'त्यहाँ स्वार्थ र गुटबन्दीबाहेक केही छैन'

|

काठमाडौं : विसं २०७९ प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि हालसम्म संसदका तीन वटा अधिवेशन पूरा भइसकेका छन्। तर यी अधिवेशनलाई कानून निर्माणका हिसाबले प्रभावकारी बनाउन सकिएको छैन।

जनप्रतिनिधिका हिसाबले हामी सांसदले व्यक्तिगत रूपमा जुन किसिमको भूमिका निर्वाह गर्नुपर्ने हो त्यो गरिरहेकै छौँ। तर, संसद ठूला राजनीतिक दलको अनिर्णयको बन्दी जस्तो भएको छ।

संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका शीर्षस्त नेताको कब्जाजस्तो छ। राष्ट्रिय राजनीतिक पार्टीले संसदमा आफूलाई प्रभावकारी भूमिकामा प्रस्तुत गर्न सकिरहेका छैनन्।

हामी साना पार्टीले धेरै विषय चाहेर पनि गर्न सकिरहेका छैनौँ। सरकारले जुन ढङ्गले विधेयकहरु ल्याउनुपर्ने हो, त्यो आएको छैन र सदनमा आएका विधेयक पनि प्रभावकारी रूपमा अगाडि बढ्न सकिनरहेको यथार्थ हो।

खास गरेर ठूला दलले संसदलाई बन्धक बनाएपछि संसदलाई खेलबाडका रुपमा हेरियो। संसदलाई मर्यादित रुपमा हेरिएन। तीन दलका तीन व्यक्ति बस्ने र  आफ्ना निर्णय लाद्ने, साना दललाई बेवास्ता गर्ने प्रवृत्ति छ। त्यसले संसदीय अभ्यास पनि प्रभावकारी हुन सकेन।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको चरित्र अनुरुप संसदीय अभ्यास हुन नसक्नु बिडम्बना हो। यहासम्मकी म आफैँ जनता समाजवादी पार्टी जसपा नेपालको प्रमुख सचेतक छु। मलाई पनि कैयौँपटक बैठकमा बोलाइएन। कुनै महत्वपूर्ण निर्णयबारे सोधिएन।

पार्टीभित्र आन्तरिक लोकतन्त्र नभएका कारण संसदमा मैले डेढ वर्षदेखि बेहोर्दै आइरहेको छु सदन प्रभावकारी बनेको छैन।

यसरी हेर्दा म आफैँ पछिल्लो संसदीय अभ्यास र सदनको भूमिकाप्रति सन्तुष्ट हुन सकेको छैन। संसदलाई राजनीतिक स्वार्थ र गुटबन्दीबाट टाढै राखेर जनताका सरोकारका विषयलाई सशक्त र प्रभावकारी ढंगले उठाउनुपर्नेमा त्यो हुन सकेको छैन।

तीन ठूला दलले संसदलाई अनिर्णयको बन्दी जस्तो बनाएका छन्। आफूले चाहँदा सदन खुलाउने नचाहँदा बन्द गरिदिने अभ्यास छ। सदन पालैपालो अवरोध गर्ने। कहिले कुन दलले कहिले कुन दलले उनीहरुको राजनीतिक स्वार्थ अनुकल सदनलाई उपयोग गर्ने प्रवृत्तिले समग्रमा संसदको गतिविधि र संसदीय अभ्यासलाई नकारात्मक दिशातर्फ लगिरहेको छ।

यसले जनताको चाहनामाथि कुठाराघात भएको छ। जनआकाङ्क्षालाई सम्बोधन गर्दै मुलुकको आर्थिक समृद्धिको यात्रामा जान अलमल र बेइमेल भएको छ। यसतर्फ सबै राजनीतिक दलहरु गम्भीर हुनुपर्ने अवस्था छ।

प्रमुख राजनीतिक दलले संसदलाई ‘जब चाहिन्छ, खोल्ने तब चाहिँदैन बन्द गर्ने जे चाहन्छन् त्यो गर्ने’ प्रवृत्ति छ। हामीलाई कुनै भूमिका निर्बाह गर्न दिइएन। सदन अवरोध संस्कृतिजस्तै भयो। साना दल कुनामा परे। उनीहरुको कुरै सुनिएन। त्यसैले पहिले तीन राजनीतिक दलका नेताहरु उदार हुनुपर्यो। उहाँहरु जनताप्रति उत्तरदायी बन्नुपर्यो। साना राजनीतिक दलप्रति समान व्यवहार गरिनुपर्छ। किनभने देश र जनताको कसम खाएर आएका जनप्रतिनिधिभएकाले जनताको काम त गर्नैपर्‍यो।

समयमा जनताको काम गर्न सकेनौ भने भोलि निर्वाचनका बेला जनतामाझ जाँदा कसरी मुख देखाउने, के सन्देश लिएर जाने त्यसबारे बेलैमा सजक हुन जरुरी छ।

संसद जनताको न्यायको मन्दिर हो। जनताको न्यायको मन्दिर भएकाले यसलाई न्याय दिलाउनुपर्छ। बन्दक बनाइनु हुँदैन। संसदले जनतालाई न्याय दिनुपर्छ। संविधान अनुरुप कार्यकारी अधिकार सरकारको भएकाले जनप्रतिनिधिको थलो संसदलाई प्रभावकारी बनाउनुपर्छ।

संसदलाई विजनेश दिएर जनतामा आशा जगाउन सक्नुपर्छ। सरकार र संसदले जनताको पक्षमा प्रभावकारी काम गरिरहेको छ भन्ने सन्देश जनतामा प्रवाह हुन जरुरी छ। अत्यावश्क विधेयक चाँडो पारित गराउने, नीतिगत र संरचनागत सुधारमा गम्भीर भएर लाग्नुपर्छ।

सदनमा आगामी दिनमा हाम्रो भूमिकालाई थप प्रभावकारी बनाउछौँ। हामीले अहिले पनि जनताको विषय सदनमा उठाइरहेका छौँ। तर, जति प्रभावकारी रुपमा प्रस्तुत हुनुपर्ने थियो त्यो हुन सकेको छैन। तुलनात्मक रुपमा पछिल्लो पटक सदन केही गतिशील भएको देखिन्छ। तर, केही दलको अवरोधले फेरि पनि सदन गतिशील हुँदैनकी भन्ने आशङ्का छ।

प्रमुख प्रतिपक्षी दलले निरन्तर संसद अवरोध गरिरहेको छ। सदनमा उठेका विषयलाई चाँडो सम्बोधन हुनुपर्छ। जनसरोकारका विषय सदनमा खुलेर राखौँ। विधेयकहरु छिटो अगाडि बढाउनुपर्छ। देशलाई विकासको गतिमा अगाडि बढाउन सबै जिम्मेवार बनौँ।

जनता अहिले निरास छन्। जनतामा देखिएको निरासा निरुपण गर्न आशातित काम गर्न जरुरी छ। त्यसका लागि सरकारले नयाँ कार्ययोजना ल्याउनुपर्छ। जनताको जनजीविकाका सवाललाई यथोचित सम्बोधन गर्नुपर्छ। देशमा बेरोजगारी मुख्य समस्या हो। संसद् र सरकार एकअर्काका परिपुरक हुन्।  संसद् अवरोध गरेर जनताको समस्या सम्बोधन हुँदैन। त्यसैले संसद्लाई चुस्त बनाइनुपर्छ। ऐन कानुन बनाएर कार्ययोजनाका साथ जनताको विषयलाई सम्बोधन गरिनुपर्छ।

 सांसद यादवको परिचय

जनता समाजवादी पार्टी जसपा नेपालका प्रमुख सचेत प्रदीप यादव युवा राजनीतिज्ञ हुन्। उनी तराई–मधेस केन्द्रित राजनीतिमा निकै प्रभावशाली नेताका रुपमा चिनिन्छन्।

उनी विस २०७९ मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सा १ बाट निर्वाचित सांसद हुन्। यादव वन तथा वातावरण मन्त्रीसमेत भइसकेका छन्। विसं २०३२ वैशाख २४ गते आमा कान्ति देवी र बुबा राजेश्वरप्रसाद यादवको कोखबाट वीरगंज–२२ मनियारीमा जन्मेका उनले विस २०६४ देखि राजनीतिक यात्रा सुरु गरेका थिए।

सांसद यादव सन् १९९७ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिमा प्रवेश गरेका थिए। जनता र समुदायका लागि काम गर्न सन् २००८ मा तत्कालीन मधेसी जनअधिकार फोरम नेपालमा प्रवेश गरेका उनी सन् २०१७ र सन् २०१८ मा दुई पटक पर्साबाट सङ्घीय संसदमा निर्वाचित भएका थिए। राजनीतिक, सामाजिक क्षेत्रमा सक्रिय यादव युवा जुझारु नेताका रुपमा परिचित छन्।

 (सांसद यादवसँग राससका समाचारदाता सिबी अधिकारीले गरेको कुराकानीको सम्पादित अंश।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.