|

काठमाडौं : मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी जनकपुरमा सुरु भएको छ। 

 नेपाल सरकार (गृह मन्त्रालय) र मधेस सरकार (गृह, सञ्चार तथा कानून मन्त्रालय) को संयुक्त आयोजनामा सुरु भएको गोष्ठीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेद्वारा उद्घाटन गरे।  गृह मन्त्रालयका सचिव एकनारायण अर्यालको अध्यक्षतामा सुरु भएको गोष्ठी आजै सकिने छ।

गोष्ठीमा मधेस प्रदेशका आठै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुखसहित जिल्ला सुरक्षा समितिका सदस्य सहभागी रहेका छन्। तीन सत्रमा बाँडिएको गोष्ठीमा  आठै जिल्लाका प्रजिअले आफू नेतृत्वको जिल्लाको वस्तुस्थिति ब्रिफिङ गर्ने जनाइएको छ। त्यस्तै, सहसचिवद्वय नारायणप्रसाद भट्टराई र राजेन्द्रदेव पाण्डेले गृह मन्त्रालयको तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। 

शान्ति सरक्षा, सेवा प्रवाह, अपराध नियन्त्रण, विपद् व्यवस्थापन, जनगुनोसो सम्बोधनलगायत क्षेत्रमा संघीय र प्रदेश सरकारका निकायबीच समन्वय र सहकार्यलाई थप मजबुद बनाउन गोष्ठीले योगदान गर्ने गृह मन्त्रालयको विश्वास छ।

गोष्ठीमा नेपाली सेनाका उपरथी प्रेमध्वज अधिकारी, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर पनि सहभागी छन्।

गोष्ठीको समापन सत्रमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, मधेस सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखी, मुख्यमन्त्री सरोजकुमार यादव र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको गृह मन्त्रालयले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.