|

पर्वत : जिल्लाका सात ओटै स्थानीय तहका ६० स्थानमा भएको आगलागीबाट एक हजार चार सय १७ हेक्टर क्षेत्रफलमा रहेको वन सखाप भएको छ।

डिभिजन वन कार्यालय पर्वतका कार्यालय प्रमुख झ्याम नारायण सापकोटाका अनुसार अहिलेसम्म भएका आगलागीबाट ५५ ओटा सामुदायिक, तीन ओटा व्यक्तिगत र दुई ओटा राष्ट्रिय वनमा डढेलोले क्षति गरेको छ।

क्षतिको भएको वनको क्षेत्रफलअन्तर्गत सामुदायिक वनको एक हजार दुई सय ७८ हेक्टर, व्यक्तिगत वनको एक सय २० हेक्टर र राष्ट्रिय वनेका १९ हेक्टर क्षेत्रफलमा रहेको वन जङ्गल जलेको छ।

स्थानीय तह अनुसार हेर्दा कुश्मा नगरपालिकाका पाँच ओटा, मोदी गाउँपालिकाका २० ओटा, जलजला गाउँपालिकाका १० ओटा, महाशिला गाउँपालिकाका दुई ओटा, पैयुँ गाउँपालिकाका दुई ओटा, बिहादी गाउँपालिकाका दुई ओटा र फलेवास नगरपालिकाका १९ ओटा वनमा डढेलो लागेको छ।

जलजला गाउँपालिका–४ मा रहेको फेदी सौरेनी सामुदायिक वनको १० हेक्टर क्षेत्रफल र वडा नं. २, ३ र ४ मा रहेको ठूलो सल्लेरी भिरमुनि वनको ६८ हेक्टर क्षेत्रफलमा लागेको डढेलोले खानेपानी योजनाको पाइप लाइनसमेत जलेको छ। आगलागी भएकोमध्ये सबैभन्दा बढी मोदी गाउँपालिका–६ तिलाहार स्थित थामार्जुङ सामुदायिक वनमा लागेको डढेलोले एक सय ७५ हेक्टरमा क्षेत्रफलमा रहेको वन सखाप भएको छ।

गत चैत दोस्रो हप्तादेखि सुरु भएको डढेलो लाग्ने क्रम अझै पनि रोकिएको छैन। गत चैत्र २२ गते जलजला गाउँपालिका–१ को देउराली सामुदायिक वन र जलजला गाउँपालिका–५ को सिमल्टेचोर सामुदायिक वनबाट आगो लाग्न सुरु भएको थियो।

हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ। हरेक वर्ष लाग्ने डढेलोले वन र वन्यजन्तु सहित मानवीय र मानवीय भौतिक संरचना लगायतमा ठूलो क्षति हुने गरेको छ।

धेरै वन क्षेत्रमा आगो लाग्दा वन्यजन्तु तथा मानवीय क्षति नभएको जिल्ला वन कार्यालय पर्वतले बताएको छ। गत वर्षको तुलनामा यस वर्ष वनमा धेरै मात्रामा डढेलो लागेको कार्यालय प्रमुख सापकोटा बताउँछन्।

डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्न सञ्चार माध्यममा प्रचारप्रसारका सामग्री प्रसारण तथा प्रकाशित गरिनुका साथै तीन ओटै सुरक्षा निकायलाई एक-एक ओटा अग्नि सेट उपलब्ध गराउनुका साथै सामुदायिक वन उपभोक्ता समितिमार्फत सचेतना गोष्ठी र अग्नि नियन्त्रण डेमो प्रदर्शनसमेत गरिएको उनको भनाई छ।

पर्वतमा वनहरूमा फैलिएका डढेलोहरू मानवीय कारण नै हुन्। वन पैदावार सङ्कलन, वन अतिक्रमण, चोरी सिकारीलगायत खेती किसानीका लागि प्रयोग गरिने आगो पनि डढेलो लाग्नुका मुख्य कारण हुन्। प्रहरीले आगलागी गर्नेहरूको खोजी गरिरहेको भए पनि अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन्।

मुलुकी ऐनमा आगो लगाउनेको महलले आगो लगाउने कार्यलाई फौजदारी अभियोग मानेको छ। वन ऐन, २०४९ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को ‘वनमा आगो लगाउन वा आगो लाग्न सक्ने क्रियाकलापहरूलाई अपराधको रूपमा लिएर कैद सजाय र दण्ड जरिवाना गर्ने व्यवस्था गरे पनि त्यो कागजमै सीमित छ।

पर्वतको कुल भूमि ५४ हजार दुई सय १० हेक्टरमध्ये २७ हजार छ सय ४० हेक्टर अर्थात् ५१ प्रतिशत क्षेत्रफलमा वन फैलिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.