|

काठमाडौं : संघीय सरकारको समीकरण परिवर्तन भएसँगै प्रदेशहरुमा संघीय समीकरण अनुरुपको सरकार बनाउन शुरु गरिएको छ।

प्रधानमन्त्री पुष्कमल दाहालले गत फागुन २१ गते नेपाली काँग्रेससहितको सत्तारुढ गठबन्धन तोडेर नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टीसहितको नयाँ समीकरण बनाएसँगै सोही समीकरण अनुरुप प्रदेश सरकारहरु धमाधम बनिरहेका छन्।

यसै क्रममा कोशी प्रदेश सरकार नेकपा (एमाले) नेतृत्वमा बनाउनका लागि सत्तारुढ दलहरुका बिचमा सहमति बनेको भएपनि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मार्गप्रशस्त नगर्दा नयाँ सरकार गठनमा ढिलाइ भइरहेको छ।

मुख्यमन्त्री कार्की पद छोड्ने पक्षमा छैनन् भने सत्तारुढ दलहरु उनलाई जसरी पनि मुख्यमन्त्रीबाट हटाएर नयाँ मुख्यमन्त्री बनाउने पक्षमा लागिरहेका छन्।

मुख्यमन्त्री कार्की गत असोज २७ गते नेपालको संविधानको धारा १६८ को उपधारा(५) बमोजिम मुख्यमन्त्री नियुक्त भएका थिए। कोशीमा नेकपा (माओवादी केन्द्र)लाई सरकारको नेतृत्व दिने तत्कालिन गठबन्धनको निर्णयविपरीत नेपाली काँग्रेसका नेता कार्कीले पार्टीबाट विद्रोह गर्दै काँग्रेसका आठ र नेकपा(एमाले)का ३९ जना सांसदहरुको मतसहित मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। उनले कार्तिक १ गते विश्वासको मत पाएका थिए।

यद्यपि विश्वासको मत पाउने बेलामा भने उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेक प्रदेश सभामा भएका सबै राजनीतिक दलको मत प्राप्त गरेका थिए। ९३ सदस्यीय कोशी प्रदेश सभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, एकीकृत समाजवादीका चार र जसपाका एक सांसद रहेका छन्।

बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्ने अवस्था रहेको छ। विश्वासको मत लिँदा ९३ प्रदेश सभा सदस्यमध्ये ९१ जना सहभागी थिए। विश्वासको मतको पक्षमा ८६ मत र विपक्षमा ५ मत परेको थियो। प्रदेशको यस प्रकारको संरचनाअनुरूप गठन भएको मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अहिले जोखिमको अवस्थामा परेको छ।

मुख्यमन्त्रीलाई विश्वासको मत दिने प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा(एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। अहिले एमाले, माओवादी केन्द्र लगायतका दलहरु सरकार अल्पमतमा परेकोले मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने र नयाँ सरकार गठनको प्रक्रिया आरम्भ गर्नुपर्ने पक्षमा उभिएका छन्।

सरकार छाड्दिनँ : मुख्‍यमन्त्री कार्की

यता, मुख्यमन्त्री कार्की भने प्रदेश सभामा चार–चारवटा सरकार असफल भएपछि आफू संविधानको धारा १६८(५) बमोजिम नियुक्त भएको भन्दै सरकार छोड्नुपर्ने बाध्यात्मक अवस्था नरहेको जिकिर गरिरहेका छन्। यसैबिचमा कोशी प्रदेश सभाका एकचौथाई भन्दा बढी सदस्यहरुले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेश सभाको अधिवेशन आव्हान गर्नका लागि गत चैत्र २६ गते निवेदन दिएपछि कोशी प्रदेश सभाको अधिवेशन वैशाख ६ गते बिहीवार दिउँसो १ बजे बस्नेगरी बोलाइएको छ।

वैशाख ३ गते नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)ले प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री केदार कार्कीले वैशाख २५ गतेभित्र विश्वासको मत लिनुपर्ने अन्यथा राजीनामा दिनुपर्ने बेहोरासहितको संकल्प प्रश्ताव दर्ता गराएका छन्। प्रदेश सभा बैठक कसरी अगाडि बढ्छ र सरकार नयाँ बन्छ या बन्दैन भन्ने प्रतीक्षाको विषय बने पनि दलहरुको आ–आफ्नो जिकिर र अडान कायमै छ।

यसै परिप्रेक्षमा न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई मध्यावधि निर्वाचन रोक्नका लागि संविधानको धारा १६८(५) बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको भन्दै राजीनामा नदिने स्पष्ट पारे।

उनले आफ्नो राजीनामाको कुरा गर्नु संविधानको बर्खिलापको कुरा भएको बताए। उनले आफू संविधानले परिकल्पना गरेको अन्तिम धाराको सरकार भएको भन्दै संविधानको पुरानो धारामा आएर सरकार बन्न नसक्ने बताए। उनले संविधानलाई मिच्नु अपराध हुने भन्दै आफूले त्यस्तो गर्न नसक्ने बताए।

उनले भने ‘मैले इच्छा गरेर, चाहेर रहने कुरा होइन, त्यसकारणले गर्दा समर्थन पनि के हो भने यो एक्लो समर्थनको सरकार हो। एक्लो समर्थन भनेको तिमी बहुमत पुर्‍याएर ल्याउन सक्छौ भने, एक्लो कसैले बहुमत पु¥याएर ल्याएर मध्यावधि रोक भनेर दिएको अधिकार प्रयोग गरेको धारा १६८ (५) को त्यसैले यहाँ समर्थन विमर्थन होइन, समर्थन भइसक्यो, समर्थनभित्र गरेर बाहिर आएर मैले गरिनँ भनेर कहाँ हुन्छ, सकियो त सकियो। राजीनामा भन्नेकुरा राजी अनि नामा। मागेर होइन, इच्छाएर दिने हो।  इच्छा त धेरैलाई होला। कुर्सीमा बसिरहेको देखेपछि अरुलाई पनि होला। तर संविधानबाट आउनुपर्‍यो नि। संविधानको दायराबाटै म काम गर्छु। संविधानभन्दा दायाँबायाँ एक इन्च पनि काम गर्दिनँ।'

विश्वासको मत नलिए राजीनामा दिनैपर्छ : एमाले

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा(एमाले)का संसदीय दलका नेता हिक्मत कार्कीले आफूहरुले समर्थन फिर्ता गरेसँगै मुख्यमन्त्री कार्की अल्पमतमा परेको बताए। उनले मुख्यमन्त्री कार्की घनघोर अल्पमतमा परेको टिप्पणी गरे। उनले चैत्र २६ गते आफूहरुले समर्थन फिर्ता गरेको उल्लेख गर्दै ३० दिनभित्र विश्वासको मत प्रमाणित गरेर देखाउन चुनौती दिए।

उनले विश्वासको मत नलिने हो भने राजीनामा गर्नुपर्ने बताए। उहाँले संविधानको धारा १६८(५) बमोजिमको सरकार परिवर्तन हुँदैन भन्नेकुराको कुनै तुक नभएको बताए। उनले मुख्यमन्त्री कार्कीले प्रदेशसभा भंग गर्न पनि नसक्ने बताए।

नेता कार्कीले प्रदेश सभाबाट अर्को सरकार बन्ने विकल्प भएको भन्दै प्रदेश सभा भंग गर्न नसक्ने जिकिर गरे। उनले प्रदेश सभाबाट अर्को सरकार बन्ने दाबी गरे।

उनले भने, ‘बहुमत गुमाएपछि मुख्यमन्त्री वा कुनैपनि त्यस्तो पदमा बसिरहन मिल्दैन। यो कुरामा कहीँ विवाद गरिरहनुपर्ने, छलफल गरिरहनुपर्ने आवश्यकता देखेको छैन। हामीले विश्वासको मत झिकेपछि अहिलेको अवस्थामा उहाँ घनघोर अल्पमतमा हुनुहुन्छ। उहाँले ३० दिनभित्र कि त विश्वासको मत प्रमाणित गर्नुपर्छ। कि राजीनामा दिएर बाटो छोडिदिनुपर्छ।'

विश्वासको मत नलिए सरकार स्वत: कामचलाउ हुन्छ : संविधानविद्‌ ज्ञवाली

दलहरुको आ–आफ्ना दाबीका बीच न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संविधानविद चन्द्रकान्त ज्ञवालीले मुख्यमन्त्री कार्कीले विश्वासको मत लिनुपर्ने बताए। कार्कीलाई विश्वासको मत प्राप्त नभएमा सरकार कामचलाउ हुने र प्रदेश सभा विघटन हुने बताए।

उनले काम चलाउ सरकार चुनावी सरकारमा परिणत हुने र नयाँ निर्वाचन गर्नुपर्ने अवस्था आउने बताए। ज्ञवालीले दुई वर्षसम्म अविश्वास प्रश्ताव ल्याउन पाइन्न भनेर संविधानले परिकल्पना गरेको अवस्थामा दलहरुले विश्वासको मत फिर्ता गर्नुले उनीहरुमाथि संवैधानिक नैतिकताको प्रश्न उठेको बताए।

उनले भने ‘कोशीमा निकास के हो भने अहिलेको सरकार नेपालको संविधानको धारा १६८ को(५) बमोजिम अन्तिम विकल्पको सरकार हो। अन्तिम विकल्पको सरकार यसमानेमा हो कि जहाँ दलहरुले सरकार दिन सकेनन्। सरकार जन्माउन सकेनन्। त्यसो भएको कारणले दलभित्रको पनि कुनै एउटा संसद सदस्यमार्फत नै १६८(५) बमोजिमको सरकार बनेको हो। भर्खरै दुवै दलले म फिर्ता गर्छु भनेर दुवैले सरकारबाट वा समर्थनबाट बर्हिगमन भएको अवस्था हो।'

उनले थपे, 'बहिर्गमन पछिको अवस्था के हुन्छ त भन्दाखेरी १६८(५) को सरकारले पनि विश्वासको मत प्राप्त गरिसकेको अवस्था र दुई वर्षसम्म अविश्वास प्रस्ताव ल्याउन नसक्ने संवैधानिक प्रावधान भएकाले यस्तो अवस्थामा उहाँ फेरि संसदसमक्ष मलाई विश्वास दिनुस् भनेर जानसक्ने क्षमता राख्नुहुन्छ। र संसद अधिवेशन बोलाएर संसदको विश्वासको मत म लिन्छु भनेर ३० दिनभित्र उहाँ जानु त्यही निकास हुन्छ। यदि उहाँलाई विश्वासको मत प्राप्त भएन भने निकास के हो भने यदि विश्वासको मत प्राप्त भयो फेरि सरकार चल्छ। विश्वासको मत प्राप्त भएन भने उहाँ कामचलाउ सरकार हुन्छ। काम चलाउ सरकार भएपछि उहाँले त्यो संसदको विघटन गर्ने र राजीनामा गर्ने। काम चलाउ सरकार भन्नेबित्तिकै चुनावी सरकारमा परिणत हुन्छ।'

संविधानविद् ज्ञवालीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत प्राप्त नभएमा मध्यावधि चुनावमा जानु नै संवैधानिक बाटो भएको स्पष्ट पारे।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.