|

इलाम : उपनिर्वाचनका लागि राति १२ बजे  मौन अवधि शुरु हुँदैछ। इलाम-२ मा मौन अवधि भन्दा अघि विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार जनता माझ पुगेर भोट माग्दैछन्। 

नेकपा एमालेले चुलाचुलीमा चुनावी सभा गर्दैछ। चुलाचुली गाउँपालिका-२ स्वामीचोकमा चुनावी सभा गर्ने भएको हो। चुनावी सभालाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले सम्बोधन गर्नेछन्।

चुनावीसभामा हास्य कलाकार राजा राजेन्द्र पोखरेलको प्रस्तुति समेत रहनेछ। एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई नेकपा माओवादी केन्द्र, नेकपा माओवादी र नेपाल परिवार दलको समर्थन छ। 

नेपाली कांग्रेसले मंगलबार चुलाचुली गाउँपालिकामाअन्तिम चुनावी सभा गरेको छ। 

पहिचान पक्षधरको साझा उम्मेदवार डकेन्द्रसिंह थेगिमको अन्तिम चुनावी सभा चुलाचुली गाउँपालिका–४ आइतबारेमा हुँदैछ। चुनावी सभामा धरानका नगर प्रमुख हर्क साम्पाङ प्रमुख अतिथि रहनेछन्। चुनावी सभामा र्‍यापर लाहुरे, गायिका सुनिता थेगिम, एकदेव लिम्बु, सिद्धान्त खड्का र तृष्णा नेम्वाङले प्रस्तुति दिनेछन्।

थेगिमलाई धरान नगरप्रमुख हर्क साम्पाङ, जनजाति संघसंस्थाका साथै नेपाल समाजवादी पार्टी, जनता समाजवादी पार्टी, आम जनता पार्टी लगायतको सर्मथन छ। 

राष्ट्रिय स्वतन्त्र पार्टीले देउमाई नगरपालिकाको केन्द्र मंगलबारे बजार र इलाम नगरपालिका–५ विब्ल्याटेमा अन्तिम चुनावी सभा गर्ने उम्मेदवार मिलन लिम्बुले जानकारी दिए। यसअघि रास्वापले आइतबार चुलाचुलीमा चुनावीसभा गरेको थियो।

अन्य साना दल र स्वतन्त्र उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्दै छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.