|

सुर्खेत :  कर्णालीको राजधानी सुर्खेतबाट साविकको कर्णालीको मुगु पुग्न २ दिन लाग्ने गर्दछ। धुलाम्मे बाटो साँघुरा मोडहरूले यो सडक पलपल मृत्यु मार्ग जस्तै बन्दै आएको छ। सुर्खेतबाट मुगु पुग्न दुई दिन लाग्नुका साथै धुलोकै कारण गाडी र यात्रु नचिनिने अवस्थामा गमगढी पुग्ने गरेको यातायात व्यवसायीहरू बताउँछन्। ३१६ किलोमिटर लामो यो सडक पुग्न भारी समस्या हुने गरेको छ।

एकहोरो यातायातका साधनहरू चल्न समेत धौँधौँ पर्ने यो सडकमा यात्रा भन्दा पीडा बढी हुने गरेको पत्रकार महासंघ मुगुका अध्यक्ष नृपेन्द्र मल्लले बताए। ताल्चा स्थित विमानस्थल सदरमुकामको माथि पट्टी भए पनि मौसममा समस्या आउन बित्तिकै जहाज सजिलै आउन सक्ने अवस्था छैन। काठमाडौं पुग्ने जहाजको भाडाले नेपालगन्जबाट मुगु आउन सकिन्छ। सुर्खेत, दैलेख , कालिकोट ,जुम्ला , मुगु हुँदै कर्णाली राजमार्ग हुम्लामा मिसिने गर्दछ। हुम्लामा अझै राष्ट्रिय सडक सञ्जालसँग जोडिन नसकेको तितो यथार्थ रहेको छ। मुगुको सदरमुकाम गमगढीमा मुस्किलले ठूला बसहरू चल्ने गर्दछन्।

एकोहोरो मात्र सञ्चालन हुने यो सडकमा गाडीहरू क्रस हुनका लागि पहिले नै फराकिलो सडक भएको ठाउँमा रोक्नुपर्ने अवस्था छ। जुम्लासम्म पिचको काम भए पनि त्यो भन्दा माथी पिचको काम हुन सकेको छैन। धुलाम्मे सडकमा जोखिम मोल्दै जवरजस्ती यातायातका साधनहरू भाग्यको भरोसामा कुद्ने गरेको चालक नविन शाहीले बताए। बिहान गाडी चढेको व्यक्ति बेलुकीसम्म गन्तव्यमा पुग्नका लागि देवीदेवता पुकार गर्नुपर्ने उनको भनाइ छ। पर्यटकीय क्षेत्र रारा मात्र नभई नेपाली भाषाको उद्गम स्थल सिंजा समेत यही साविकको कर्णालीमा रहेको छ। यहाँ विभिन्न धार्मिक पर्यटन क्षेत्र समेत भारी मात्रामा रहेका छन्।

अग्ला सेताम्य हिमाल अवलोकन गर्दै साविकको कर्णालीमा यात्रा गर्न मनमा जोस जसरी आउने गर्दछ, त्यसरी कर्णालीका सडक ढुक्कका साथ यात्रा गर्ने अवस्थामा भएमा यहाँ भारी मात्रामा आर्थिक रुपमा समेत फाइदा हुने सम्भावना रहेको छ।

साविकको कर्णालीमा दुरीको हिसाबले टाढा नभए पनि यात्रा गर्दा भारी समय लाग्ने हुँदा दिक्क समय लाग्ने गर्दछ। कालिकोटको केही क्षेत्रमा यात्रा गर्दा दोहोरो गाडीको केही ठाउँ भए पनि जुम्ला , दैलेख खण्डमा भने भारी मात्रामा चुनौती हुने गरेको छ। राज्यले साविकको कर्णालीमा बजेट निर्माण गर्नका लागि पर्याप्त बजेट विनियोजन कम गरेको कर्णालीबासी आरोप लगाउँदै आएका छन्। जल ,जमिन ,जडिबुटी तथा धार्मिक रुपमा प्रसिद्ध कर्णालीमा राज्यको लगानी भने न्यून मात्रामा रहँदा यहाँ विकास हुन नसकेको मुगुका स्थानीय मिलन विकले बताए।

हुम्ला भने झन सडकको पहुँच नभएका कारण अर्को समस्या हुँदै आएको छ। कर्णालीमा आउन सकिने रकमले विदेश घुमेर आउन सकिने उनको भनाइ छ। यो सडक त्रिदेशीय पनि रहेको छ। भारत र चिनसँग जोड्ने सडक समेत रहेको यो मार्ग राज्यको लगानी कम हुँदा समस्या हुँदै आएको छ। स्थानीय तह स्थापनासँगै केही कच्ची कटानका कामहरू भए पनि धुलाम्मे ,साँघुरा सडक भएका कारण मृत्यु मार्ग जस्तै बनेको आरोप लाग्दै आएको छ। पक्की र कच्ची कटान भएको ठाउँमा एकतर्फी यातायातका साधनहरू चल्ने मात्र हुँदा हैरान हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.