माग धान्‍न आयात गर्नुपर्ने बाध्यता

|

काठमाडौं : “नेपालमा सुन्तला मीठो फलको रूपमा पनि छ, खान पनि सजिलो छ। गाडीमा ५/६ जना बसेर पनि केलाएर खान सकिन्छ, काट्नलाई चक्कुहरू परेन” यो भनाइ हो, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहको।

उनको यो भनाइ आलोचित भइरहेका बेला साँच्चै नै नेपालमा सहज उपलब्ध र सजिलो फलफूल भएकै कारण मात्र सरकारले सुन्तलालाई राष्ट्रिय फल घोषणा गरिएको हो त? भनेर प्रश्‍न उठ्न सक्छ। मन्त्रिपरिषद् बैठकले गत शुक्रबार सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गरेको छ।

आँप, केरा, स्याउ लगायतका अन्य फल छाडेर सरकारले सुन्तलालाई नै किन राष्ट्रिय फलका रूपमा रोज्यो भन्ने प्रश्नका सन्दर्भमा राष्ट्रिय फलफूल विकास केन्द्रका सूचना अधिकारी सूर्यप्रसाद बराल यसका पछाडि विभिन्न आधारहरू रहेको बताउँछन्।

लामो समयदेखि सुन्तलालाई राष्ट्रिय फलको रूपमा घोषणा गर्नका लागि पहल हुँदै आएको थियो। 
तुलनात्मक रूपमा नेपालमा उत्पादन हुने विभिन्न फलफूल मध्ये सुन्तला आफैंमा एउटा भौगोलिक पहिचान बोकेको नेपाली फलफूल हो।

सदियौंअघि जंगलमै पाइने सुन्तला नेपालको रैथाने फलफूल हो। परापूर्वकालदेखि मध्य पहाडी जिल्लाहरूमा यसको खेती हुँदै आएकोमा हाल तराईका जिल्लाहरूमा पनि व्यावसायिक खेती हुन थालेको पाइन्छ।

तथ्यांकमा सुन्तला

सुन्तला हुने कतिपय पकेट क्षेत्रमा १०० बर्षभन्दा बढी उमेरका सुन्तलाका बोटहरू पाइने र केही प्रसिद्ध पकेट क्षेत्रमध्ये दैलेखको दुल्लू, गुल्मीको भांडगाऊ, तनहुँको बन्दिपुर, धादिङको स्यादुल, धनकुटाको खोकु नाम चलेका पकेट क्षेत्रहरू हुन्। 

आर्थिक वर्ष ०७६/७७ मा २६ हजार ५९१ हेक्टरमा सुन्तलाको खेती भएको थियो। राष्ट्रिय तथ्यांक कार्यालयको राष्ट्रिय कृषि गणना २०७६ : सामुदायिक प्रतिवेदनमा उल्लेख भएअनुसार, सुन्तला देशभरका ८०७ वटा वडामा उत्पादन हुन्छ।

त्यसो त, सबैभन्दा बढी २,०११ वडामा प्रमुख फलफूल बालीको रूपमा आँप उत्पादन हुने गरेको देखिएको छ भने ६१५ वटा वडामा केरा, स्याउ २९८, कागती १३१, नासपाती १२१ र किबी ११३ वटा वडाहरूमा प्रमुख फलफूल बालीको रूपमा रहेको तथ्यांकमा उल्लेख छ। 

नेपालको मधेश प्रदेशका बाहेक सबै जिल्लामा सुन्तलाको उत्पादन हुने गरेको छ। मधेश प्रदेशमा कागती ४, आँप ६६५, केरा ५२, अम्बा ३, लिचीलाई प्रमुख बालीका रूपमा ४ वटा वडामा खेती गरिएको छ भने स्याउ, नासपाती र किबी पनि मधेश प्रदेशमा उत्पादन हुने गरेको छैन। 

कोशी प्रदेशका १०७३ वडाबाट विवरण संकलन गरिएकोमा सुन्तला २०६, कागती २६, आँप ३९२, केरा ९३, अम्बा १२, लिची १९, स्याउ ११, नासपाती २७ र किबी ५८ वटा वडामा प्रमुख बालीका रूपमा उत्पादन भएको छ।  

बागमती प्रदेशका ९५४ वडामा विवरण संकलन गरिएको थियो जसमध्ये १०८ वडामा सुन्तला, २७ वडामा कागती,१५२ वडामा आँप, १३० वडामा केरा, २४ वडामा अम्बा, २८ वडामा लिची, २१ वडामा स्याउ, ४२ वडामा नासपाती र ३७ वडामा किबी मुख्य बालीका रूपमा रहेको छ।

गण्डकी प्रदेशका २१३ वडामा सुन्तला मुख्य बाली रहेको छ भने १३ वडामा कागती, १०० वडामा आँप, १२२ वडामा केरा, १३ वडामा अम्बा, १० वडामा लिची, ४३ वडामा स्याउ, २४ वडामा नासपाती र १३ वडामा किबी मुख्य बाली हो।  

लुम्बिनी प्रदेशका १ सय वडामा सुन्तला, १८ वडामा कागती, ४२० वडामा आँप, ६७ वडामा केरा, १८ वडामा अम्बा, १३ वडामा लिची, १७ वडामा स्याउ, ४ वडामा नासपाती र ४ वटा वडामा किबीको खेती मुख्य बालीका रूपमा गरिएको छ। कर्णाली प्रदेशमा तथ्यांक कार्यालयले ६२५ वडाबाट विवरण संकलन गरेको थियो। जसमा १०७ वटा वडामा सुन्तला, १८ वडामा कागती, ८७ वडामा आँप, ७१ वडामा केरा, एउटा वडामा अम्बा, ९ वडामा लिची, १६२ वडामा स्याउ, ४ वडामा नासपाती र एउटा वडामा किबीलाई मुख्य बालीका रूपमा खेती गरिएको पाइएको छ।

यस्तैगरी, सुदूरपश्चिम प्रदेशका ७३ वडामा सुन्तला, २५ वडामा कागती, १९५ वडामा आँप, ८० वडामा केरा, ७ वडामा अम्बा, ६ वडामा लिची, ४४ वडामा स्याउ, २० वडामा नासपाती मुख्य बाली रहेको राष्ट्रिय कृषिगणना २०७८ सामुदायिक प्रतिवेदनमा उल्लेख छ।  

देशभर २९ हजार हेक्टरमा लगाइएको खेतीबाट वार्षिक रूपमा करिब दुई लाख मेट्रिक टन सुन्तला उत्पादन हुने कृषि मन्त्रालयको तथ्यांक छ। ५८ जिल्लामा सबैभन्दा धेरै र ४८ जिल्लामा एक सयभन्दा बढी हेक्टरमा सुन्तलाको व्यावसायिक खेती हुने गरेको तथ्यांकमा उल्लेख छ। 

देशभित्र सुन्तलाको वार्षिक लगभग ३० अर्ब ६१ करोड रूपैयाँको कारोबार हुने गरेको छ। सुन्तला जातमा कागती, भोगटे, जुनार, निबुवा, ज्यामिर, बिमिरो पर्छन्। तर सुन्तलाको खेतीबाट मात्र ७ लाखभन्दा बढीले प्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन्।

सुन्तलाबाट मात्रै यति धेरै रोजगार अरू फलफूल खेतीबाट नदेखिएको बरालको भनाइ छ। यसका बाबजुद सुन्तलाले देशभित्रको माग धान्न भने सकेको छैन। सुन्तला टिपेपछि लामो समयसम्म कोल्डस्टोरमा राखेर खान नमिल्ने भएकाले वर्ष भरीको खपत धान्न नसक्ने र अन्य देशबाट आयात गर्नुपरेको बरालले बताए।

उनका अनुसार, देशका ४२ जिल्लामा एक सय हेक्टर बढीमा आँपको खेती हुने गरेको छ भने भने आँप, स्याउको कारोबार देशभित्र लगभग २४ अर्बको हाराहारीमा हुन्छ। ‘सुन्तलाले राज्यलाई वर्षमा ३० अर्बको कारोबार गराइदिएको छ, तर राज्यले यसमाथि १ अर्ब पनि लगानी गरेको छैन, यो दुरावस्था हो–बरालले भने ‘सरकारले अब ७५३ वटै पालिकालाई सुन्तला र सुन्तला जातजन्य बालीहरूका लागि न्यूनतम यति बजेट नघटाई छुट्याएर किसानहरूलाई सहयोग गर्न भन्नुपर्छ।’

राष्ट्रिय फल घोषणा भएपछि सुन्तलाको उत्पादन, बजारीकरणलाई लिएर थप चासो बढेको छ। अब सुन्तलाको उत्पादनमाथि थप अध्ययन गरी यसको उत्पादन वृद्धि र नेपालको रैथाने फलको पहिचान अन्तर्राष्ट्रिय स्तरमा हुने अपेक्षासमेत गरिएको छ।

छिमेकी मुलुक भारतको राष्ट्रिय फल आँप (१९५० मा घोषणा गरिएको) हो। नेपालले रैथाने फल सुन्तलालाई ब्रान्डिङ गर्ने उद्देश्यले राष्ट्रिय फलको मान्यता दिएको छ। 

भन्सार विभागको तथ्यांकअनुसार, गतवर्ष ८८ करोड सुन्तलाको आयात भएको थियो भने चालु आर्थिक वर्षको फागुनसम्म १ अर्ब १० करोडको सुन्तला आयात भइसकेको छ। 

सुन्तलाजात फलको परिचय

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार, फलको बोक्रामा स–साना तेलले भरिएको छिद्रहरू, जुन काँचो अवस्थामा हरियो भई पछि फल विकास हुँदै जाँदा आ–आफ्नो जातीय गुणअनुसार बोक्राको रंग परिवर्तन हुँदै जान्छ।

फलभित्र ९ देखि १२ सम्म केस्राहरू हुन्छ। केस्राभित्र साना बिजुलाहरू, जसको भित्र रंगले भरिएको हुन्छ। बीचबीचमा जातीय गुणअनुसार धेरथोर बीउहरू हुन्छन्, यस्तो समूहमा पर्ने फलहरू सुन्तलाजात फलफूल हुन्। 

सुन्तलाजात फलफूलमा सुन्तला, जुनार, भोगटे, ग्रेपफ्रुट, चाक्सी, मुन्तला गुलियो स्वादको र कागती (सुन कागती), युरेका (चस्मे कागती), निबुवा, बिमिरो, कालीज्यामीर, नाईटेज्यामिर, तिनपाते सुन्तला अमिलो स्वादको फल हुन्।

अमिलो स्वादका यी फलको बीउ रुटस्टकको लागी प्रयोग हुन्छ। उष्ण र समउष्ण हावापानीमा विरुवाको वृद्धि विकास राम्रो हुने सुन्तलाजात फलफूल खेती सामान्यतया नेपालको हावापानी र भौगोलिक अवस्थाअनुसार ७०० देखि १५०० मिटरको उचाइमा व्यावसायिक रूपमा गर्न सकिन्छ।

राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार, तनहुँ जिल्लामा उत्पादन हुने अधिकांश सुन्तला बगैँचाहरू १००० मिटरभन्दा तल छ भने संखुवासभाको माङतेवामा १७०० मिट उचाइमा पनि व्यावसायिक बगैँचा पाइन्छ । नेपालको मध्य पहाडी भागमा सुन्तला, जुनार, कागती, भोगटे, मुन्तला र तराईमा कागती, युरेका, भोगटेको व्यवसायीक खेती गर्न सकिन्छ। 

सुन्तलाका लागि उपयुक्त क्षेत्र

नेपालमा सुन्तलाजात फलफूल उचित तापक्रम, पर्याप्त प्रकाश, अनुकूल वर्षा तथा उर्वर माटोले गर्दा छिमेकी देशको भन्दा स्वादिलो र गुणस्तरको फल उत्पादन हुन्छ। नेपालको मध्य पहाडी क्षेत्रको पहाडको खोच र उत्तरी मोहडा परेका ठाउँहरूमा यसको खेती सफल रूपमा गरिन्छ।

सुन्तला, जुनारको सबैभन्दा उपयुक्त हावापानीका लागि १०००—१२०० मिटरको उचाई आवश्यक पर्दछ भने सुन्तलाजात फलफूलको १८—२१ डिग्री तापक्रम उपयुक्त मानिन्छ। तुलनात्मक रूपले दक्षिण मोहडाभन्दा उत्तर पूर्वी मोहडामा चिस्यान बढी हुने हुदा सिँचाइ सुविधा नभएका ठाउँमा राम्रो उत्पादन हुँदैन र तुसारोले सुन्तलाको फल र वोटलाई नोक्सान पुर्‍याउने गर्छ। 

लामो समय सुक्खा खडेरी पर्‍यो  भने, फलको वृद्धि अवस्थामा, अण्डाकारमा पुग्दा (हरियो पतेरोको कारण), फल कुहाउने झिंगाले गर्दा, फल पाकेको बेलामा लामो समय माटोमा पानी रहिरहेमा, रोग किराले क्षति आदि कारणहरूले गर्दा सुन्तलामा फल झर्ने समस्या देखिन्छ। नेपालको स्थानीय जातको सुन्तला निकै गुणस्तरको मानिन्छ।

नेपालमा भित्रिएका केही उन्नत जातका सुन्तलाका जातहरूमा स्थानीय छनोट, मियागावा वासे, इमामुरा वासे, ओकिचा वासे, ओतापोङकान, डोकोपोङ, कायका, फुटस अर्लि, यशोदा, पोङकान र चुनाकावारी रहेका छन्। सुन्तलाको फूल फूलेको करिब २६५ देखि २७० दिनमा फल टिप्न लायक हुन्छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.