|

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पूर्वाधार विकासमा नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने दावी गरेका छन्। 

सोमवार नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाको मुख्य सुरुङको ‘ब्रेक–थ्रु’गर्दै प्रधानमन्त्री दाहालले यस्तो दावी गरेका छन्।

उनले नेपालको भौगोलिक बनोटका आधारमा सुरुङमार्ग निर्माणलाई प्राथमिकता दिनको लागि नागढुंगा सुरुङमार्ग नेपाली माटो सुहाउँदो नयाँ दस्ताबेज हुने बताए। प्रधानमन्त्री दाहालले नागढुंगा सुरुङमार्ग निर्माणले पूर्णता पाएसँगै नेपाल सुरुङ युगमा प्रवेश गरेको बताए। 

उनले सुरुङ मार्गको ‘ब्रेक–थ्रु’ भएर निर्माण सम्पन्न भएपश्चात नागढुङ्गा क्षेत्रमा हुने गरेको ट्राफिक जाम, उकालो सडक, सडक सुरक्षाका हिसाबले कायम रहेको जोखिम, वर्षा याममा हुने पहिरोको उच्च जोखिम लगायतका समस्या समाधान गर्नका लागि यो आयोजनाको परिकल्पना गरिएको बताए।

उनले सुरुङ मार्ग निर्माणपश्चात सुरुङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालनको खर्च घटाउने बताए।

ट्राफिक र सडक सुरक्षामा सुधार गरी काठमाडौँ र देशका अन्य प्रमुख शहरहरु बीचको सहज यातायाता सञ्जालमा योगदान पुर्‍याउने उनको भनाइ छ। 

उनले सुरुङ निर्माणमा नेपाली र जापानका इन्जिनियरहरुबीचमा जस्तो सहकार्यले नेपाली इन्जिनियरहरुले पनि आउने दिनमा सुरुङ मार्ग निर्माणमा महत्वपूर्ण योगदान गर्ने बताए। 

उनले सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता विस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्युनता र प्रादेशिक सन्तुलन कामय गर्ने गरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्य रहेको सुनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.