|

म्याग्दी : म्याग्दीको प्रमुख पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी र पुनहिल क्षेत्रको भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकको बसाइँ लम्बाउन घना गुराँसको जंगलभित्र बनाइएको गुराँस पार्कले पर्यटकको ध्यान तानेको छ।

पुनहिल र घोरेपानीको बीचबाट पदमार्ग हुदै करिब आधाघण्टाको दूरीमा जंगलभित्र कालीसारमा ५० रोपनी खाली चौरमा पर्यटकलाई घुम्ने र रमाउने विभिन्न संरचना निर्माण गरी बनाइएको पार्क पर्यटकको नयाँ गन्तव्‍य बनेको छ।

डिभिजन वन कार्यालय म्याग्दीको सहयोगमा गत आर्थिक वर्षमा २० लाख रुपैयाँ बजेट विनियोजन गरी ठूलाठूला अक्षरको गुराँस पार्क, शौचालय, चराचुरुङ्गी, जंगलभित्रको दृष्य अवलोकन गर्नेहरूका लागि आरामदायी बेञ्च, गोलघर तथा आसपासका क्षेत्रमा घुम्ने पर्यटकका लागि सहज हुनेगरी पूर्वाधार बनाइएको छ।

गुराँस पार्क लेखेको बोर्ड आसपासमा क्षेत्रमा पुगेर फोटो खिच्न मिल्नेगरी पदमार्ग लगायतका पूर्वाधारहरू समेत थपिएको छ। गुराँसको जंगलभित्रको समथर भूभागमा रमाउँदै पुगिने पार्क क्षेत्रमा अहिले दैनिकजसो आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन्।

पार्क आसपासमा आउने बन्यजन्तुका लागि पानी पिउने पोखरी, हर्स राइडिङ ट्रेल, साइक्लिङ ट्रेल र वन्यजन्तुको अवलोकनमा सहज हुनेगरी प्वाइन्टसमेत बनाइएको छ। घोरेपानी होटल ब्यवस्थापन समितिका अध्यक्ष मीना पुनले सडक सञ्जालले घोरेपानी छोएपछि झनै छोटिएको पर्यटकको बसाइ लम्बाउन गुराँस पार्कले सहज भएको बताइन्।

‘पर्यटकको संख्या बढिरहेको घोरेपानीमा बसाइँ भने लामो हुँदैन। पर्यटकको बसाइँ लम्बाउन पार्क सहित अन्य पूर्वाधारहरू समेत थप गर्नुपर्छ’ अध्यक्ष पुनले भनिन्। उनले फनपार्क, गुराँसको जंगल नमासिने गरी अन्य भौतिक संरचनाहरू बनाउन सकेमा थप सहज हुने बताइन्।

पार्कबाट नजिकै रहेका प्यारीबराह ताल, गण्डकी प्रदेश सरकारले दुई वर्ष अगाडि २५ लाख रुपैयाँ गुराँस पार्क हुँदै प्यारीवराह ताल पुगेर भल्खरा हुँदै घोडेपानी फर्कन करिब सात किमी साइकल लेन, हर्स राइडिङ ट्रेल र पैदलमार्ग समेत बनाएको वडा अध्यक्ष रामबहादुर खड्काले बताए।

‘पार्कले पर्यटकको समय लम्बाएको छ, बसाई नै लम्बाउन थप पूर्वाधार विस्तारको आवश्यकता पर्छ, तीनै तहको सरकारको प्राथमिकतामा परेमा पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउन सकिन्छ’ वडा अध्यक्ष खड्काले भने।

नेपालमा ३२ प्रजातिका गुराँस पाइने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अभिलेखमा रहेको छ भने गण्डकी प्रदेशभित्रको सबैभन्दा ठूलो गुराँसको जंगल रहेको घोरेपानी क्षेत्रमा गाडा रातो, रातो, सिम्रिक, चिमली, सेता, गुलाबीलगायत १५ प्रकारको गुराँस पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.