|

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदको हिउँदे अधिवेशनमा कानुन निर्माण र जनसरोकारका मुद्दा मुखरित गर्ने कार्य पर्याप्त नभएको बताएका छन्। सभामुख घिमिरेले आइतबार प्रतिनिधिसभा बैठकमा हिउँदे अधिवेशनमा (तेस्रो अधिवेशन) कानून निर्माण र जनताको मुद्दालाई सम्बोधन गर्ने विषयमा विगतका दुईवटा अधिवेशनभन्दा तुलनात्मक रुपमा उपलब्धिपूर्ण रहेको आफूले ठाने पनि पर्याप्त नभएको स्वीकार गरेका हुन्।

उनले राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयको आधारमा आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखि हुने विश्वाससमेत व्यक्त गरे।  संसद जनताको भावनालाई जनताद्वारा निर्वाचित प्रतिनिधिहरुले अभिव्यक्ति दिने प्रमुख संस्था भएकाले यहाँ आशा र अपेक्षाका साथसाथै असन्तुष्टि र आक्रोश पनि व्यक्त हुने उल्लेख गर्दै सभामुख घिमिरेले त्यसमा हुने विरोध र बहस पनि स्वाभाविक रुपमा लिनुपर्ने स्पष्ट पारे।

उनले संसदमा अभिव्यक्त जनप्रतिनिधिका आवाजलाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्दा त्यसले सुशासन कायम गर्न र असन्तुष्टिको निवारण गर्न मद्दत पुर्‍याउने पनि स्मरण गराए।

संसदमा अभिव्यक्त आवाजलाई सही समयमा सम्बोधन र निष्कर्षमा पुर्‍याउनसके संघीय संसदको गरिमा र समयको उचित सदुपयोग हुन्छ भन्ने आफूले ठानेको सभामुख घिमिरेको भनाइ थियो।

उनले संसद क्रियाशील र प्रवुद्ध भए मात्रै नीति निर्माणको कार्यमा गुणात्मक प्रभाव पार्नसक्ने बताए।

सभामुख घिमिरेले भने, ‘कानून निर्माण, जनसरोकारका मुद्दा मुखरित गर्ने लगायतका कार्यमा तुलनात्मक रुपमा अघिल्ला अधिवेशनहरुभन्दा तेस्रो अधिवेशन उपलब्धिपूर्ण रहेको मैले महशुस गरेको छु । तर पर्याप्त भने हुन सकेन । राजनीतिक दलहरुबीचको उच्च समझदारी र विवेकपूर्ण निर्णयका कारण आगामी अधिवेशनहरु अझै प्रभावकारी र परिणाममुखि हुने मैले विश्वास लिएको छु।'

त्यस अवसरमा सभामुख घिमिरेले संसदको हिउँदे अधिवेशन (तेस्रो अधिवेशन) लाई प्रभावकारी बनाउन भूमिका खेल्ने सबै सांसद, संसद सचिवालयका अधिकारीलगायत संवद्ध सबै पक्षप्रति आभार पनि व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.