|

दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खननका लागि आवश्यक केही उपकरण आइतबार आयोजना स्थल पुगेका छन्। आइतबार ‘ड्रिलिङ’ सामग्री बोकेका पाँच ट्रक आयोजना स्थल पुगेका हुन्।

पेट्रोलियम पदार्थ उत्खननका लागि रुपैडिहा नाकाबाट हिँडेका पाँचवटा ट्रक आयोजनास्थल पुगेका पेट्रोलियम अन्वेषण प्रवर्धन परियोजनाका आयोजना प्रमुख दिनेशकुमार नापितले बताए।

भन्सारमा सामान्य समस्याका कारण ‘ड्रिलिङ’ सामग्री बोकेका ट्रक केही दिनअघिसम्म नाकामा रोकिएका थिए। ‘ड्रिलिङ’ सामग्री चिनियाँ प्राविधिक टोलीलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख नापितले बताए। बाटो साँघुरो भएका कारण ‘ड्रिलिङ’ सामग्री बोकेका ट्रक दैलेखसम्म आइपुग्न केही समस्या भएको थियो

सामग्री हस्तान्तरण गर्दै आयोजना प्रमुख नापितले पेट्रोलियम पदार्थ उत्खननको अन्तिम नतिजा दिन आफू आतुर रहेको बताए। पेट्रोलियम पदार्थ उत्खननका लागि करिब ४.५ किलोमिटर गहिराइमा ‘ड्रिलिङ’को काम गरिने बताइएको छ।

‘ड्रिलिङ’ स्थलको थप सुरक्षाका लागि सशस्त्र प्रहरी खटाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए। आयोजनाको कामका लागि प्रशासनबाट सुरक्षाको कुनै कसरत बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी भुसालको भनाइ छ।

दैलेखमा पेट्रोलियम पदार्थ उत्खननअन्तर्गत अन्तिम ‘ड्रिलिङ’ का लागि अन्य उपकरण आउने क्रम जारी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.