|

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले महिला सांसदहरुलाई हतोत्साहित गर्न नहुने बताएकी छन्। आइतबार आफ्नो कार्यकक्षमा सञ्चारकर्मीहरुसँग भेटघाट गर्दै उपाध्यक्ष घिमिरेले महिला सांसदहरुले बोलेको कुरालाई लिएर विभिन्न टिकाटिप्पणी हुने गरेको भन्दै उनीहरुलाई अत्याउने र हतोत्साहि गर्नु नहुने बताएकी हुन्।

उनले महिला सांसदहरुले संसदमा बोलेको कुरालाई लिएर ०६४ सालको संविधान सभादेखि नै टीका टिप्पणी गरिने गरेको बताइन्। उनले महिला सांसदहरुको क्षमतामाथि समेत प्रश्न उठाइने गरेको भन्दै त्यसो गर्नु नहुने बतायन्।

उनले संविधानले महिलाहरुलाई दिएको अधिकारको प्रयोग गरेर सांसद भएकाहरुलाई अनावश्यक टीकाटिप्पणी गर्नु नहुने बताइन्। उनले विगतका राजनीतिक आन्दोलनमा सक्रिय भूमिका खेलेका महिलाहरुलाई सांसद बनाउँदा उनीहरुमा बोल्ने कलाको विकास नहुनु स्वाभाविक भएको भन्दै त्यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताइन्।

उनले भनिन्, ‘क्षमताको विकास गर्नुपर्छ। त्यो सकारात्मक कुरा हो। तर क्षमता विकास भइसकेकालाई ल्याउने कि ? त्यो क्षेत्र, समुदायलाई समेटेर यहाँ ल्याउने भन्नेकुरा हाम्रो व्यवस्था अनुसार गर्ने हो। हिजो भूगोलमा काम गरेका साथीहरु जनतासँग जोडिनुभएको छ। तर माथि बोल्ने तरिका फरक हुनसक्छ। महिला माननीयहरु त्यहाँ गएर बोल्न सक्नुभएन होला। तर उहाँहरुको भावना व्यक्त भएको छ। शब्द शब्दमा खेलेर उहाँहरुलाई अत्याउने, हतोत्साही गर्ने खालको कुरा नगरौँ भन्ने मेरो आग्रह छ।'

उपाध्यक्ष घिमिरेले उपसभामुख, राष्ट्रिय सभा उपाध्यक्ष तथा स्थानीय तहको उपप्रमुखको पद महिलाहरुकै लागि हो भन्ने मानसिकता बनेको भन्दै त्यसलाई चिर्नुपर्ने बताइन्। उनले राष्ट्रियसभा उपाध्यक्षको आफ्नै अधिकारहरु रहेको भन्दै सो पद अध्यक्षको छायाँको रुपमा नरहेको बताए।

उनले उपाध्यक्षको अधिकारलाई बढाएर सो पदमा पुरुषहरु पनि आकर्षित हुने अवस्था बनाउनुपर्ने बताए। उनले समाजमा पुरुषप्रधान मानसिकता रहेको भन्दै त्यस्तो प्रकारको विचारकै पुनःसंरचना गर्नुपर्ने बताइन्। उनले राष्ट्रिय सभा उपाध्यक्षको रुपमा आफूले प्रभावकारी भूमिका खेल्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.