहिले तरकारीलाई थाँक्रो राख्ने वेला भएको छ तर कामदार पाइन्नन्, अब के गर्ने ?’ कामदारको खोजीका लागि मात्रै एकजना दौडिनुपर्ने बाध्यता उनको भनाइ छ।

अमृतनगर क्षेत्रमा हुप्सीकोटका मात्रै एक सयभन्दा बढी कामदार आएर काम गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनका संयोजक लेखनाथ भुसालले जानकारी दिए। उनले भने, ‘जिल्लामा कामदार पाउनै मुस्किल भयो।’ एक वर्षभन्दा बढी लामो समय बस्ने कामदारको बीमासमेत गर्ने गरी कामदार ल्याए पनि ६ महिनाभन्दा नबस्ने गरेको उनको भनाइ छ।

पाँचदेखि २० बिघासम्म कृषि गर्ने ५० जना किसान रहेको जनाउँदै उनले अब यस्तै अवस्था रहे सबै विदेश पलायन हुने स्थिति आउने बताए। उनले भने, ‘अहिले बारीमा तरकारी टिप्नेसमेत कामदार पाउन मुस्किल भयो, व्यावसायिक किसानले कसरी खेती गर्ने ?’ काम गर्ने मजदुर नपाएपछि प्रविधि प्रयोग गरेर विषादी छर्ने काम शुरु गर्न लागिएको भरतपुर महानगर–२५ अमृतनगरका कृषक सुजनबाजु भण्डारीले बताए।

उनले भने, ‘अहिले औषधि छर्न ड्रोन प्रयोग गर्ने योजनामा रहेका छौँ।’ जिल्लामा हाल १० कट्ठाभन्दा धेरै जग्गामा कृषि काम गर्ने दुई हजार किसान रहेको अनुमान छ। उनीहरू अहिले कामदार पाउन नसक्दा समस्यामा परेका छन्। जिल्लामा कामदार नपाउनु र बाहिरबाट आएका कामदारले छोटो समयमा काम छाड्नुले समस्या बढ्दै गएको भण्डारीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.