कञ्चनपुर : महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा रेबिजविरुद्धको खोप सकिएको ३ साता भए पनि अझै उपलब्ध नभएपछि खोप लगाउन आउने सर्वसाधारण मर्कामा परेका छन्।
महाकाली प्रादेशिक अस्पतालका अध्यक्ष कृष्णनन्द भट्टले ३ सातादेखि खोप अभाव भएको जानकारी दिए। माग बढे पनि अस्पतालमा खोप अभाव भएपछि खोप लगाउन आउनेलाई फिर्ता पठाउनुपर्ने बाध्यता रहेको उनले बताए।
भीमदत्त नगरपालिका–१८ का नरेश जोशीले अस्पतालमा रेबिजविरुद्धको खोप नपाएपछि समस्यामा परेको गुनासो गरे।
“घरमै पालेको कुकुरले खुट्टामा टोकेपछि रेबिजको खोप लगाउन अस्पताल गएको थिएँ तर अभाव छ भनेर फिर्ता पठाइयो। निजी अस्पतालमा पनि सहजै पाउने अवस्था छैन। पाइहालेमा ४ गुणा बढी मूल्य तिर्नुपर्ने बाध्यता छ”, उनले भने।
अर्का सेवाग्राही खुसी चौधरीले पनि निःशुल्क पाउने गरेको महाकाली प्रादेशिक अस्पतालमा खोप अभाव भएपछि निजी अस्पतालमा ६ सय रुपैयाँ तिरेर खोप लगाउनुपरेको गुनासो गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।