|

गौर : बेमौसमी वर्षाका कारण रौतहटका इँटा उत्पादक व्यवसायी मारमा परेका छन्। वर्षाका कारण इँटा उत्पादक व्यवसायीलाई करोडौँको नोक्सान भएको हो।

बुधबार बिहानैदेखि परेको पानीले पोल्न तयार पारिएको काँचो इँटा गलेर नष्ट हुँदा जिल्लाभरका इँटा उत्पादकलाई करिब ६ करोडभन्दा बढीको क्षति भएको इँटा उत्पादक संघ रौतहटले जनाएको छ।

मौसममा परिवर्तन भई बुधबार परेको पानीले सुकाएर राखिएको इँटामा क्षति पुर्‍याएको इँटा व्यवसायी बताउँछन्। वर्षाका कारण पोल्न तयार पारिएको इँटामा क्षति पुगेर एउटा भट्टामा मात्रै करिब १२ लाखको क्षति भएको व्यवसायीहरूको भनाइ छ।

वर्षभरी बेच्नका लागि तयार भइरहेको इँटा पानीले नष्ट गरेपछि इँटा व्यवसायीहरू आर्थिक समस्यामा परेका छन्।

बुधबार बिहानैदेखि परेको पानीले गर्दा आफ्नो इँटा भट्टामा मात्रै पोल्नका लागि तयार पारिएको १२ लाख बराबरको इँटा भिजेर नष्ट भएको वृन्दावन नगरपालिकाको वडा नं.३ मा रहेको कृष्णा इँटा उद्योगका सञ्चालक प्रेमशंकर यादवले जानकारी दिए।

त्यस्तै वृन्दावन नगरपालिकाको वडा नं.७ अन्तर्गत पर्ने एमबी इँटा उद्योगको पनि वर्षाले गर्दा करिब १० लाख बराबरको इँटा गलेर क्षति पुगेको सञ्चालक उमेद साहले बताए।

पोल्न तयार पारिएको सम्पूर्ण कच्चा इँटा नष्ट भएकाले उद्योगीहरू ठूलो आर्थिक संकटमा परेको एसपिएल इँटा उद्योगका सञ्चालक एवम् रौतहट इँटा उद्योग व्यवसायी संघका अध्यक्ष रामविनोद साहले बताए।

उनले बेमौसमी वर्षाका कारण रौतहटका सबै इँटा उद्योगीको कच्चा इँटा नष्ट भएकाले उद्योग बन्द गर्ने अवस्था आएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.