|

काठमाडौं : वायु प्रदूषणका कारण एक सातायता भएको वातावरणीय प्रभावलाई केही राहत मिल्ने गरी बिहीबार उपत्यका आसपासका जिल्लामा  वर्षा भएको छ।यससँगै प्रदूषणयुक्त वायुमा सुधार आएको छ।

शुक्रबारको गोरखापत्र दैनिकमा समाचार छ, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा बिहीबार हल्का वर्षा भएको छ । काठमाडौँमा पनि साँझ केही स्थानमा मेघ गर्जनसहितको वर्षा भएको छ ।

हल्का वर्षासहित राम्रो हावा चलेपछि मात्र काठमाडौँ उपत्यकाको प्रदूषित वायुबाहिर निस्कने सम्भावना रहने महाशाखाले जनाएको छ। अन्य शहरको तुलनामा काठमाडौँ उपत्यकाको वायु बढी प्रदूषित छ । 

२४ घण्टायता काठमाडौँ उपत्यकाको वायु देशका अन्य भागको भन्दा बढी प्रदूषित छ । रत्नपार्क, शङ्खमूल, कीर्तिपुर, भक्तपुर, खुमलटार, भैँसेपाटी क्षेत्रको वायु बढी प्रदूषित पाइएको वायु प्रदूषणमापन केन्द्रले देखाइरहेका छन्। काठमाडौँबाहेक तराईका केही जिल्लाको वायु प्रदूषणोन्मुख छ। अस्वस्थकर मौसममा श्वासप्रश्वासमा समस्या भएकाले बाहिर हिँडडुल नगर्न विभागले सुझाव दिएको छ। 

उपत्यकामा वायु प्रदूषण बढ्दा मंगलबार र बुधबार काठमाडौं प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा थियो। ‘एयर क्वालिटी इन्डेक्स’ ले सोमबार १६५, मंगलबार २००, बुधबार २६५ र बिहीबार १७७ एक्यूआई देखिएको छ । 

मौसमविद् पुडासैनीका अनुसार देशका विभिन्न भागमा अझै दुई दिन हल्का वर्षा हुने छ। महाशाखाले चिसो हावासँगै पश्चिमी तथा स्थानीय वायुको प्रभावले पहाडी भेगका भूभागमा शनिबारसम्म वर्षा हुने अनुमान गरेको छ। बिहीबारको तुलनामा शुक्रबार अझ धेरै स्थानमा वर्षा हुने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.