|

पाल्पा : तानसेन नगरपालिकाले आयोजना गरेको तानसेन महोत्सवमा ८ करोड कारोबार भएको छ।

महोत्सवबाट ४० लाखभन्दा बढी नाफा भएको सोमबार पत्रकार सम्मेलन गरी नगरप्रवक्ता यादवसिंह कार्कीले जानकारी दिए। करिब ८ करोडको कारोबार भएको छ। ४३ लाख ६६१ रुपैयाँ ६० पैसा नाफा भएको उनले बताए। करिब ३ लाख दर्शकले महोत्सवको अवलोकन गरेको आयोजकको दावी छ।

गत फागुन १९ देखि चैत १ गतेसम्म कृषि, रोजगार, पर्यटन, उद्योग र व्यापार तानसेन महोत्सव सञ्चालन भएको थियो। जिल्लामै पहिलोपटक स्थानीय तह आफैँले महोत्सव आयोजना गरेको हो।

राजधानी राइड्स नेपालले ६१ लाख रुपैयाँमा ठेक्का लिएर महोत्सव सञ्चालन गरेको थियो। अन्य विभिन्न सरकारी निकायले समेत मेलामा आर्थिक सहयोग गरेका थिए। कुल ६२ लाख ७७ हजार आम्दानी भएको थियो। १९ लाख ७६ हजार ३३८ रुपैयाँ ४० पैसा खर्च भएको कार्कीले बताए।

राजस्वका रूपमा नाफा भएको रकम तानसेनको विकासमा खर्च गरिने नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए। पहिलोपटक गरिएको महोत्सवले थप उत्साहित बनाएको छ। आगामी दिनमा अझै व्यवस्थित तरिकाले रचनात्मक गतिविधि गरिने उनले बताए।

पर्यटन र कृषिको माध्यमबाट रोजगारको पहिचान र सिर्जना तथा आन्तरिक राजस्वको प्रवर्धन गर्न महोत्सव सफल भएको छ। यहाँका स्थानीय भाषा, कला, संस्कृति, धार्मिक मूल्य र मान्यताको संरक्षण तथा स्थानीय प्रविधिलाई प्रोत्साहन र बाह्य प्रविधिको पहिचान गर्न महोत्सवले सहयोग पुर्‍याएको श्रेष्ठले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.