|

लमही : घोराही उपमहानगर-५ धर्नाको धारापानीमा रहेको पाण्डवेश्वर सामुदायिक वनमा चैत २५ गते आगलागी भयो।

आगो लागेको देखेपछि धारापानी मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले डढेलो नियन्त्रणका लागि सबैलाई आह्वान गरे। पहिलो दिन गाउँलेलाई लिएर जाँदा आगो निभाउन सकिएन। राति भइसकेकाले सबै घर फर्किए। भोलिपल्ट बिहान गएर सैनिक, नेपाल प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिए।

दश वर्षदेखि जोगाउँदै आएको वनमा डढेलो लाग्दा धेरै बोटबिरुवा जलेका छन्। गर्मी बढेसँगै दाङमा आगलागीका घटना बढ्दै गएका छन्। डढेलोका कारण वर्षेनि ठूलो मात्रामा बोटविरुवा तथा वनस्पतिको क्षति हुने गरेको छ। रोकथामका लागि चाहिने पूर्वाधार निकै कमजोर छ।

डढेलो नियन्त्रण गर्न अपनाउनुपर्ने सबै प्रक्रिया अपनाए पनि जोखिम थपिँदै गएको जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख मोहन श्रेष्ठले बताए। ‘रोकथामका प्रयास भइरहे पनि बारम्बार मानवीय कारणबाट चुनौती छ’, उनले भने।

श्रेष्ठका अनुसार डिभिजन कार्यालयअन्तर्गत आठवटा सबडिभिजन छन्। जिल्लामा ८४ हजार हेक्टर वनक्षेत्र र ३८५ सामुदायिक वन समूह रहेको उनले जानकारी दिए।

सचेतना बढाउने कार्यक्रम वर्षेनि हुने गरे पनि पर्याप्त काम हुन नसकेको उनले बताए। दाङमा डढेलो नियन्त्रणका लागि तालिमप्राप्त जनशक्ति तथा प्रविधिको अभाव रहेको उनको भनाइ छ।

‘डढेलो निभाउन जाँदा ज्यान जाने खतरा छ। दमकल, ट्यांकर, जनशक्ति केही छैन। हामीसँग ६ जना सशस्त्र वनरक्षक छन्। उपलब्ध स्रोतसाधनबाट कोसिस जारी छ, यो पर्याप्त होइन’, श्रेष्ठले भने। डिभिजन वन कार्यालयका अनुसार अहिले दाङमा डेढ सय हेक्टर वनमा डढेलो लागेको छ। सुक्खा मौसम र दमकल पुग्ने बाटोको समस्या रहेको श्रेष्ठले बताए। गत वर्ष जिल्लामा दुई हजार दुई सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो।

प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले सम्बद्ध सबै संयन्त्र क्रियाशील हुनुपर्ने बताए। विपद्जन्य घटनाबाट नोक्सान कम गर्न पूर्वतयारी गर्नुपर्ने उनले बताए। स्थानीयस्तरमा गठित संयन्त्र तथा सञ्जालले भूमिका बढाउँदै सचेतना प्रदान गर्नुपर्नेमा उनले जोड दिए।

जिल्लास्थित आठवटा सबडिभिजन मातहतका सञ्जालमध्ये १२ वटा सञ्जाललाई डढेलो नियन्त्रणका लागि जमसुट, ग्लोभ्स, हेलमेट, जेट सुटर विथ वाटर ब्याग, रेक, रेक हो, स्वाटर गरी ६ किसिमका अग्नि नियन्त्रण सामग्री हस्तान्तरण गरिएको वन प्रमुख श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.