|

नारायणगढ : चितवनको रत्ननगर नगरपालिकाका बासिन्दाले क्यान्सर उपचारमा थप सहुलियत पाउने भएका छन्।

क्यान्सरपीडित विरामीलाई सङ्घ सरकारले १ लाख रुपैयाँ र प्रदेश सरकारले ५० हजार रुपैयाँ सहुलियत दिँदै आएकामा नगरपालिकाले थप २५ हजार रुपैयाँ दिने निर्णय गरेको हो।

रत्ननगर नगरपालिकाको विशेष नगरसभाले क्यान्सरपीडितलाई सामाजिक उत्तरदायित्वअन्तर्गत २५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने घोषणा गरिएको नगर प्रमुख प्रह्लाद सापकोटाले जानकारी दिए। 

उनले छिट्टै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरसँग सहयोगसम्बन्धी सम्झौता गरिने बताए। उनले भने, “यो सम्झौता २०८१ साल वैशाख १ गतेदेखि नै लागू हुन्छ।” 

सम्झौताअनुसार क्यान्सर उपचार गराइरहेका पालिकाभित्रका व्यक्तिले सङ्घ र प्रदेश सरकारबाट खर्च लिइसकेपछि नगरपालिकाले सहयोग रकम उपलब्ध गराउनेछ। 

“क्यान्सर भन्ने बित्तिकै पीडादायिक रोग बुझिन्छ हाम्रो पालिकाभित्र कैयौँ व्यक्ति क्यान्सरको पीडामा हुनुहुन्छ”, उनले भने, “उहाँहरुको उपचारका लागि पालिकाबाट सहुलियत होस् भनी यसको शुरुवात गरिएको हो।”

हाल रत्नगरका २०७ जना क्यान्सरका विरामी उपचाररत रहेको नगरपालिकाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.