|

काठमाडौं : मन्त्रालयको जिम्मेवारी समालेको दुई महिना नपुग्दै उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले आफ्ना मान्छेलाई जागिर खुवाउन मरिमेटेर लाग्न थालेका छन्।

कोभिड महामारीको समयमा नक्कली पिसिआर रिपोर्ट बनाएको, त्रिवि शिक्षण अस्पताल र गंगालालको नक्कली लेटरप्याड बनाएर रिपोर्ट दिने गरेको, परीक्षण नै नगरी रिपोर्ट बेचेको र पोजेटिभ रिपोर्ट २ हजार रुपैयाँ लिएर नेगेटिक बनाएर दिएको लगायतको विषयमा छानविनमा परेर कारवाहीस्वरूप जागिरबाट निकालिएका तत्कालीन समयका गंगालाल ह्यदयरोग उपचार  केन्द्रका वरिष्ठ ल्याब टेक्नोलोजिष्ट तथा ल्याब इन्चार्ज इञ्चार्य विनोदकुमार यादवलाई स्वास्थ्यमन्त्री यादवको जोडबडमा पुन काममा फर्काइएको पाइएको छ।

केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत रहेका स्वास्थ्यमन्त्री उपेन्द्र यादवको जोडबलमा विभागीय कारबाहीमा परी जागिरबाट बर्खास्त गरिएका यादवलाई दुई वर्षपछि पुन केन्द्रको सोही  ल्याव टेक्नोलोजीको जिम्मेवारीमा फर्काइएको हो। गंगालालको सञ्चालक समितिको २० चैतको बैठकले उनलाई काममा फर्काउने निर्णय गरेको थियो।

 सोही निर्णयअनुसार उनलाई २०८१ वैशाख २ गते केन्द्रका निर्देशक डा रवि मल्लले उनलाई काम फर्कने गरी पत्र पठाएका थिए।  

केन्द्रका निर्देशक डा रवि मल्लद्वारा यादवलाई काममा बोलाइएको पत्रमा भनिएको छ, ‘उपरोक्त सम्वन्धमा यस केन्द्रमा वरिष्ठ ल्याब टेक्नोलोजिस्ट पदमा कार्यरत तपाईँ विनोदकुमार यादवलाई मिति २०८०/१२/२० गते बसेको केन्द्र संचालक समितिको बैठकको निर्णयानुसार मिति २०८१/०१/०२ गतेदेखि केन्द्रमा हाजिर हुनको लागि यसै पत्रमार्फत जानकारी गराउँदछु।'

नक्कली पिसिआर रिपोर्ट बनाएको, त्रिवि शिक्षण अस्पताल र गंगालालको नक्कली लेटरप्याड बनाएर रिपोर्ट दिने गरेको, परीक्षण नै नगरी रिपोर्ट बेचेको र पोजेटिभ रिपोर्ट २ हजार रुपैयाँ लिएर नेगेटिक रिपोट बनाएको सूचना बाहिरिएपछि केन्द्रले विभागीय छानविन समिति बनाएको थियो। उक्त समिति छानविन समितिले यादवले गल्ती नै गरेको भन्दै कारबाहीको सिफारिस गरेको थियो।

त्यसपछि उनलाई विशेष अदालतबाट भ्रष्टाचारको मुद्दासमेत दायर गरिएको थियो तर हाल उनले उक्त मुद्दाबाट सफाइ पाइसकेका छन्।

छानविन समितिले केन्द्रको कर्मचारी सेवा सुविधासम्बन्धी नियमावलीको दफा १३.५ को (छ) र (ट)मा भएको व्यवस्थाअनुसार विनोदकुमारलाई बर्खास्त गर्न सिफारिस गरेको थियो। उक्त दफाको उपदफा (छ) जानीजानी लापरबाही वा हेलचेक्रयाइँ तरिकाबाट गरेको कामको परिणामस्वरूप बिरामीको स्वास्थ्यमा गम्भीर असर पुगेमा वा मृत्यु भएमा र उपदफा (ट)मा केन्द्रको हितविपरीत कुनै संस्था वा व्यक्तिसँग अवाञ्छित सम्पर्क कायम गरी आफ्नो ओहदाको मर्यादाविपरीत गैरजिम्मेवारी पूर्ण काम गरेमा भविष्यमा केन्द्रको सेवाबाट अयोग्य नठहरिने गरी बर्खास्त गर्न सक्ने व्यवस्था छ।

गंगालाल स्रोतका अनुसार अहिले उनलाई स्वास्थ्यमन्त्री यादवको जोडबडमा काममा फर्काइएको हो। केन्द्रका एकजना कर्मचारीले भने, ‘हुन त उहाँले अदालतबाट पनि सफाइ पाइसकेको अवस्था छ तर यसपटक पुन सोही जिम्मेवारीमा भने स्वास्थ्यमन्त्री यादवकै जोडबडमा उहाँलाई पुन: उही जिम्मेवारीमा फर्काइएको हो।’

यादवलाई काममा फर्कन पठाइएको पत्र

दुई वर्ष अगाडि सेवाबाट हटाउँदाको पत्र

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.