|

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री बनेका छन् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेल। उनी प्रष्ट र खरो विचार राख्ने नेताका रूपमा परिचित छन्।

२०७४ को कर्णाली प्रदेशसभामा २० सिट पाई पहिलो दल बनेको थियो। एमाले र माओवादीले सत्ता गठबन्धन गरेका वेला कर्णाली माओवादी केन्द्रको भागमा पर्‍यो र माओवादीका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने।

६ वर्षको अवधिमा मुख्यमन्त्री बन्न ६ पटक प्रयास गरे पनि सफल भएका थिएनन्। पहिलो दल बन्दा मुख्यमन्त्री बन्न नपाएका कँडेल तेस्रो दल हुँदा आज मुख्यमन्त्री बन्न पाए।

साझेदार दल माओवादीलाई मिलाएर लैजानु तथा कर्णालीको असमानतासँग लड्नु कँडेलका लागि मुख्य चुनौती हुनेछन्। कर्णाली प्रदेश आर्थिक र सामाजिक रूपमा पछाडि छ भन्ने भाष्य चिर्नु अर्को चुनौती छ। रोग, भोक र गरिबीसँग लड्न कस्तो नीति अपनाउँछन् भन्ने विषयले कँडेलको क्षमता मापन हुनेछ।

यसका लागि चारतिर मुख फर्काएका दलहरूलाई सहमतिमा ल्याउन उनलाई चुनौती बन्नेछ।

पहिलेदेखि उठाउँदै आएका आर्थिक, राजनीतिक, सामाजिक न्यायसहितको सांस्कृतिक पहिचानका क्षेत्रमा कर्णालीमा केही गर्नुपर्ने बाध्यता एमालेमा छ।

एमालेले चाहेको समृद्ध कर्णालीको खाका कस्तो हुने भन्ने देखाउनुपर्ने दबाव कँडेलमाथि छ।

राजनीतिक पृष्ठभूमि
२५ कार्तिक २०१८ सालमा दैलेखको साविक सेरी गाविसमा बुवा मनिराम कँडेल र आमा भगीरथी कँडेलको कोखबाट जन्मिएका कँडेल राजनीतिमा आउनुपूर्व शिक्षक थिए।

२०३६ सालमा सुर्खेतको दशरथपुरमा किसान आन्दोलनको साक्षी थिए कँडेल। चारजनाले सहादत प्राप्त गरेको उक्त आन्दोलनमा सहभागी भएर कँडेलको राजनीतिक यात्रा शुरु भएको थियो। उनी त्यति वेला शिखर मावि दशरथपुरमा शिक्षक थिए।

उनी २०४० सालमा काठमाडौँस्थित शंकरदेव क्याम्पसमा अनेरास्ववियूका स्ववियू सभापतिका उम्मेदवार थिए। उनी २०४०-२०४६ सम्म पार्टीको काठमाडौँ उपत्यकाको विद्यार्थी राजनीतिमा संलग्न थिए। २०४२-४३ सालमा झण्डै ९ महिना कँडेलले बन्दी जीवन बिताएका थिए।

उनी २०४९ सालमा एमाले सुर्खेत जिल्लाका सचिव बने र सोही वर्ष वीरेन्द्रनगरको मेयर निर्वाचित भए। २०५१ सालमा मेयरबाट राजीनामा दिई मध्यावधि निर्वाचन लडेका उनी सांसद बने।

२०५१ सालमा एमालेको भेरी अञ्चल सचिव भएका कँडेल २०५४ सालमा नेकपा मालेमा आबद्ध भएका थिए। माले पार्टीमा आबद्ध भएलगत्तै गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कँडेल पर्यटन तथा नागरिक उड्डयनमन्त्री बने।

२०६४ मा उनी एमालेका तर्फबाट सुर्खेत २ बाट संविधानसभा सदस्य निर्वाचित भए। यस्तै २०७४ र २०७९ को प्रदेशसभा निर्वाचनमा सुर्खेत २ (क) बाट प्रत्यक्ष निर्वाचित भए।

कँडेल केन्द्रीय सदस्य, पोलिटब्युरो सदस्य हुँदै २०७८ मा पार्टीको दशौँ महाधिवेशनबाट पार्टीको स्थायी कमिटी सदस्य छन्। कँडेल व्यवस्थापन विषयमा स्नातकोत्तर हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.