|

काठमाडौँ : चीनको बेइजिङ फरेन स्टडी युनिभर्सिटीको टोली बुधबार वाल्मीकि विद्यापीठ पुगेको छ। चिनियाँ टोली बुधबार नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि)सँग सम्झौता गर्न वाल्मीकि पुगेको हो।

नेसंविका उपकुलपति प्रा.डा. यादवप्रकाश लामिछाने तथा बेइजिङ फरेन स्टडी युनिभर्सिटीको परिषद् अध्यक्ष प्रा.डा. वाङतिङ हुवाबीच सहकार्यसम्बन्धी पाँचबुँदे सम्झौतामा आज हस्ताक्षर भएको छ। सम्झौतानुसार नेसंवि र फरेन स्टडीबीच विद्यार्थी आदानप्रदान गरिनेछ। साथै दुवै विश्वविद्यालयले एकअर्काका प्राध्यापक, प्राज्ञिक व्यक्तित्व तथा शैक्षिक प्रशासनका अधिकारीलाई समेत आदानप्रदान गर्नेछन्।

यसैगरी दुवै विश्वविद्यालयले संयुक्त रूपमा डिप्लोमा स्नातक तथा स्नातकोत्तर तहका कार्यक्रमसमेत सञ्चालन गर्नेछन्। सम्झौतानुसार दुवै विश्वविद्यालयले आवश्यक ठानेका क्षेत्रमा संयुक्त अनुसन्धान गर्न सहकार्य गर्नुका साथै दुवै विश्वविद्यालयसँग रहेका शैक्षिक सामग्री र सूचनासमेत आदानप्रदान गरिने सम्झौतामा उल्लेख छ। सम्झौता कार्यान्वयनका लागि दुई विश्वविद्यालयबीच थप गृहकार्य गरिने, आर्थिक पक्षसम्बन्धी विषयमा छुटै परामर्श गरिने तथा सम्झौताले नसमेटेका पक्षमा थप परामर्श गरी छुटै सम्झौता गरिने पनि सम्झौतापत्रमा उल्लेख छ।

सम्झौताको अवधि पाँच वर्षको रहने र दुवै पक्षको लिखित सहमतिपछि नवीकरण हुने उल्लेख छ। हस्ताक्षर कार्यक्रममा बोल्दै चिनियाँ विश्वविद्यालय परिषद्का अध्यक्ष प्राध्यापक हुवाले सम्झौताले दुई विश्वविद्यालयबीच मात्र नभई नेपाल र चीनबीचकै दौत्य सम्बन्धमा नयाँ आयाम थप्ने बताए। विश्वका १८५ देशका प्रमुख विश्वविद्यालयसँग फरेन स्टडी युनिभर्सिटीले यस प्रकारको सम्झौता गरिसकेको उनले जानकारी दिए।

प्रा.डा. हुवाले दुई विश्वविद्यालयबीच गहन सहकार्यका लागि दुवैले प्राज्ञिक ज्ञानको आदानप्रदान सुरु गर्नुपर्ने र एकअर्काको देशमा प्रत्यक्ष भ्रमणसमेत शुरु गर्नुपर्ने बताए। यसैगरी अनुसन्धानको क्षेत्रमा दुवै विश्वविद्यालयबीच सहकार्य गरिनुपर्ने धारणा उनको थियो। चिनियाँ विश्वविद्यालयले संस्कृत र नेपाली भाषामा अध्ययन गर्नतर्फ विशेष रुचि देखाएको हुवाले बताए।

संस्कृत भाषाको अध्ययन अध्यापनका दृष्टिले नेसंविको महत्त्व विश्वव्यापी रहेको धारणा उनको थियो। नेसंविका उपकुलपति लामिछानेले संस्कृत भाषाप्रति चिनियाँ प्राज्ञहरूको मोह सम्मान योग्य भएको बताउँदै दुई विश्वविद्यालयबीच आगामी दिनमा गहन सहकार्य हुने विश्वास व्यक्त गए। सम्झौता हस्ताक्षर समारोहमा फरेन स्टडी युनिभर्सिटीका तर्फबाट अध्यक्ष हुवाका साथमा एशियाली तथा अफ्रिकी अध्ययन स्कुलका अध्यक्ष छू ए, निर्देशक ह चङ र त्रिभुवन विश्वविद्यालय स्कुल अफ एशियन स्टडिजकी निर्देशक चिङ युन (इन्दिरा) को उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.