|

मस्को : रूसको राजधानी मस्कोको कन्सर्ट हलमा भएको आक्रमणमा रूसी सुरक्षानिकायले अमेरिका संलग्न भएको दावी गरेको छ। उक्त आक्रमणमा कम्तीमा १३३ जनाको मृत्यु भएको छ। 

शनिबार दिउँसो रूसी सुरक्षा एजेन्सीहरूले आक्रमणमा प्रत्यक्ष संलग्न चार आतंककारीलाई पक्राउ गरेका छन्। साथै थप ७ जनालाई पक्राउ गरिएको रूसले जानकारी दिएको छ। रूसको मुख्य सुरक्षा एजेन्सी फेडरल सेक्युरिटी सर्भिस (एफएसबी)ले आक्रमण गरेपछि आतंककारीहरू रेनल्ट कारमा रूस-युक्रेन सीमातर्फ भागेको बताएको छ। पछि सबैलाई मस्कोबाट करिब ४०० किलोमिटर टाढा रहेको ब्रान्स्क क्षेत्रबाट पक्राउ गरिएको थियो।

सीआइएको सम्बन्ध
सन्डे गार्डियनको रिपोर्टअनुसार गोली हान्नेहरू ताजिकिस्तानका थिए र उनीहरूलाई सलमान खोरासानी नामक ताजिक नागरिकले भर्ती गरेको बताइएको छ। खोरासनी हाल अफगानिस्तान-पाकिस्तान क्षेत्रमा बसोवास गर्दै आएका छन्।

खोरासनीले आईएसआईएस-के र अमेरिकी गुप्तचर एजेन्सी सीआइएबीच मध्यस्थको काम गर्ने दावी गरिएको छ।

अमेरिकाको विल्सन सेन्टरको दक्षिण एशिया इन्स्टिच्यूटका निर्देशक माइकल कुगेलम्यानले भने रूसी विदेश नीति आईएसआईएसका लागि ठूलो खतरा भएको विश्वास गर्छन्। रूस सिरियामा राष्ट्रपति बसर अल-असदको पक्षमा आईएसआईएस लडाकुविरुद्ध लडिरहेको छ। यस्तो अवस्थामा आईएसआईएसले रूसलाई आफ्नो शत्रु मान्ने गरेको छ। आईएसआईएसले रूस मुस्लिमहरूको शत्रु भएको आरोप लगाउँदै आएको छ।

कुगेलम्यानले अल जजीरालाई भने, ‘आईएसआईएस रूसविरोधी हुनुको मुख्य कारण अफगानिस्तानमा सोभियत आक्रमण, चेचेन्यामा रूसी कारबाही, सिरिया र इरानसँग रूसको घनिष्ट सम्बन्ध र विशेष गरी रूसले सिरियामा आईएसआईएसका लडाकुविरुद्ध गरेको सैन्य अभियान हो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.