|

पर्वत : जिल्लाको फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बन क्षेत्रमा शनिवार भएको आगलागी नियन्त्रणमा लिन खोज्दा सुरक्षाकर्मी नै बीचमा फसे। सशस्त्र प्रहरी बलको २५ नम्बर गण चण्डिका पर्वतबाट गएको १५ जनाको टोलीसहित नेपाल प्रहरी र स्थानीयबासी पनि आगलागी नियन्त्रणको प्रयासमा थिए।

तलबाट माथितर्फ आगो बढ्दै गइरहेको बेलामा अचानक अर्को दिशाबाट पनि ह्वारह्वारती आगो दन्किँदा नेपाल प्रहरीका दुई जना सशस्त्र प्रहरीका एक जना र एउटा कुकुर समेत बीचमै फसे। तर सुरक्षाकर्मीको प्रयासले उनीहरू आफू सहित कुकुर पनि सुरक्षित नै रह्यो।

जिल्लाका सात वटै स्थानीय तहका ६० स्थानभन्दा बढी स्थानका बन क्षेत्रमा आगलागी हुँदा त्यसलाई नियन्त्रणमा लिन अग्रपङ्क्तिमा खट्ने सुरक्षाकर्मी नै हुन्। पर्वतको करिब एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा भइसकेको आगलागीलाई नियन्त्रणमा लिन पुगेका सुरक्षाकर्मीका दुःख न त आगो झोस्नेले बुझेको छ न त घरका छतमा बसेर आगलागीका दृश्य खिचेर सामाजिक सञ्जालमा राख्नेहरूले नै बुझेका छन्।

‘आगो नियन्त्रणमा लिँदा त दुःख नै हुन्छ। नियन्त्रणमा लिन खोज्दा खोज्दै आगोका लप्काले छुन्छ। हावा लागेको बेला झनै जोखिम हुन्छ। प्रदूषणले घरमा त बस्न सक्ने अवस्था छैन भने आगो दन्किरहेको ठाउँमा त श्वास फेर्नै कठिन हुन्छ’, आगो नियन्त्रणमा खट्दै आएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक शेखर रिमाल भन्छन्, ‘पहाडी क्षेत्रमा समथर मैदान छैन, भीरबाट आगो एक्कासि उर्लिएर आउँदा भाग्ने ठाउँ पनि हुँदैन। हाम्रो दुःख भन्दा पनि वातावरणीय प्रदूषणले कतिले दुःख पाउने अवस्था आयो।’

सशस्त्र प्रहरी बलको २५ नम्बर गण चण्डिका पर्वतका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले अहिलेसम्मका आगलागीमध्ये २६ स्थानमा पाँच सय २० जना परिचालित भएको बताउँदै छोटो समयमै अनुशिक्षण कार्यक्रम दिएर विपद् व्यवस्थापनका लागि उनीहरूलाई तयार पारिएको जानकारी दिए। ‘यी

आगलागीहरू मानव सिर्जित नै हुन्। समथर ठाउँ भएको भए अग्नि रेखा काटेर छिटो नियन्त्रणमा लिन सकिन्थ्यो। तर पहाडका भीरबाट दन्किएर आउने आगो नियन्त्रण गर्न समस्या हुन्छ’, उनले भने, ‘पहाडी बाटामा दमकल लैजान पनि समस्या भइरहेको छ। हामी मानिसको जीवन रक्षाको उद्देश्य राखेर खटिरहेका छौँ।’
जिल्लाका धेरै ठाउँमा भएका आगलागीका घटनाहरूको विषयमा सूक्ष्म रूपले अध्ययन गरिरहेको भए पनि अहिलेसम्म को पनि नियन्त्रणमा भने नलिइएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसाल बताउँछन्।

वन्यजन्तुले सताएको, आवास क्षेत्रसम्म बन पुगेको, रुख कटानमा कानुनी झन्झट रहेको लगायतका कारण व्यक्तिले अज्ञात तरीकाले नियतवश नै आगलागी गराएको हुन सक्ने गरी दोषीहरूको खोजी भइरहेको उनको भनाइ छ।

नेपाली सेनाको नयाँ रणभीम गुल्मका गुल्म पति सेनानी राजन पाण्डेले पनि जिल्लाका विभिन्न स्थानमा भइरहेका आगलागी नियन्त्रणमा नेपाली सेनालाई अग्नि नियन्त्रक औजारहरू सहित खटाइरहेको बताए। सुरक्षाकर्मीहरूका संयुक्त टोलीले आगलागी नियन्त्रणका लागि काम गर्दा पनि विशाल डढेला निमन्त्रणमा सुरक्षाकर्मीहरूले चुनौती बेहोर्नुपरेको पाण्डे बताउँछन्।

डिभिजन वन कार्यालय पर्वतका कार्यालय प्रमुख झ्याम नारायण सापकोटाका अनुसार अहिलेसम्म भएका आगलागीबाट ५५ वटा सामुदायिक, तीन वटा व्यक्तिगत र दुई वटा राष्ट्रिय वनमा डढेलोले क्षति भइसकेको छ। यो तथ्याङ्क सङ्कलन भइसकेपछि पनि थप ठाउँहरूमा आगलागी भएका सूचनाहरू आएकाले क्षति हुने अझै बढिरहेको उनको भनाइ छ।

गत चैत दोस्रो हप्तादेखि सुरु भएको डढेलो लाग्ने क्रम अझै पनि रोकिएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.