|

चतरा : सुनसरीको चतरामा आज १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला शुरु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले महाकुम्भ मेलाको उद्घाटन गरे।

उनले कार्यक्रमलाई सम्बोधन गर्दै कुम्भ मेलाले सबै जातजाति र धर्मलाई एकै सूत्रमा बाँध्ने मात्र नभई धार्मिक पर्यटन विस्तारमा समेत टेवा पुग्ने बताए। उनले मेलाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने बताए। उनले मेलाले धार्मिक पर्यटकीय गन्तव्य विकासमा योगदान पुग्ने बताए।

राष्ट्रपति पौडेलले भने, ‘आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धन, विभिन्न जातजाति र धर्म, लिङ्ग र सम्प्रदायका व्यक्तिलाई एकै सूत्रमा बाँध्न सक्ने राष्ट्रियता, राष्ट्रिय एकता, स्वतन्त्रता, सार्वभौमिकताको संरक्षण, संवर्द्धन गर्न आयोजित कुम्भ मेला नेपालकै गौरव हो। गौरवपूर्ण यो अवसरलाई सदुपयोग गर्दै धार्मिक पर्यटकीय गन्तव्य विकासमा योगदान पुग्नेछ भन्ने मैले विश्वास लिएको छु।’

कार्यक्रममा राष्ट्रपति पौडेललाई बालसन्त मोहनशरण देवाचार्यले नागरिक अभिनन्दन गरेका थिए। पूर्ण महाकुम्भको समुद्घाटन पूर्वजगद्गुरु बालसन्त देवाचार्यसहित हिन्दु धर्मका गुरु तथा अगुवासहितको उपस्थितिमा पहिलो महास्नान गरिएको छ।

सुनसरीको चतरामा आज शुरु पूर्ण महाकुम्भ मेला वैशाख २८ गतेसम्म चल्नेछ। महिना दिनसम्म चल्ने महाकुम्भमा शङ्कराचार्य, वैष्णवाचार्य, जगद्गुरु, साधुसन्त, महन्त र धर्माचार्य एवं विद्वानहरुबाट धार्मिक प्रवचनका साथै अनुष्ठान, हवनलगायतका विधिविधान सहितका कार्यक्रम हुने आयोजक १२ वर्षे पिण्डेश्वर पूर्व महाकुम्भ मेला मूल आयोजक समिति चतरा सुनसरीले जनाएको छ।

कुम्भ मेलामा नेपालभरिका साथै भारत र तेस्रो मुलुकबाट समेत हिन्दु धर्मका गुरु, अनुयायी तथा भक्तजन आउने आयोजकको विश्वास छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.