|

बागमती : कृषि उत्पादकत्व बढाउने उद्देश्यले मकवानपुरका विभिन्न भागमा सञ्चालित १०१ साना सिँचाइ योजना पूरा भएका छन्। 

बागमती प्रदेशको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले चालु आर्थिक वर्षमा १९१ वटा योजना पूरा गर्ने लक्ष्य रहेकामा गत फागुनसम्ममा १०१ योजना सम्पन्न भएको छ। 

ती योजनामा १७ करोड ८९ लाख ४७ हजार ६७५ खर्च भएको बताइएको छ। १९१ योजनाका लागि ३८ करोड ९८ हजार रुपैयाँ विनियोजित रकममध्ये सम्पन्न भएका योजनामा १७ करोड ८९ लाख ४७ हजार ६५७ खर्च भएको छ।
 
सम्पन्न योजनाअन्तर्गत नदी नियन्त्रणतर्फ चारवटा, सिँचाइसम्बन्धी ८० वटा, मझौला सिँचाइ योजना एक तथा अन्य १५ वटा योजना सम्पन्न भएका छन्।

योजनाअन्तर्गत चालु आवको हालसम्म पाँच हजार मिटर कुलो, सातवटा कल्भर्ट, दुईवटा पक्की सिँचाइ मुहान, तीनवटा सिँचाइ पुल निर्माण, १२४ मि जाली निर्माण, तीन हजार १७६ जाली बाँध निर्माण, दुई हजार ३८० मिटर बाँध निर्माण, ६ हजार ४५० मिटर लामो पाइपबाट सिँचाइ कुलो निर्माण भएको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका प्रमुख निर्मल दाहालले जानकारी दिए। 

पुरानो नहरको संरचना मर्मतबाट ५०० हेक्टर जमिन तथा थप नयाँ सिँचाइ योजनाबाट २०० हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको तथा अन्य संरचनाको मर्मत र निर्माण भइरहेको छ। 

मकवानपुर जिल्लामा हालसम्म ६२ हजार १७ हेक्टर खेतीयोग्य जमिन भए पनि २० हजार हेक्टरमा मात्र  सिँचाइ सुविधा पुगेको छ। चालु आवको अन्तिमसम्ममा पुराना तथा नयाँ सिँचाइ योजना सम्पन्न भएमा एक हजार ५० हेक्टर थप जमिन सिञ्चित हुने कार्यालयले जनाएको छ। 

प्रदेशको जलस्रोत तथा सिँचाइ विकास मन्त्रालयले दुई वर्षअघि प्रदेशका १३ जिल्लामा खेतीयोग्य जमिन तथा त्यहाँ उपलब्ध सिँचाइ सुविधाबारे सर्भे गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.