|

बागलुङ : तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटकपटक अवरुद्ध हुँदै आएको छ। पहिरो रोकथामा लागि १८ करोड रुपैयाँको आयोजना निर्माणको खाका बनाइए पनि बजेट नहुँदा समस्या भएको छ। 
 

हिउँद होस् वा बर्खा पहिरोका कारण पटकपटक अवरुद्ध मात्रै हैन सडकको १०० मिटर ट्र्याक नै बगाएपछि  पहिरो नियन्त्रण ठूलो समस्या बनेको छ। तीन वर्षअघिको असारमा पहाड नै खसेर सडक बगाएपछि जिल्लाका दक्षिणी भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल समस्यामा परेको छ।

वैकल्पिक ट्र्याक पनि खोल्न नसक्दा सडक सञ्जालमा दक्षिण भेग टुट्दै आएपछि गण्डकी प्रदेश सरकारको पहलमा दुई पटकसम्म पहिरो समाधानका लागि अध्ययन भएको छ। पहिरो नियन्त्रणका लागि दुई पटक अध्ययन गरेर विस्तृत परियोजना प्रतिवेदन ‘डीपीआर’ तयार  गरे पनि हालसम्म  कुनै काम भएको छैन बरु पहिरोको अध्ययनमा मात्रै ५७ लाख खर्च भएको पाइएको छ। 

पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेशकुमार घिमिरेले पहिरो रोकथाममा  १७ करोड ९९ लाख खर्च लाग्ने अन्तिम प्रतिवेदनमा उल्लेख भए पनि चालु आर्थिक वर्षमा ५० लाख बजेट आउँदा काम गर्न नसकेको बताए। ‘पहिरो बर्सेनी  बढिरहेको छ, कुश्मिसेरा जाने सडकको दुई वटा घुम्ती र कालीगण्डकी करिडोरसमेत तीन ठाउँमा बगाएको छ, जोखिम मोलेर पहिरो खसेको स्थानबाटै सवारी साधन सञ्चालन भएका छन्। नदीमा पुल नबने त्यही सडकको विकल्प छैन’, शर्माले भने, ‘गण्डकी प्रदेश सरकारले विज्ञको समूह बनाएर दुई पटकसम्म पहिरो रोकथामको लागि अध्ययन गरेको थियो, पहिलो अध्ययनले पहिरो समाधानमा सात करोड लाग्ने प्रतिवेदन तयार गरे पनि पहिरोको एक्सरे गरेपछि विज्ञले लागत बढाएर १७ करोड ९९ लाख खर्च हुने पुर्‍याएका थिए। त्यसलाई गण्डकी प्रदेशको नीति तथा योजना कार्यालयले पारित गरिसकेको छ।’

पहिरोको समस्या समाधानका लागि पूर्वाधार कार्यालयमा चालु आर्थिक वर्षमा ५० लाख र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमा रु १० लाख बजेट आए पनि पहिरो नियन्त्रणसम्बन्धी  काम भएको छैन। पर्याप्त बजेट प्राप्त नहुँदा काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख घिमिरेले बताउनुभयो। उहाँले पहिरोको माथि नाली निर्माण गर्न तत्काल चार करोड आवश्यक पर्ने भन्दै  ५० लाखमा काम गर्न नसकिने बताउँदै बागलुङ नगरपालिकामा उक्त बजेट पठाउन समन्वय गरिरहेको जानकारी दिए। 

तत्काल अस्थायी र भविष्यमा दीर्घकालीन सामाधानका लागि काम गर्नुपर्ने भए पनि पहिरो अध्ययनमै सीमित हुँदा जनता मारमा परेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताए। ‘पहिरोको दीर्घकालीन समाधान खोज्दै गरौँला, तर पहिरो गएको तीन वर्षसम्म नगरपालिकाको डोजरले पहिरो पन्छाउने बाहेक अन्य काम भएको छैन’, थापाले भने, ‘अहिले विनियोजन भएको पूर्वाधारको ५० लाख, सिँचाइको रु १० लाख र नगरपालिकाको उपकरणले पहिरो रोकथामका लागि केही प्रयास गर्न सकिन्छ भन्ने लाग्छ।’

बागलुङ नगरपालिका–१० गलुवास्थित दब्ल्याङमा पहिरोले गण्डकी प्रदेशसभा मात्र होइन संघीय संसbdf पनि उठेको विषय हो। सडकको विकल्पमा कालीगण्डकीमाथि बेलिब्रिज निर्माण गर्न सकिने भए पनि तत्कालका लागि त्यो असम्भव भएको छ। कालीगण्डकी कोरिडोर र करिडोरको वैकल्पिक सडकका रुपमा रहेको बागलुङ–कुश्मिसेरा सडकखण्डमा माथिबाट खस्ने पहिरोले दुवै सडक र त्यस क्षेत्रको बस्तीलाई क्षति पु¥याउँदै आएको छ। 

अठार करोडको डीपीआर बनेको परियोजनालाई ६० लाख बजेट प्रदेशले पठाउँदा समस्या भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। ‘हामीलाई करोडौँ चाहिन्छ, स्थानीय सरकारले आफ्नो ढङ्गले पहिरोमा जाली भर्ने, डोजरले सडक सञ्चालन गर्दै आएका छौँ’, उपप्रमुख खड्काले भने, ‘अध्ययन गर्न नै तीन वर्ष लाग्यो १८ करोडको लागतमा समस्या समाधान गर्न सकिने भनियो तर ६० लाख आएपछि समस्याको दीर्घकालीन समाधान गर्न वर्षौँ लाग्ने देखियो, नगरपालिकाले अस्थायी नाली निर्माण गरेर क्षति कम गराउने गरी भल तर्काउने नाली निर्माणमा जुटेको छ।’

पहिरोको दीर्घकालीन समाधान नहुँदा नगरपालिकाको लाखौँ रकम नोक्सान भइरहेको बताउँदै उपप्रमुख खड्काले बर्खामा नगरपालिकाको डोजर गलुवामै राख्नुपर्ने अवस्था रहेको बताए। उनले प्रदेश र संघीय सरकारको सहयोग आवश्यक रहेको बताए।  पहिरो नियन्त्रण र निर्माणका लागि ‘एक्सप्लोरर जियोलोजिकल कन्सल्टेन्सी’ले अध्ययन गरेर पाँच करोड लागतमा सडक पुनर्निर्माण गर्न सुझाव दिएको थियो। पुनः प्रदेश सरकारबाट गरिएको अध्ययनमा १७ करोड ९९ लाख खर्च लाग्ने गरी उक्त डीपीआर पास भए पनि काम अगाडि बढ्न नसक्दा समस्या भएको हो। 

७५० मिटर लामो र १५० मिटर चौडा पहिरोले सयौँ रोपनी जमिन बगिसकेको छ भने १२ वटा घर जोखिममा परेका छन्। सडक मर्मतका लागि हालसम्म दुई  ठूला अध्ययन भए भए पनि त्यो अध्ययनमा मात्र समिति रहेको स्थानीय रामबहादुर भण्डारीले टिप्पणी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.