|

काठमाडौँ : नेपालले एटीएफ यू–१२ टेनिस टिम प्रतियोगिता (दक्षिण एशियाली क्षेत्रीय छनोट) अन्तर्गत छात्रतर्फको खेलमा जित हात पारेको छ।

४ राष्ट्र रहेको समूह ‘बी’ को लिग खेलमा नेपालले भुटानलाई आज ३–० को सोझो सेटमा पराजित गरी सान्त्वना जित हात पारेको हो। यसअघि नेपाल श्रीलङ्का र पाकिस्तानसँग पराजित भएको थियो। यो नतिजासँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो सिङ्गल्समा नेपालका विश्व विशेष डल्लाकोटीले डुडु तेन्जिङलाई ६–० र ६–३ तथा निश्चल ज्ञवालीले पेल्थोप छिरिङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे। 

डबल्समा नेपालका विश्व र साहनावाज आलमको जोडीले पेल्थोप र मिफाम छिरिङको जोडीलाई ६–० र ६–२ को सेटमा हराए।

नेपाल टेनिस सङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको छात्रमै पाकिस्तानले श्रीलङ्का तथा भारतले बङ्गलादेशलाई समान ३–० ले पन्छाए। 

योसँगै छात्रमा सेमिफाइनल समीकरण पूरा भएको छ। सेमिफाइनलमा भारतको भेट श्रीलङ्कासँग हुनेछ भने पाकिस्तानले बङ्गलादेशको सामना गर्नेछ।

यसैगरी छात्रामा श्रीलङ्काले नेपाललाई ३–० ले पराजित गर्‍यो। सिङ्गल्समा लियङ सानुथी वोङले नेपालीकी सारा पन्तलाई ६–० र ६–० तथा श्रीलङ्काकी दाम्सिलुनी सहन्साले अनुश्री धोजुलाई ६–० र ६–१ को सोझो सेटमा पन्छाए।

डबल्समा श्रीलङ्काका लियङले हेवासाम पथिराजाको जोडीले अनुश्री र आयुशा जिसीको जोडीलाई ६–४ र ६–३ को सेटमा पाखा लगाए। नेपालको यो लगातार तेस्रो हार हो। यसअघि नेपाल बङ्गलादेश र भारतसँग पराजित भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.