|
सांकेतिक तस्वीर

वीरगञ्ज : पर्साको बालसुधार गृहमा रहेका ३ जनासहित ६ जना कैदीबन्दीले कक्षा १२ को परीक्षा दिएका छन्। शुक्रवार शुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा बालसुधार गृह पर्सामा रहेका ३ जना र कारागार कार्यालय पर्सामा रहेका ३ जना कैदीबन्दीले पनि परीक्षामा सहभागिता जनाए।

बालसुधार गृह पर्साका प्रमुख टीकाकृष्ण काफ्लेले त्रिजुद्ध माध्यमिक विद्यालयअन्तर्गत रही ३ जना बालसुधार गृहमा रहेका विद्यार्थीले परीक्षा दिएको बताए। 

“त्रिजुद्ध विद्यालयबाट एकजना परीक्षा लिनका लागि प्रतिनिधि आउनुभएको थियो। उहाँकै निरीक्षणमा बालसुधार गृहबाट ३ जना सुधारगृहमा रहेका बालकहरुले परीक्षा दिएका छन्”, उनले भने, “बालसुधार गृहमा रहेर अध्ययन गर्न चाहनेका लागि सहज वातावरण उपलब्ध गराउँदै आइरहेका छौँ।”

बालसुधार गृहमा ११९ जना बालक छन्। गत चैतमा भएको एसईई परीक्षामा यहाँका ४ जना विद्यार्थी सहभागी थिए। 

कारागार कार्यालय पर्साबाट पनि यसपाली कक्षा १२ को परीक्षामा ३ जना कैदीबन्दीले परीक्षा दिएका छन्। 

उनीहरुले पनि त्रिजुद्ध माध्यमिक विद्यालयअन्तर्गत कारागार परिसरबाटै परीक्षा दिएका हुन्। तीनैजना कैदीबन्दी पुरुष छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.