|

सुखेत : १२ वर्षपछि उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका –३  शे गुम्बामा सञ्चालन हुने मेलाको नाम बाह्र वर्षे शेली डुग्ड्रा नामकरण गरिएको छ।

उक्त मेला २०८१ भाद्र १६ देखि १९ गतेसम्म ४ दिन सम्म सञ्चालन हुने भएको छ।  ६७ औँ बाह्र वर्षे शेल्री डुग्ड्रा मेलामा प्रधानमन्त्रीलाई सहभागी गराउने आयोजकको भनाइ छ।

शेली रिवो डुग्ड्रा शे मेलालाई भोट बर्मेली बौद्ध पात्रोअनुसार १२ वर्षमा एकपटक लाग्ने डोल्पाको सबैभन्दा ठूलो र महत्वपूर्ण मेलाको रुपमा लिने गरिन्छ। यो मेलामा शेली रिवो डुग्ड्रा पर्वत क्रष्टल माउण्टेनको परिक्रमा गर्ने अर्थात कोरा घुम्ने गरिन्छ।

बौद्ध धर्मालम्बी अर्थात तिब्तियन पात्रोअनुसार ड्रायगन बर्षमा कोरा घुम्ने वा पर्वत परिक्रमा गर्ने गरिन्छ। यही वर्षलाई विशेष मानेर डोल्पो समुदायले पवित्र वर्ष मानेर मेला मनाउने गरेका छन्।

यसभन्दा अघि ६६औँ १२ वर्षे मेला २०१२ मा मनाइएको थियो। “दर्शन शेली रिवो डुग्ड्राको, विश्वास शान्तिको ” भने मूल मन्त्रका साथ ६७ औँ १२ वर्षे मेला २०८१ भाद्र १६ देखी १९ सम्म मेला सुरु हुन लागेको हो।

मेलाले डोल्पा जिल्लाको धार्मिक तथा सांस्कृतिक विविधताको पहिचान सम्मान र संरक्षणमा सहअस्तित्व हुने बताइएको छ। पुरातात्वीक र सांस्कृतिक सम्पदाको अन्तराष्ट्रियस्तरमा प्रचारप्रशार हुनेछ भने पर्यटनको विकाससँगै डोल्पालई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका रहने विश्वास गरिएको छ।

यो बाह्र बर्षे मेलामा धार्मिक तथा पर्यटकिय गन्तब्यहरुको प्रत्यक्ष अवलोकन गर्न पाइनेछ। फोक्सुण्डो ताल,चारताल,फोक्सुण्डो झरना,रिवो वुम्पा गुम्बा,शेल गुम्बा,चाखाङ गुम्बा,शे साम्लिङ गुम्बा,नाम्दो फोला पुजा,थासुङ छोलुङ गुम्बा,याङ्जेर गुम्बा,रापमार नाम्सुम लगायत बिभिन्न प्राचिन गुम्बा मुर्तिहरु,स्तुपाहरु,घङ चेन्रल्वा,घङ नर्बु,घङ ताइका,शे ला,छोया ला,काङ्ग ला,जस्ता सुन्दर हिमाल पनि अवलोकन गर्न पाइनेछ।

मेलाले डोल्पोको प्राकृतिक,धार्मिक र सांस्कृतिक सौन्दर्यताको विश्वसामु नौलो पहिचान गरि पर्यटन विकास र प्रबर्द्धनमा महत्वपुर्ण सहयोग पुर्याउने छ।

१८ गते विभिन्न धर्मगुरुहरुको धार्मिक प्रवचन जीवनउपयोगी प्रशिक्षण स्वास्थ्य शिविर घोडादौड तीरंदाजी हुनेछ भने मेलाको अन्तिम दिन १९ गते धर्मगुरुबाट जीवन शक्तिकरण अभिषेक पुजा समापन हुने बाह्र बर्षे मेला प्रचारप्रशार उप समितिका संयोजक पेमावाङछेन गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.