काठमाडौँ : नेपाल क्रिकेट संघ (क्यान)ले बुधवार टी-२० विश्वकपका लागि नेपाली टोलीको घोषणा गर्यो। क्यानले रोहित पौडेलेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
टोलीमा रोहित पौडेल कप्तान‚ आसिफ शेख‚ अनिलकुमार साह‚ कुशल भूर्तेल‚ कुशल मल्ल‚ दीपेन्द्रसिंह ऐरी‚ ललित राजवंशी‚ करण केसी‚ गुल्सन झा‚ सोमपाल कामी‚ प्रतीश जीसी‚ सन्दीप जोरा‚ अविनाश बोहरा‚ सागर ढकाल र कमलसिंह ऐरी छन्।
जेठ २० गते (जुन २ तारिख) मा वेष्ट इण्डिज र अमेरिकामा संयुक्त रूपमा उक्त प्रतियोगिता आयोजना हुँदै छ।
विश्वकपको पूर्वतयारीका रूपमा अहिले नेपाल वेष्ट इण्डिज ए टीमसँग सिरिज खेलिरहेको छ। उक्त सिरिजका लागि छानिएका खेलाडीहरूबाट नै छनोट गरि विश्वकपका लागि टोलीको घोषणा गरिएको छ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले टी-२० विश्वकपअगाडि सबै खेलाडीबारे जानकारी लिन पनि वेष्ट इण्डिज ‘ए’ सँग बुधवारको खेलमा केही खेलाडीलाई अवसर दिएको बताएका थिए।
बुधवारको तेस्रो खेलमा नेपालले कप्तान रोहितसँगै सोमपाल कामी र आसिफ सेखलाई प्लेइङ ११ मा समावेश गरेको थिएन। हारपछि कप्तान रोहितले विश्वकप अगाडि सबै खेलाडीलाई प्रयोग गरिएको र सोहीअनुरूप केही नयाँ खेलाडीलाई अवसर दिइएको बताए।
सबैको आग्रह राम्रो गर्ने खेलाडीलाई टोलीमा राख्नुपर्छ भन्ने रहेको र सोहीअनुरूप यो श्रृंखलामा धेरै खेलाडीलाई अवसर दिइएको रोहितले उल्लेख गरेका थिए। उनले विश्वकपमा ध्यान दिन र आराम गर्न आफू उक्त खेलमा विश्राम लिएको उल्लेख गरे।
नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले क्रिकेट नेशनका रूपमा नेपाललाई स्थापित गर्न स्पष्ट भिजन आवश्यक हुने बताएका थिए। सोहीअनुरूप नेपाली क्रिकेटको व्यवस्थापकसँग लगातार छलफल भइरहेको र वेष्ट इण्डिज ‘ए’ सँगको श्रृंखला राखिएको पनि स्पष्ट पारे।
प्रशिक्षक मोन्टीले विश्वकपका लागि अन्तिम १५ खेलाडीका बारेमा टोली स्पष्ट रहँदै आएको पनि उल्लेख गरे।
वेष्ट इण्डिजसँग निराशाजनक खेल
वेष्टइण्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी-२० सिरिज नेपालले एक खेल अगावै गुमाएको छ। बिहीवार भएको चौथो खेलमा पराजित भएसँगै नेपालले सिरिज ३-१ ले गुमाएको हो।
सिरिजको पहिलो खेल जितेको नेपालले त्यसयता तीन खेलमा लगातार पराजय भोग्यो। पहिलो खेलमा ४ विकेटको जित निकालेको नेपाल दोस्रो खेलमा १० र तेस्रो खेलमा ७६ रनले पराजित भएको थियो ।
बिहीवारको चौथो खेलमा पनि नेपाल २८ रनले पराजित हुँदै सिरिज सुम्पन बाध्य भयो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा वेष्ट इण्डिज ‘ए’ ले दिएको २१० रनको लक्ष्य पछ्याएको नेपाल १८१ रनमा समेटियो। निर्धारित २० ओभरमा नेपालले सबै १० विकेट गुमायो।
वेष्ट इण्डिजसँग यस्तो रह्यो नेपाली खेलाडीको खेल
रोहित पौडेल
यो सिरिजको तीन खेलका कप्तान रोहित पौडेलले पहिलो खेलमा ११२ रनको शानदार पारी खेलेका थिए भने दोस्रो खेलमा पनि ७१ रनको पारी खेले। तेस्रो खेलमा भने उनले विश्राम लिएका थिए।
चौथो खेलमा रोहितले ८२ रन बनाए। आवश्यक पर्दा उनी बलिङमा पनि राम्रो प्रदर्शन गर्न सक्छन्। उनी वर्ल्ड र्याङ्किङमा ५९औँ स्थानमा रहेका छन्।
आसिफ शेख
नेपालका अनुभवी खेलाडी आशिफ शेख ओपनर ब्याट्सम्यान तथा विकेटकिपर हुन्। टी-२० फर्म्याटमा ४४ खेल खेलेका शेखले १०२३ रन बनाएका छन् तर वेष्ट इण्डिजसँगको खेलमा भने उनी बेञ्चमा रहेका थिए। आज उनी शून्यमा आउट भए।
कुशल भुर्तेल
नेपालका विस्फोटक व्याट्सम्यानको छवि बनाएका कुशल भुर्तेलले पछिल्लो समय आफूलाई प्रमाणित गर्न सकिरहेका छैनन्। तर उनले बलिङमा पनि आफ्नो छुट्टै शान देखाउन सक्छन्। वेष्ट इण्डिजसँगको पहिलो खेलमा उनले १६, दोस्रो खेलमा २ रन बनाएका थिए भने तेस्रो खेलमा बेञ्चमा रहेका थिए।
तर दोस्रो खेलमा उनले २ विकेट लिन सफल भएका थिए। चौथो खेलमा भने उनले ४ ओभर बलिङमा २ विकेट लिँदै २३ रन दिएका थिए भने आज पनि उनको ब्याटिङ चल्न सकेन। उनी १ रनमा आउट भए।
दीपेन्द्रसिंह ऐरी
‘टाइगर’ उपनाम पाएका दीपेन्द्रसिह ऐरी नेपालका अर्का क्षमतावान क्रिकेटर हुन्। टी-२० र्याकिङमा ५०औँ स्थानमा रहेका ऐरी अराउण्डर हुन्। यस सिरिजमा उनले पहिलो खेलमा २४ रन बनउनुका साथै ३ ओभरको बलिङ गर्दै १ विकेट लिन ३० रन खर्चिएका थिए।
दोस्रो खेलमा ३ ओभर बलिङ गरेका ऐरीले ३९ रन दिँदै १ विकेट लिएका थिए। उक्त खेलमा उनी ३ रन बनाउँदै आउट भएका थिए। तेस्रो खेलमा उनले जम्मा ७ रन बनाएका थिए। चौथो खेलमा उनले १९ रन बनाएर आउट भए।
सोमपाल कामी
नेपालको इतिहासमा टी-२० विश्वकप २ पटक खेल्ने सोमपाल पहिलो व्यक्ति हुन्। अलराउण्डरको छवि बनाएका उनी विशेषतः फास्ट बलर हुन्।
जारी शृंखलाको दोस्रो खेलमा २ ओभर बलिङ गरेका उनले १८ रन खर्चिदै १ विकेट लिए भने ३ रन बनाए। चौथो खेलमा उनले २ ओभर बलिङ गर्दै १५ रन खर्चिए भने १० रन बनाउन सके।
करण केसी
नेपालका अर्का अनुभवी खेलाडी हुन्- करण केसी। अलराउण्डर करण जारी शृंखलाको तेस्रो खेलमा ४ ओभर खेल्दै ५४ रन खर्चिएर एक विकेट लिएका थिए भने २८ रन बनाएका थिए। उनी आवश्यक पर्दा रन बटुलेर नेपाललाई जिततर्फ अगाडि बढाउन सक्षम छन्।
गुल्सन झा
नेपालका अर्का क्षमतावान खेलाडी हुन् गुल्सन झा। बलिङ र ब्याटिङमा प्रभुत्व जमाउन सक्ने खेलाडीका रूपमा उनले आफूलाई परिचित गराएका छन्।
उनी जारी सिरिजको पहिलो खेलमा ९ रनमा नटआउट रहे। दोस्रो खेलमा २६ रन बनाए। चौथो खेलमा २ ओभर बलिङ गरेका उनले २५ रन दिए। आज उनले जम्मा १९ रन बनाउँदै आउट भए।
कुशल मल्ल
पावर हिटरका रुपमा चर्चित कुशल मल्लले पनि यस सिरिजमा सम्झनलायक प्रदर्शन गर्न सकेका छैनन्। उनी ब्याटिङसँगै आवश्यक पर्दा उपयोगी बलिङ गर्छन्।
उनले पहिलो खेलमा १६, दोस्रो खेलमा शून्य तथा तेस्रो खेलमा २० रन बनाएका थिए। अलराउण्डरका रूपमा रहेका उनले दोस्रो खेलमा ४ ओभर बलिङ गरेका थिए जसमा २६ रन दिएका थिए।
तेस्रो खेलमा २ ओभर खेल्दै २३ रन दिएका थिए। चौथो खेलमा पनि मल्लले खेल क्षमता देखाउन सकेनन्। आज उनी ४ रन बनाएर आउट भए।
अनिलकुमार साह
क्यारेबियन टोलीसँष लगातार खेल खेले पनि अनिलले गतिलो प्रदर्शन गर्न सकेका छैनन्। नेपालका विकेटकिपरसमेत रहेका साहले पहिलो खेलमा ५, दोस्रो खेलमा १ र तेस्रो खेलमा १४ रन बनाएका थिए।
ललित राजवंशी
नेपालका स्पिनर रहेका ललित राजवंशीले वेष्ट इण्डिजसँग पहिलो खेल खेलेका थिए। ४ ओभरको बलिङमा ३४ रन खर्चिएका थिए। चौथो खेलमा खेलमा फर्किएका ललितले ४ ओभर खेल्दै ५३ रन दिएका छन्।
प्रतीश जीसी
नेपालका अर्का बलर हुन् प्रतीश जीसी। जारी खेलको पहिलो खेलमा ३ ओभरमा २८ रन खर्चिएका उनले ५ रन बनाएका थिए। अन्तिम समयमा उनले हानेको चौकाले नेपाललाई जिततर्फ अग्रसर गराएको थियो। चौथो खेलमा उनले एक विकेट लिँदै ४३ रन खर्चिएका छन्।
सन्दीप जोरा
ब्याट्सम्यान रहेका सन्दीपले जारी खेलको चौथो खेलमा जम्मा १९ रन बनाउन सफल भए।
अविनाश बोहरा
नेपालका फास्ट बलरका रूपमा रहेका अविनाशले पहिलो खेलमा ४ ओभरको बलिङमा २८ रन खर्चिदै १ विकेट लिएका थिए। चौथो खेलमा उनले पूरा ४ ओभर बलिङ गरेर ४२ रन दिए पनि कुनै विकेट लिन सकेनन्। उनले १७ रन बनाए।
सागर ढकाल
स्पिनर सागर ढकाल टी-२० वर्ल्ड कपमा पुग्ने भाग्यमानी खेलाडी हुन्। उनले जारी सिरिजको दोस्रो खेलमा ४ ओभरको बलिङमा १९ रन खर्चिदै २ विकेट लिएका थिए भने तेस्रो खेलमा ४ ओभर बलिङमा १ विकेट लिँदै ४१ रन खर्चिएका थिए।
कमलसिंह ऐरी
फास्ट बलरका रूपमा रहेका कमलसिंह ऐरी पनि टी-२० वर्ल्ड कपमा पुग्ने भाग्यमानी खेलाडी हुन्। उनले जारी सिरिजको पहिलो खेलमा ३ ओभरको बलिङमा एक विकेट लिँदै ५३ रन खर्चिएका थिए। तेस्रो खेलमा ४ ओभर खेल्दै ५३ रन खर्चिए।
‘सन्दीप लामिछानेको आश, सामाजिक सञ्जालमा भडास’
गत कात्तिकमा भएको टी-२० वर्ल्ड कप छनोट खेलमा सन्दीप लामिछानेले सेमिफाइनलमा यूएईको २ विकेट र फाइनलमा २ विकेट लिएका थिए।
बलात्कारको आरोपमा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको टी-२० विश्वकपको यात्रा आजको मितिसम्म रोकिएको छ। नेपाली क्रिकेटका अनुभवी खेलाडी सन्दीपको अभाव भने खेलमा देखिने उनका प्रशंसकहरूले सामाजिक सञ्जालमा लेखिरहेका छन्।
बुधवार नेपालको समूह सार्वजनिक भएपछि सन्दीपले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा हाँसेको इमोजी सेयर गरेका थिए भने केही छिनमा पुनः अर्को स्टाटस लेख्दै आफू लामो समय मौन रहेको उल्लेख गर्दै आफू षडयन्त्रको शिकार भएको दावी गरेका थिए।
‘मलाई कुनै शंका छैन। यस षडयन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून्। सबै कुरा ईश्वरमा छोडिदिन्छु। समयले सत्य प्रकट गरेर बताउनेछ’, उनले लेखेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।