दाङ : नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री शशांक कोइरालाले अहिलेको राजनीतिक अस्थिरताका कारण कुनै पनि सरकार धेरै दिन नचल्ने बताएका छन्। आइतवार नेपाल प्रेस युनियन दाङले लमहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सरकार धेरै दिन नचल्ने बताएका हुन्।
उनले भने, ‘यसले अस्थिरता निम्त्याएको छ। भोलि गएर अर्कै परिवर्तन हुने सम्भावना देखेको छु। त्यसमा कांग्रेस हुन्छ, हुँदैन, ती पछिका कुरा हुन्।’
उनले समृद्ध नेपालको खाका तयार पार्ने आफूहरुको उद्देश्य रहेको भन्दै राजनीतिक अस्थिरताका कारण त्यो सम्भावना पूरा नहुने नदेखेको समेत बताए।
अहिले राजनीतिक अन्योलको स्थिति रहेको भन्दै उनले जबसम्म अस्थिरता रहन्छ तबसम्म विकासका काम नहुनेसमेत बताए।
अहिले माओवादी र एमालेको सरकार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग के कारणले नाता तोडे अहिलेसम्म थाहा नभएको पनि उनले बताए।
उनले भने, ‘उहाँ किन रुष्ट हुनुभयो, खास कारण हामीलाई थाहा भएन। उहाँले दुई चारवटा कुराहरुको उदाहरण मात्र दिनुभयो।’
उनले कांग्रेसले कुनै पनि चुनावमा गठबन्धन नगर्नेसमेत बताए। उनले सरकार गठनमा कांग्रेस-एमाले सहकार्य हुन सक्ने र त्यसो भए राम्रो हुने, बलियो र स्थायित्व पनि हुने हुँदा विकासका काम हुने बताए।
उनले त्यसो हुने सम्भावना पनि आफूले देखेको र हुनसक्ने बताए। उनले धर्मबारे आफ्नो स्पष्ट धारणा रहेको भन्दै धर्म भनेको निरपेक्ष वा सापेक्ष नहुने र स्वतन्त्र हुने बताए।
कांग्रेसको झण्डाका चार तारामध्ये एउटा तारा धार्मिक स्वतन्त्रताको प्रतीक भएको भन्दै उनले धर्मलाई राजनीतिमा मिसाउन नहुने पनि बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।