|

काठमाडौँ : एसएमएस फ्रेन्डसिप कपमा आज नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेटले पराजित गरेको छ।

भारत गुजरातको वापीमा भएको खेलमा जितका लागि ९९ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा २ विकेटमात्र गुमाएर भेट्टायो।

नेपालका लागि कप्तान रोहित पौडेलले विजयी चौका प्रहार गर्दै नेपाललाई जित दिलाए। उनले अविजित ३३ रन बनाए भने अनिल शाहले अविजित रहँदै ३२ रन बनाए।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेल १७ रन बनाएर आउट भएपछि अनिल शाह मैदानमा आएका थिए। नेपालको पहिलो विकेटका रुपमा भुर्तेल आउट हुँदा कुल स्कोर ५ ओभरमा २८ रन थियो। २ छक्का प्रहार गरेका उनले तेजस पटेलको बललाई छक्का प्रहार गर्ने प्रयास गर्दा उनी क्याच आउट भए।

यसलगत्तै छैटौँ ओभरमा अर्का ओपनर आसिफ शेख पनि कुल १६ रन बनाएर बोल्ड भए। हेमांग पटेलको बलले उनको ब्याटको भित्री किनारा छुँदै स्टम्पको बेल्ज खसालेको थियो।

शेख आउट भएपछि कप्तान रोहित क्रिजमा उत्रिएका थिए।

गुजरातका लागि हेमांग पटेल र तेजस पटेलले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले फिल्डिङ रोजेका पाहुना कप्तान रोहित पौडेलको निर्णयलाई सही सावित गर्दै नेपाली बलरहरुले राम्रो प्रदर्शन गरेपछि गुजरात ९८ रनमै अल आउट भयो।

गुजरातका लागि ओपनर रुद्र पटेलले सर्वाधिक २३ रन बनाए। गुजरातका लागि हेमांग पटेलले २० रन‚ सरल प्रजापतिले १७ रन‚ अभिषेक देसाईले ११ रन र स्मित पटेलले १० रन बनाए।

कुल स्कोर १९ रनमा गुजरातको पहिलो विकेट खसेको थियो। त्यसपछि नियमित अन्तरालमा विकेट खस्दा गुजरातले गतिलो योगफल तयार पार्न सकेन।

नेपालका लागि सर्वाधिक ४ विकेट गुलशन झाले लिए। करण केसीले १ ओभर मेडन राख्दै ३ विकेट लिए भने सोमपाल कामीको नाममा एक विकेट रह्यो। अभिनाश बोहरा र दिपेन्द्रसिंह ऐरीले कुनै विकेट लिन सकेनन्।

भोलि गुजरात र बडौदाबीच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.