|

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले शनिबार मस्को नजिकै क्रोकस सिटी हलमा कम्तीमा १३३ जनाको ज्यान जाने गरी भएको ‘बर्बर आतंकवादी आक्रमण’ मा संलग्नलाई सजाय दिने प्रतिबद्धता जनाएका छन्। 

शनिबार टेलिभिजनमा राष्ट्रका नाममा एक सम्बोधन गर्दै राष्ट्रपति पुटिनले हमलाकारीको तुलना ‘नाजीहरू’ सँग गर्दै आक्रमण ‘अत्याचार, रुसका मानिसविरुद्धको हमला’ भएको बताए।

पुटिनले आक्रमणबारे पहिलो सार्वजनिक टिप्पणीमा इस्लामिक स्टेटले लिएको जिम्मेवारीको दाबीको सन्दर्भलाई जोडेनन्।

‘गोली हानी मानिसहरूको हत्या गर्ने सबैलाई फेला पारिएको छ र उनीहरूलाई पक्राउ गरिएको छ’, उनले भने, ‘उनीहरू भाग्ने प्रयासमा युक्रेनतर्फ गइरहेका थिए, प्रारम्भिक आँकडाअनुसार राज्यको सीमा पार गर्न उनीहरूका लागि युक्रेनतिरबाट एउटा झ्याल तयार गरिएको थियो।’

एफएसबी सुरक्षा सेवाले शनिबार आक्रमणका सिलसिलामा ११ जनालाई पक्राउ गरेको बताएको छ। ‘सबै अपराधी, आयोजक र यो अपराधको आदेश दिनेलाई उचित र अनिवार्यरूपमा सजाय दिइने छ’, पुटिनले भने। 

शुक्रबार साँझ मस्कोको उत्तरी उपनगर क्रास्नोगोर्स्कमा रहेको क्रोकस सिटी हलमा बन्दुकधारीले आक्रमण गरी भवनमा आगो लगाएका थिए। यो करिब दुई दशकमा रुसमाथि सबैभन्दा घातक आक्रमण हो र इस्लामिक स्टेटले दाबी गरेको युरोपमा सबैभन्दा घातक हमला हो। रुसी अधिकारीहरूले मृतकको सङ्ख्या अझ बढ्ने अनुमान गर्दै १०० भन्दा धेरै घाइते अस्पतालमा रहेको बताएका छन्। 

पुटिनले आइतबार राष्ट्रिय शोक दिवस मनाउने घोषणा गरे। आक्रमणपछि मुलुकभरका प्रमुख कार्यक्रम रद्द गरिएका छन्। रुस र पाराग्वेबीच सोमबार मस्कोमा  तय भएको मैत्रिपूर्ण फुटबल पनि रद्द भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.