|

विराटनगर : नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सोमवार विशेष महाधिवेशनको मागअगाडि सारे पनि एकीकृत समाजवादी सरकारबाट फिर्ता भएको छैन। पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुलाई मुख्यमन्त्री केदार कार्कीले पदबाट हटाएका छैनन्।

नेकपा एकीकृत समाजवादी पार्टी संसदीय दलका नेता राजेन्द्र राई तत्काल सरकार छोड्ने विषयमा कुनै निर्णय नभएको बताउँछन्।

सरकार बनाउने र गिराउने खेल अहिले एकीकृत समाजवादीका लागि मुख्य नभएको उनको भनाई छ। पूर्वमुख्यमन्त्रीसमेत रहेका राईले अहिले आफूहरु पार्टीको महाधिवेशनमा जुटिरहेको बताए।

प्रदेशमा भएका गतिविधिलाई सामान्य रूपमा हेरिरहेको बताउँदै उनले अहिले दुई दलले गरेको अभ्यासले सरकारलाई कुनै असर नगर्ने उनको तर्क छ।

"कुनै एउटा प्रतियोगिता हुँदै छ। दुईजना प्रतियोगी छन्। बाटोमै भेट भएर कुस्ताकुस्ती गरेर एउटाले जित्यो भन्दैमा त्यसले गोल्ड मेडल पाउँदैन‚" गृह जिल्ला जाने क्रममा उनले भने, "सरकार अल्पमतमा पर्ने भनेको संसदबाट प्रमाणित हुनुपर्छ।"

यसका लागि अविश्वासको प्रस्ताव वा विश्वासको मत पाउन नसक्ने अवस्था हुनुपर्छ तर अहिले दुवै अवस्था नभएको उनको भनाइ थियो।

विवाह, पन्चौलीमा बहुमत सांसदले हस्ताक्षर गरेर प्रदेश प्रमुखले पनि आह्वान नगरेको र दावी गरेको भरमा सरकारले बहुमत गुमाएको भन्न नमिल्ने र त्यसले मान्यता पनि नपाउने राईको भनाइ छ। प्रदेश प्रमुखले आह्वान गरेपछि मात्रै बहुमत सांसदले हस्ताक्षर लिएर जानुपर्ने उनी बताउँछन्।

‘सरकार अल्पमतमा छ भनेर सडकमा होइन संसदमा देखिनुपर्छ,’ नेता राईले भने ‘त्यो भनेको कि अविश्वासको प्रस्ताव लगेर प्रमाणित गर्नुपर्छ कि भने उनले विश्वासको मत नपाएको अवस्था हुनुपर्छ।’

कोशी प्रदेशमा देखिएको विवादको अवस्थाले फेरि पनि निरुपणका लागि अदालतसम्मै पुग्नुपर्ने हुनसक्ने उनको बुझाइ छ। विशेष अधिवेशनमा सरकार अल्पमत परेको विषय टेबुल हुने आधार नै नरहेको उनको तर्क छ। अहिलेको गतिविधि भनेको रेकर्डका लागि मात्रै भएको उनले बताए।

‘राजनीतिक रूपमा राष्ट्रपतिले संविधान मिचेर निर्णय गरे जस्तै पनि प्रदेश प्रमुखले संविधान मिच्नुभयो भने बेग्लै कुरा नत्र अल्पमतमा परेको भनेर भन्न मिल्दैन,’ राईले भने‚ ‘यद्यपि म सरकार टिकाउने पक्षमा छैन।’

माथिको गठबन्धनका आधारमा पनि सरकार टिकाउनु पर्छ भन्ने पक्षमा नरहेको उनले बताए तर यो प्रक्रियाबाट भने तत्काल परिणाम भने नआउने उनको जिकिर छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.