|

काठमाडौं : काठमाडौं महानगरपालिकाले आजदेखि सामुदायिक विद्यालयका १७५ जना शिक्षकका लागि तालिम सुरु गरेको छ। तालिममा स्रोत शिक्षक, शिक्षामा सीप कार्यक्रमका फोकल शिक्षक र प्रारम्भिक बाल विकास कक्षाका शिक्षकलाई सहभागी गराइएको छ। 

महानगरपालिकाका अनुसार एउटा समूहमा २५ जनालाई सहभागी गराएर ७ वटा समूहमा तालिम सञ्चालन हुनेछ। ४२ घण्टाको यो तालिममा ३० घण्टा मनोवैज्ञानिक र मनोसामाजिक परामर्शको सीप सिकाइन्छ। बाँकी १२ घण्टा करिअर गाइड (म्यापिङ्) को कक्षा चल्नेछ। 

पहिलो समूहको तालिम सुरु गर्दै महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भनिन्, ‘बालबालिकाको सर्वाङ्गीण विकासका लागि शिक्षकहरू हुआयामिक हुनुपर्छ, शिक्षण विधि कुशल हुनु असल शिक्षकको गुण हो, अब यतिले मात्र पुग्दैन, बालबालिकाले के चाहेका छन्? उनीहरुको क्षमता पहिचान गर्ने र रुचि अनुसारको बाटोमा लाग्ने वातावरण बनाइदिनुपर्छ।’

उनले शिक्षकलाई दिएको तालिमको नतिजा विद्यार्थीहरूको प्रगतिमा मापन गर्ने बताइन्। ‘यसकारण तालिम अवधिमा शिक्षक भएर होइन, विद्यार्थी भएर सहभागी हुनुहोला,’उनले भनिन्।

विद्यार्थीहरूलाई आफ्नो रुचि र आफूभित्रको क्षमता पहिचान गर्न सक्ने बनाएर आफैँले छानेको पेसामा लाग्न सक्ने जनशक्ति उत्पादनमा गर्ने महानगरको जोड छ। कार्यक्रममा सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाले भने, ‘आमाबुबा, दिदी दाजुले जे भन्नुभयो त्यही पढ्ने, आफूसँग मिल्ने साथीले छानेको भएर आफू पनि त्यही विषय पढ्ने वा त्यही सीप सिक्ने  परम्परा छ, यसले व्यक्तिभित्र भएको क्षमता एकातिर हुन्छ, काम अर्कै गर्नुपर्ने अवस्था हुन्छ, पेशागत रुपमा असफल हुने कारण यही हो।’ 

उनका अनुसार अरूले देखाएको बाटोमा भन्दा आफैंले चिनेर हिँडेको बाटोमा यात्रा सहज हुन्छ भन्ने बुझाउनु पर्नेछ। यो काम शिक्षकबाट सम्भव हुने भएकोले उनलाई छानिएको हो।

शान्ति शिक्षा मन्दिर थहितिमा सुरु भएको तालिममा २७ वटा विद्यालयका शिक्षक सहभागी गराइएको छ। तालिम वैशाख २४ गते समापन हुनेछ। वैशाख २५ गतेदेखि जेठ १ गतेसम्मको तालिम, शिवपुरी माध्यमिक विद्यालय, महाराजगञ्जमा हुनेछ। यस तालिममा पनि २७ वटा विद्यालयको सहभागिता रहनेछ।  

जेठ २ गतेदेखिको तालिम पद्मकन्या माध्यमिक विद्यालय, डिल्लीबजारमा हुनेछ। ९ गतेसम्म चल्ने तालिममा ३४ वटा विद्यालयको सहभागिता हुनेछ। जेठ १३ गतेदेखि रत्न राज्य माध्यमिक विद्यालय, बानेश्वरमा तालिम हुनेछ। त्यसमा १५ वटा विद्यालयको सहभागिता हुनेछ। तालिम जेठ २० गते सकिनेछ।  

यी तालिम स्थलमध्ये रत्न राज्य माध्यमिक विद्यालयमा एउटा समूह हुनेछ। अन्य सबै विद्यालयमा २/२ वटा समूहमा तालिम चल्नेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.