|

पर्वत : जिल्लाको फलेवास नगरपालिकाको आयोजनामा भएको स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको निःशुल्क स्क्रिनिङ शिविरमा एक हजार ५० जना महिलाको स्वास्थ्य परीक्षण गरिएको छ।

महिलामा स्तन र पाठेघरसम्बन्धी समस्याहरू बढ्दै गएको अवस्थामा फलेवास नगरपालिकाले क्यान्सरको पहिचानका लागि शिविरको आयोजना गरेको हो।

नगरपालिकामा रहेका ११ वटै वडाका स्वास्थ्य संस्थाहरूमा क्यान्सरको पहिचान गर्नका लागि फरक फरक मितिमा अस्थायी ‘स्क्रिनिङ’ शिविरको आयोजना गरिएको थियो।

नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत रुद्र शर्मा सापकोटाका अनुसार गत चैत चार गते फलेवास नगरपालिका–१ कार्किनेटाबाट सुरु गरिएको कार्यक्रम हालै मात्र वडा नं. ११ पाङराङमा पुगेर सम्पन्न भएको छ।

ती वडाका कुल एक हजार ५० जनामा गरिएको स्वास्थ्य परीक्षणबाट २४ प्रतिशत अर्थात् दुई सय ५७ जनामा स्तन र पाठेघर सम्बन्धी केही न केही समस्या भेटिएका छन्।

जसमध्येका २५ जनामा भीआइए पोजेटिभ, ३८ जनामा आङ खस्ने समस्या देखिएपछि रिङ राखेर उपचार गरिएको, ११ जनामा पाठेघरको मुखमा घाउ भएको, २८ जनामा पाठेघरको मुखमा मासु पलाएको, एक सय २४ जनामा विभिन्न खालका सङ्क्रमणहरू देखिएको र ३१ जनामा स्तन सम्बन्धी समस्या देखिएको छ। समस्या देखिएका महिलाहरूलाई आवश्यक परामर्श तथा जानकारी सहित थप उपचारका लागि ‘रेफर’ गरिएको छ।

नगरपालिकाको लक्षित कार्यक्रमअन्तर्गत रहेर यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो। पाठेघरको मुख र स्तनमा भएको वा हुन लागेको क्यान्सरको बारेमा समयमा नै शंकासमेत नपाउँदा सङ्क्रमणले च्याप्दै लगेका उदाहरणहरू धेरै देखिएका छन्।

जसले गर्दा सङ्क्रमण गहिरिइसकेको हुने तथा त्यसको उपचार गर्न धेरै खर्च लाग्ने अवस्था आउने भएकाले समयमा नै यसको पहिचानका लागि ‘स्क्रिनिङ’ गर्न लागिएको अधिकृत सापकोटाले बताए। महिलामा पाठेघरको मुख, स्तनको क्यान्सर लगायतका सङ्क्रमणहरू बढ्दै जाँदा जोखिम पनि बढ्दै गएकोले समयमै थाहा पाएर उपचारको लागि प्रक्रिया सुरु गर्नका शिविरहरूको आयोजना गरिएको हो।

यो शिविरमा गर्ने परीक्षणबाट महिलामा आगामी १० वर्षभित्रमा क्यान्सरको जोखिम रहेको भए त्यो पनि थाहा हुने भएकोले यो परीक्षण अभियान महिलाका लागि महत्त्वपूर्ण रहेको नगरपालिकाका प्रमुख गंगाधर तिवारीले बताए।

अहिले गर्ने परीक्षणले महिलामा क्यान्सरको सङ्क्रमणको पूरै यकिन नगर्ने भए पनि सम्भावना र शङ्काको बारेमा स्पष्ट पार्ने भएकोले यो आधारभूत अवस्थाको परीक्षण रहेको उनको भनाइ छ।

‘स्क्रिनिङ’ शिविर सञ्चालन गर्नको लागि फलेवास नगरपालिकाले बि.पी कोइराला मेमोरियल क्यान्सर हस्पिटल चितवनबाट चिकित्सकहरू ल्याएर वडाका स्वास्थयकर्मीहरुलाई प्रशिक्षण दिएको थियो। प्रत्येक स्वास्थ्य संस्थाबाट २÷२ जनाका दरले सहभागी ‘नर्सिङ स्टाफ’ हरूलाई तालिम दिएर तयार पारिएको हो।

अध्ययनअनुसार नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मानिसको मृत्यु क्यान्सरले हुने गरेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गत माघमा विश्व क्यान्सर दिवसको अवसरमा सार्वजनिक गरेको कार्यपत्रमा उल्लेख छ। नेपालमा ४० प्रतिशत भन्दा बढी मृत्यु फोक्सोको क्यान्सर र पाठेघरको मुखको क्यान्सरले गर्दा हुन्छन् भने प्रत्येक वर्ष करिब २० हजार भन्दा बढी क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन्।

नेपालमा फोक्सो, पाठेघरको मुख, स्तन, आमाशय (पेट) र आन्द्राको क्यान्सर सबैभन्दा बढी सङ्क्रमण भइरहेका क्यान्सर हुन्। फोक्सोको क्यान्सर १२, पाठेघरको मुखको क्यान्सर ११, स्तन क्यान्सर १०, आमाशयमा हुने क्यान्सर ८, आन्द्रामा हुने क्यान्सर ५ र अन्य क्यान्सर ५४ प्रतिशत रहेको तथ्याङ्क छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.