|

पर्वत : नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कसैले पनि किनारा लगाउन खोजेमा एमालेले दक्खल दिने बताएका छन्।

नेकपा (एमाले) पर्वतको दशौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य राख्दै उनले एमाले जनमत र सामर्थ्यको हिसाबले देशकै सबैभन्दा शक्तिशाली पार्टी भएकाले यही शक्तिलाई किनारा लगाउन खोजेमा एमालेले पनि दक्खल दिने बताएका हुन्।

एमालेलाई किनारा लगाउँदा मुलुक अगाडि बढ्न नसक्ने भन्दै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्तिको रूपमा विकास गर्न आह्वान पनि गरे।

‘एमालेलाई राष्ट्रिय शक्ति मात्रै होइन, निर्णायक राष्ट्रिय शक्ति बनाउनु छ। जनमत र सामर्थ्यको हिसाबले एमाले देशको सबैभन्दा शक्तिशाली पार्टी हो’, उपाध्यक्ष पौडेलले भने, ‘एमालेलाई किनारा लगाएर देश अगाडि बढ्न सक्दैन। बरु एमालेले दक्खल दिन्छ।’

एमाले देशको शक्तिशाली पार्टी भएकाले एमालेको नीति र निर्णयअनुसार सिंहदरबार चल्ने स्थिति आउनुपर्ने उनको भनाइ छ। च्यासलको पार्टी कार्यालय नीतिमा जे निर्णय गर्छ‚ त्यही निर्णयलाई देशको प्रशासनिक केन्द्र सिंहदरबारले पनि कार्यान्वयन गर्न सक्ने गरी एमालेलाई बलियो बनाउनुपर्ने पौडेलले बताए।

ओलीबिनाको एमाले र एमालेबिनाको देश उस्तै हुने भएकाले आउँदो निर्वाचनमा एमालेलाई एकल बहुमत प्राप्त पार्टी बनाउन उनले आह्वान गरे। आगामी निर्वाचनमा अरू दलको सहयोगबिना नै बहुमत प्राप्त भएमा च्यासलको निर्णय सिंहदरबारले पनि मान्ने अवस्था आउने उपाध्यक्ष पौडेलको तर्क छ।

अधिवेशनको उद्घाटन सत्रमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ, प्रदेश इन्चार्ज गोकर्ण विष्ट, सचिव पद्मा अर्याल, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी लगायतले पनि सम्बोधन गरेका छन्। उनीहरू सबैले एमालेको एकता कायमै रहनुपर्ने भन्दै गुट उपगुट खडा गरेर निर्वाचनको प्रक्रियामा नजान सुझाएका छन्। सर्वसम्मत रूपमा चुनिएको नेतृत्व सबैका लागि सर्वस्वीकार्य हुने र यसले एमालेलाई बलियो बनाउने उनीहरूको धारणा थियो।

बुधवार र बिहीबार बन्द अधिवेशनको बन्द सत्र चल्नेछ। बन्द सत्रले आगामी कार्यकालको लागि नयाँ जिल्ला कमिटी निर्माण गर्नेछ। अधिवेशनमा जिल्लाभरबाट करिब ३८५ जना प्रतिनिधि सहभागी छन्।

एमाले पर्वतका अध्यक्ष राजुप्रसाद पौडेल पुनः नेतृत्वमा आउन चाहेका छन्। यस्तै उपाध्यक्ष पदमपाणि शर्मा र सचिव गोविन्द पहाडी पनि अध्यक्ष पदका दाबेदार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.