सुर्खेत : जनक शिक्षा सामग्री केन्द्र कर्णाली प्रदेश कार्यालयमा कर्णालीका सबै जिल्लामा पुग्ने पाठ्यपुस्तक आए पनि जिल्लामा अझै पुग्न सकेको छैन। प्रदेश कार्यालयमा आएर पाठ्यपुस्तक विक्रेताहरुले पुस्तक नलगेका कारण जिल्लामा पुग्न नसकेको हो।
केन्द्रको तालिकाबमोजिम चैत ९ गतेदेखि पुस्तक वितरण शुरु गरिएको प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताए। यो आर्थिक वर्षको लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रमुख पन्तले बताए।
जनक शिक्षाले जिल्लाअनुसार पालो तोकेर पुस्तक वितरण गर्ने कार्य योजना बनाए पनि उक्त कार्य योजनाभित्र किताब ढुवानी हुन सकेको छैन।
कार्य योजनाअनुसार चैत ९ गतेदेखि १४ गतेसम्म हुम्ला र डोल्पा, चैत १५ गतेदेखि १६ गतेसम्म मुगु, १७ गतेदेखि १८ गतेसम्म जुम्ला, १९ गतेदेखि २० गतेसम्म कालीकोट, २१ गतेदेखि २२ गतेसम्म जाजरकोट, २३ गतेदेखि २४ गतेसम्म दैलेख र २५, २६, २७ गते ३ दिन सुर्खेतमा पुस्तक वितरण गरिने उल्लेख छ।
विक्रेताहरु पाठयपुस्तक लिन नआएपछि तोकिएको तालिकाअनुसार जिल्ला–जिल्लाका पुस्तक ढुवानी हुन सकेको छैन। केही छिटफुट मात्रामा गएपछि भोरी मात्रामा पाठ्यपुस्तक ढुवानी हुन बाँकी रहेको छ।
नयाँ शैक्षिक शत्र शुरु हुनुअगावै मागअनुसारका पुस्तक गोदाममा ल्याइसकेकाले यो वर्ष पाठ्यपुस्तक अभाव नहुने कार्यालयको भनाई छ। कर्णालीका सबै बालबालिकालाई पुग्ने गरी पुस्तक ल्याएको कार्यालय प्रमुख पन्तले जानकारी दिए।
उनका अनुसार मागबमोजिम यो वर्ष १० लाख थान पाठ्यपुस्तक गोदाम आइपुगेको छ। भर्नासँगै विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउने भनिए पनि हालसम्म सबै पाठ्यपुस्तक विक्रेताहरु केन्द्रमा पाठ्यपुस्तक लिन नआएको पन्तले बताए।
जनक शिक्षा सामग्री केन्द्रले जिल्ला–जिल्लाका लागि पुस्तक वितरण तालिकासमेत सार्वजनिक गरेको भए पनि सोअनुसार पुस्तक वितरण हुन नसक्दा समस्या भएको हो। दुर्गम तथा हिमाली जिल्लालाई प्राथमिकतामा राखेर तालिका बनाइएको भए पनि फेल भएको छ।
जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतबाट हुम्लाका दुई वटामात्र स्थानीय तहले पुस्तक लिएका छन्। दुई पालिकामा गरी ६ सय सेट पुस्तकमात्र हुम्ला जिल्लामा पुगेको छ।
अहिलेसम्म मुगुमा पुस्तक गएको छैन। हालसम्म दैलेखमा ३ पुस्तक विक्रेतामार्फत् २ हजार ३ सय सेट, सुर्खेतमा २ पुस्तक विक्रेतामार्फत् १ हजार १ सय सेट, कालीकोटमा १ हजार सेट, जुम्लामा ५ सय सेट, जाजरकोटमा २ पुस्तक विक्रेतामार्फत् ६ सय सेट पुस्तकमात्र पुगेको छ।
अहिलेसम्म करिब ६ हजार २ सय सेट पाठ्यपुस्तकमात्र जिल्लामा पुगेको छ। गोदाममा पर्याप्त किताब भए पनि विक्रेता किताब लिन नआएको कार्यालय प्रमुख पन्त बताउँछन्।
सरकारले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउँछ। अहिलेसम्म जनक शिक्षाले पुस्तक छाप्ने र व्यवसायीमार्फत् विद्यालय–विद्यालयमा पुर्याउने गरिएको छ।
ढुवानी व्यवसायी‚ पुस्तक विक्रेता र विद्यालयबीचको आर्थिक समस्याले गर्दा विद्यार्थीले समयमा पुस्तक पाउन ठूलो संघर्ष गर्नुपर्छ।
डोल्पाका शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दलबहादुर बस्नेतले झन्झटिलो प्रक्रियाका कारण पाठ्यपुस्तक बालबालिकाको हातहातमा पुग्न ढिलाइ हुने गरेको बताए।
डोल्पाका ४ वटा स्थानीय तहले फागुनदेखि नै नयाँ शैक्षिक शत्र आरम्भ गरेको भन्दै उनले जिल्लामा फरक–फरक समयमा शैक्षिक शत्र शुरु हुने गरेको बताए।
शिक्षा विकास तथा समन्वय इकाई मुगुका प्रमुख सुर्यबहादुर खत्रीले स्थानीय निकायले किताबका लागि रकम निकासामा ढिलाइ गर्दा विक्रेताले किताब समयमा नै नल्याउने गरेको बताए। जनक शिक्षाको प्रदेश कार्यालयमा रकम जम्मा गरेपछि मात्र पाठ्यपुस्तक पठाउने गरिएको छ।
विक्रेताहरुले भने स्थानीय तहले रकम नदिएका कारण आफूहरुले नयाँ किताब ढुवानी गर्न समस्या भएको बताएका छन्। अहिलेसम्म प्रदेशको गोदामबाट २० प्रतिशत पाठ्यपुस्तक मुश्किलले जिल्लामा पुगेको पाइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।