|

ब्रिसबेन : अष्ट्रेलिया​को ब्रिसबेन शहरको मध्यभाग साउथ बैंकको किनारमा छ, नेपाली ‘पिस प्यागोडा’ मन्दिर। नेपाली हिन्दु धर्मावलम्बी मात्र नभई अन्य देशका मानिस समेत अवलोकनका लागि आउने गर्छन्। 

सन् १९८८ मा भएको वर्ल्ड एक्स्पोका क्रममा निर्माण गरिएको यो मन्दिर नेपालको पशुपतिनाथ मन्दिरकै आकृतिमा छ। ​अष्ट्रेलियाबाट नेपाली पुरातात्त्विक कला, संस्कृति प्रचारमा सहयोग गरिरहेको यो मन्दिर एक्स्पोका बेला निर्माण गरिएको थियो। 

नेपालबाट अष्ट्रेलिया ल्याइएका १६० जना कालीगढले दुई वर्ष काम गरी यो मन्दिर निर्माण गरिएको थियो। नेपालबाट ८० टन काठ ल्याएर यो मन्दिर निर्माण गरिएको हो। 

यो मन्दिरमा दैनिक पूजाआजा भने हुँदैन। एक्पोका लागि लगिएको र नेपाली पुरातात्त्विक सम्पदा विदेशीका लागि जानकारी गराएका लागि सम्मेलनको पूर्वसन्ध्यामा तयार गरिएको यो मन्दिरमा घुम्न जाने नेपालीका साथै विदेशी पनि उतिकै छन्। 

सम्मेलनमा थुप्रै देशका कलासंस्कृति उजागर गर्ने संरचना बनाइएका थिए। त्यसबेला बनाइएका अरु देशका संरचना हटाइए पनि नेपाली प्यागोडालाई भने स्थानान्तरण गरिएन। बरु यसको संरक्षणमा अष्ट्रेलिया सरकार नै जुट्यो। 

यो मन्दिर जर्मन आर्किटेक्ट योखाइम राइनरले डिजाइन गरेका थिए। उनले यस्तै प्रकृतिको प्यागोडा जर्मनीको म्युनिख र जापानको ओसाकामा पनि डिजाइन गरेका थिए। प्यागोडा शैलीको मन्दिरमा देवीदेवता र पशुपन्छी, शिवका विभिन्न स्वरूप र बुद्धका ध्यानमुद्रा अंकित छ।  

नेपाल बाहिरका मुख्य मानिने तीनवटै प्यागोडा शैलीका मन्दिरको डिजाइन उनै राइनरले गरेका छन्। यस्तो प्रकृतिको प्यागोडामा हिन्दू र बौद्ध धर्मका विविध पक्ष समावेश गरिएका हुन्छन्। 

उनले एसिया बाहेकका सबै महादेशमा कम्तीमा एक प्यागोडा शैलीको मन्दिर डिजाइन गर्ने योजना बनाएका छन्। ​

नेपाली पर्वहरूमा यो मन्दिर पुग्ने नेपालीहरूको संख्या बढ्दो छ। मन्दिरमा पुगेर नेपाली कलासंस्कृति र पुरातत्त्वका विषयमा अध्ययन गर्ने विदेशीको संख्या पनि बढेको छ।

यो मन्दिर पुग्दा विदेश भूमिमा नेपालको झल्को मेटिने गरेको नेपालीले बताउने गरेका छन्। 

हेरौँ मन्दिरको दृश्य:

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.