|

काठमाडौँ : सरकारले काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी गरेको छ।

सोमवार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा २४ सै घण्टा व्यापार व्यवसायी सञ्चालनसम्बन्धी समन्वय बैठकमा सम्बन्धित सबै निकायहरु र व्यवसायीहरुसँग काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले छलफल गरेका हुन्।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ घण्टा खुलाउन निर्देशन दिएसँगै जिल्ला प्रशासन काठमाडौँले यसको तयारी थालेको छ। 

ठमेल र दरबारमार्ग २४ सै घण्टा खुला राख्न जिल्ला सुरक्षा समितिले सुरक्षा योजना बनाइसकेको जनाएको छ। सोमवार सम्बन्धित निकाय र व्यवसायीहरुसँगको छलफलमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी बस्नेतले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४ सै घण्टा खुलाउने तयारी रहेको बताए। 

उनले ‘सुरक्षाको पूर्ण प्रत्याभूति दिने र बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप एकीकृत योजना बनाएर कार्यान्वयन गर्ने बताए। 

उनले व्यापार व्यवसाय सञ्चालनको लागि व्यवसायी र स्थानीय सम्मिलित बजार व्यवस्थापन समिति बनाउने वा भएका समितिलाई जिम्मेवारी दिइने बताए।

प्रजिअ बस्नेतले व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र राति मूल्य फरक बनाउन नपाउने बताए। उनले यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने बताए। 

उनले व्यवसायीहरुले आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुनेगरी ध्वनी प्रदुषण गर्न नपाउने पनि बताए।

‘सरकारले ठमेल र दरबारमार्ग क्षेत्र २४ सै घण्टा खुलाउने तयारीमा छौँ। व्यवसायीहरुले वस्तु तथा सेवामा दिउँसो र रातिको मूल्य फरक बनाउन पाइँदैन। यस्ता हरेक कुराहरुलाई व्यवसायीहरुले ख्याल गरेर जानुपर्ने हुन्छ‚’ उनले भने, ‘सुरक्षाको हिसाबमा पहिलो जिम्मेवारी व्यवसाय सञ्चालकको हुनेछ। आन्तरिक सुरक्षा प्रणाली व्यवसायी आफैँले गर्नुपर्छ।’

उनले २४ सै घण्टा बजार खुला गरेपछि ग्राहक सेवाग्राही वृद्धि हुने बताए। साथै अहिलेको भन्दा आपराधिक क्रियाकलाप बढ्नसक्ने अनुमानका आधारमा सोहीअनुसारको सुरक्षा प्रणाली विकास गरिने बताए।

‘दुवै क्षेत्रमा व्यवसाय व्यवस्थापन समिति बनाउने छौँ। अहिले भइरहेका समितिले व्यवस्थापन गर्नसक्छ भने त्यसैलाई निरन्तरता दिन्छौँ। अन्य सुरक्षाको लागि नेपाल प्रहरी र महानगर प्रहरीले हेरिरहेको छ‚’ उनले भने, ‘सबै २४ सै घण्टा खुला गरेपछि ग्राहक सेवाग्राही बढ्छन्। अपराध पनि बढ्छ भन्ने अनुमान गरिरहेका छौँ। सुरक्षाका लागि त्यहीअनुसारको एकीकृत सुरक्षा योजना बनाउँछौँ।’

बैठकपछि ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले लामो समयदेखि ठमेलमा २४सै घण्टा व्यापार व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै आएको बताए। 

उनले उक्त माग सुरक्षा परिषद् र जिल्ला प्रशासन कार्यालयले परिमार्जन गरी ठमेल र दरबार मार्गलाई सुरक्षित र व्यवस्थित रुपमा कसरी सञ्चालन गर्ने विषयमा छलफल भएको बताए।

उनले व्यवसायी र अन्य क्षेत्रले दिएका सुझावहरुको आधारमा आगामी ३ दिनभित्र टुङ्गो लगाउने विषयमा पनि छलफल भएको बताए। उनले अबको एक हप्ताभित्र पूर्णता पाउने विश्वास रहेको बताए।

दरबारमार्ग विकास बोर्डका कोषाध्यक्ष सञ्जय अधिकारीले दरबार मार्गलाई २४ घण्टा खुला गर्न हरेक हिसाबले उपयुक्त रहेको बताए।

उनले ७० मिटरको क्षेत्रफलमा सबै संरचनाहरु तयारी अवस्थामा रहेकाले सरकारले तत्काल २४सै घण्टा खुला गर्दा कुनै समस्या नपर्ने बताए।

उनले दरबार मार्गलाई २४ सै घण्टा खुला गरी नाइट वाक क्षेत्र बनाउन आवश्यक रहेको पनि बताए। उनले सरकारले दरबार मार्गलाई २४सै घण्टा खुला गर्नु स्वागतयोग्य रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.