|

इलाम : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले इलाम २ मा एमालेका उम्मेदवार निर्वाचित हुने दावी गरेका छन्।

उनले चुनाव जित्न अन्य दलभन्दा एमालेलाई सहज भएको बताए। इलाम सदरमुकाममा पार्टी नेता कार्यकर्तासँगको भेटमा ज्ञवालीले भने‚ ‘निर्वाचन जित्न एमालेलाई धेरै कुराले सहज छ’, उनले भने, ‘राष्ट्रिय राजनीतिमा एमालेको भूमिका, जनाधार र उम्मेदवारकै कारण हामी योपटक पनि इलाम २ मा चुनाव जित्छौँ।’

ज्ञवालीले एमाले उम्मेदवारलाई सत्ता गठबन्धन दलको साझा उम्मेदवार बनाउनेबारे छलफल भइरहेको उल्लेख गरे। देशभक्तिपूर्ण कार्य सारा नेपालीलाई थाहा भएको भन्दै ज्ञवालीले पार्टीको लोकतन्त्रप्रतिको निष्ठा र स्वाधीनताको लडाइँमा एमाले नेतृत्वको सरकारको भूमिका पनि पार्टीका लागि बलियो आधार भएको बताए।

‘अहिले पार्टीको आन्तरिक एकता बलियो छ। एमालेमाथिको चौतर्फी घेराबन्दीसमेत तोडेर हामी जनताको सेवामा खटिएका छौँ’‚ उनले भने, ‘इलाम क्षेत्र २ मा दिवंगत नेता सुवासचन्द्र नेम्बाङले देख्नुभएको सपना पूरा गर्ने जिम्मा पनि हाम्रै भएकाले मतदाताले योपटक एमालेलाई जिताउनुहुनेछ।’

ज्ञवालीले एमाले अहिले कुनै स्वार्थबिना सरकारमा सहभागी भएको बताए।

‘यसअघिको गठबन्धनबाट सरकारले नागरिकका अपेक्षा र आवश्यकता पूरा गर्न नसक्ने देखिएपछि गठबन्धन परिवर्तन भएको छ’, उनले भने, ‘यसमा हाम्रो पार्टीको कुनै स्वार्थ छैन, देशमा फैलिन लागेको निरासा अन्त्य गर्नु, आर्थिक सूचक आशलाग्दो बनाउनु र परराष्ट्र सम्बन्ध सुधार्न एमाले सरकारमा सहभागी भएको छ।’

एमाले नेता सुवासचन्द्र नेम्बाङको गत भदौ १६ मा निधन भएपछि इलाम २ को प्रतिनिधिसभा निर्वाचन क्षेत्र रिक्त छ। वैशाख १५ मा यहाँ उपनिर्वाचन हुँदै छ। एमालेले सुवासचन्द्रका पुत्र सुहाङ नेम्बाङलाई उम्मेदवार बनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.