काठमाडौं : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका पार्टीकै तर्फबाट पुन: मुख्यमन्त्रीमा दाबी पेस भएको छ। पार्टीका सांसद कैलाश चौधरीले प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका हुन्।
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। सुदूरपश्चिम प्रदेशसभामा एमालेका १० जना र नेकपा माओवादी केन्द्रका सभामुखसहित ११ जना सदस्य छन् ।
यसअघि आजै नाउपाकै सांसद लक्ष्मण किशोर चौधरीले दाबी पेस गरिसकेका छन्।
चौधरीले नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरी र एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीको हस्ताक्षरसहित प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।
मुख्यमन्त्रीमा दोहोरो दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाले कानुनी परामर्शमा लागेका छन्। कानुनी परामर्शपछि मात्र उनले निर्णय लिने बताइएको छ।
५३ प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा अहिले ५१ सांसद छन्। एक सांसदको निधन र समानुपातिक सांसद इन्दिरा गिरी पदमुक्त भएपछि २ पद रिक्त छन्।
सुदूरपश्चिममा सरकार बनाउन २६ सांसदको समर्थन चाहिन्छ। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आज साँझसम्मको समयसीमा तोकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।