|

विराटनगर : उपनिर्वाचनको मिति तय भएसँगै यतिवेला इलाम निर्वाचन क्षेत्र–२ मा चुनावी माहोल तात्दै गएको छ।

प्रतिनिधिसभा सदस्य रहेका नेकपा एमालेका तत्कालीन उपाध्यक्ष  तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि गत भदौ २६ गतेदेखि इलाम २ रिक्त छ।

वैशाख १५ गते उपनिर्वाचन तोकिएसँगै यतिवेला सबैको ध्यान इलाम–२ तर्फ मोडिएको छ। यो क्षेत्रमा सबैको ध्यान मोडिनुको कारण पहिचानको आन्दोलन र नेम्वाङको विरासत हो।

स्व. सुवास नेम्वाङको निर्वाचन क्षेत्र रहेको यहाँ नेम्वाङले यो क्षेत्रबाट निर्वाचनमा हार बेहोरेको कुनै पनि रेकर्ड छैन।

नेम्वाङले थामेको एमाले विरासत जोगाउन एमालेले उनका कान्छा छोरा सुहाङ नेम्वाङलाई चुनावी मैदानमा उतारेको छ। तर नेम्वाङलाई बुवाको र पार्टीको विरासत थाम्न त्यति सहज भने देखिँदैन।

पछिल्लो समय तत्कालिन प्रदेश १ ले कोशी नाम पाएसँगै पहिचानको आधारमा नामकरणको माग राख्दै सडक आन्दोलनमा उत्रिएको पुनः नामकरण संघर्ष समितिका साझा उम्मेदवार डकेन्द्रसिंह थेगिम पनि चुनावी मैदानमा उत्रिएका छन्। 

लामो समय पत्रकारिता पेसामा अवद्ध रहेका  नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज)का महासचिव रहेका राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार मिलन लिम्बू एमाले विरासत भत्काउन र पहिचानको सम्बोधनसहित  चुनावी प्रचारप्रसारमा सक्रिय देखिएका छन्।

त्यसो त जसले  किराँत धर्मगुरु आत्मनन्द लिङ्देनको आर्शिवाद प्राप्त गर्छ उसैले निर्वाचन जित्छ भन्ने भनाई पनि छ। हुन पनि सुवास नेम्वाङ उम्मेदवार मनोनयन दर्तापछि किरात धर्मगुरु लिङदेनलाई दर्शन–भेट गर्न लारुम्बा (माङ्सेबुङ) पुगेकै हुन्थे। 

पवित्र धार्मिकस्थल  लारुम्बा तीन पटक नेम्वाङले  जितेको क्षेत्र हो। धर्मगुरु भेट्न नेम्वाङमात्रै होइन, सो क्षेत्रबाट निर्वाचन लड्न तयार रहेका अन्य उम्मेदवारहरु पनि पुग्ने गर्छन। तर ‘सेन्टिमेन्ट’ सँग जोडिएको कारण पनि गुरुको आशिर्वाद नेम्वाङले मात्रै प्राप्त गर्ने गरेको भनाईहरु पनि छन्।

अहिले सो क्षेत्रमा उम्मेदवार बनेर निर्वाचनको मैदानमा उत्रिएका तीनजना लिम्बू ‘हाइलाइट’मा छन्।

त्योसँगै पहिचानको आन्दोलनसँग जोडिएको विषय भएकाले पनि अब गुरुको आशिर्वाद कसलाई भन्ने बहसको विषय बनेको छ। अहिले पनि उम्मेदवारहरु गुरुसँग दर्शन भेट गर्न पुगेकै छन्। आशिर्वाद लिनेको होडबाजी नै चलेको छ।

यद्यपि धर्मगुरुको आशिर्वादले हार नबेहोरेका सुवास नेम्वाङका छोरा अर्थात एमाले अध्यक्ष केपी शर्मा ओलीको दर्बिलो साथ पाएका सुहाङले धरानका स्वतन्त्र मेयर हर्क साम्पाङको साथ पाएका पहिचानको मुद्दा बोक्ने डकेन्द्रसिंह थेगिम र  स्वतन्त्र पार्टीका अध्यक्ष एवम् गृहमन्त्री  रवि लामिछानेको साथ पाएका मिलन लिम्बूको सामना गर्नुपर्ने हुन्छ। 

त्यसो त उनकै बुवाका अघिल्लो निर्वाचनको प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बर खड्का पनि त्यति कमजोर उम्मेदवार भने होइनन्। बुवासँगको प्रतिस्पर्धामा ११४ मतले मात्रै खड्काले हार बेहोरेका थिए।

सुहाङलाई बलियो उम्मेदवारका रुपमा लिइन्छ तर अरु उम्मेदवारलाई पनि कमजोर आँक्न मिल्दैन। बुवाको मृत्युसँगै छोरालाई पार्टीले दिएको टिकटप्रति त्यहाँका एमालेमा लामो योगदान गरेका नेता कार्यकर्ता रुष्ट रहेको स्थानीयहरुको भनाई छ।

त्यही भएर पनि नेम्वाङलाई दिने मत लिम्बूद्वय डकेन्द्रसिंह र मिलनलाई बाँडिन सक्ने या तीनजनाको भोट काटिएर   कांग्रेसलाई जान सक्ने आँकलन पनि गरिँदै छ।

पहिचानको मुद्दासँग जोडिएको विषय भएकाले लारुम्बाका मतदाताले अब सोच्ने समय आएको पहिचान पक्षधरहरुको बुझाई छ। 

संघीयताको विरोधमा खरो उत्रिएको रास्वपाको आडमा चुनावी मैदानमा उत्रिएका मिलनलाई पनि जित पाउन त्यति सहज नरहेको सोही क्षेत्रका संचारकर्मीहरु बताउँछन्। 

एमालेको लालकिल्ला रहेको सो क्षेत्रमा अघिल्लो निर्वाचनको समयभन्दा अहिलेको माहोल फरक रहेकाले पनि यसै  अन्दाज लगाउन नसकिने उनीहरुको भनाई छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.