|

पर्वत : प्राकृतिक सौन्दर्यमा रमाउने आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको एउटा मुख्य केन्द्र हो- हिमाल पारीको जिल्ला मुस्ताङ।

आन्तरिकसहित विश्वका विभिन्न देशबाट लामो यात्रा तय गर्दै पर्यटकहरु मुस्ताङ पुग्छन्। समुन्द्र सतहसँगको उचाइमा रहेका टापु र देशका बासिन्दा मुस्ताङ पुग्दा ४ हजार मिटरसम्मको उच्च भूभागमा पुग्छन्।

रमाइलो र साहसिक यात्राका लागि आएकाहरू उच्च भेगमा पुग्दा चाँडै थाक्छन् नै यसबाहेक अक्सिजनको पनि कमी हुँदै जान्छ। कम उचाइमा सहजै गुड्ने सवारीसाधनले समेत उपल्लो मुस्ताङसम्म पुग्दा ‘पिकअप’ लिन नै समस्या भोगिरहेका हुन्छन्। 

मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात शरीरमा अक्सिजनको कमी हुनु हो। पछिल्ला ३ वर्षका तथ्याङ्कले रमाइलोसँगै मुस्ताङ यात्राको कठिनाइ पनि दर्शाउँछ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेका अनुसार पछिल्ला ३ वर्षमा लेक लागेर २९ जनाको मृत्यु भएको छ। 

३ वर्षको तथ्यांक

आर्थिक वर्ष ०७८/७९ मा ५ जना महिला र एक जना पुरुष गरेर ६ जनाको लेक लागेर मृत्यु भएको थियो। 

उनीहरू सबै भारतीय नागरिक थिए भने उनीहरूको उमेर ४५ देखि ७३ वर्षसम्मको थियो। उनीहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो।

आर्थिक वर्ष ०७९/८० मा पनि ५ जना महिला र ७ जना पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो। 

उनीहरूमध्ये ७ जना भारतका, एकजना थाइल्याण्डका र ४ जना नेपाली थिए। उनीहरूको उमेर ४२ वर्षदेखि ७५ वर्षसम्म रहेको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।

मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा उनीहरूलाई लेक लागेको थियो।

चालु आर्थिक वर्ष ०८०/८१ को चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ। असोजमा ३ जनाको, फागुनमा २ जनाको र चैतमा ६ जनाको मृत्यु भएको छ। मृतकमध्ये ५ जना महिला र ६ जना पुरुष हुन्। 

३५ वर्षदेखि ८३ वर्षसम्मको उमेर रहेका उनीहरूमध्ये एकजना युक्रेनी, ३ जना नेपाली र ८ जना भारतीय रहेका छन्। उनीहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचेलगायत स्थानमा लेक लागेको थियो।

लेक लागेको लक्षण

२ हजार ५ सय मिटर वा सोभन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ।

लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाई लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरु बताउँछन्।

मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ–स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिँगटा लाग्ने, बेहोस हुने, कुराहरू बिर्सिने, पिसाब कम हुनेलगायत लक्षण देखिने गरेका छन्।

पर्यटकको स्वास्थ्य जाँच

लेक लाग्ने घटना बढेपछि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय मुस्ताङले गत चैतमा मुस्ताङ भ्रमणमा पुगेका तीर्थयात्री, भ्रमण गर्नेहरू, मनोरञ्जनका लागि जानेहरू, ट्रेकिङ गर्नेहरू, अवलोकनकर्तालगायत लक्षित गरेर स्वास्थ्य शिविर नै आयोजना गरेका थिए।

लेक लागेर विरामी हुने, अक्सिजनको कमी हुने, ढल्ने जस्ता समस्या देखिएको र यसले मानवीय क्षतिसमेत हुन सक्ने भएकाले भ्रमणमा पुगेकाहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर घरपझोङ गाउँपालिका–४ जोमसोममा रहेको पर्यटक प्रहरी चेक पोस्टमा शिविर राखेर स्वास्थ्य जाँच गरिएको प्रहरी नायव उपरीक्षक पाण्डेले बताए।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.