|

काठमाडौँ : अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुमका नवराज विकको हत्या भएको दिन बिहीवार (जेठ १०) गतेलाई तेस्रो जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रुपमा मनाइएको छ।

जात व्यवस्था उन्मूलन मोर्चा नेपाल, एकीकृत दलित मुक्ति मोर्चा नेपाल, संयुक्त दलित अधिकार मञ्च नेपाल र नेपाल राष्ट्रिय दलित केन्द्र नेपालले संयुक्तरुपमा जात व्यवस्थाविरुद्धको विद्रोह दिवस मनाएका हुन्।

२०७७ साल जेठ १० गते अन्तरजातिय प्रेम सम्बन्धका कारण रुकुममा नवराज विकलगायतका युवाहरु मारिएका थिए। सो दिनलाई यि संघ, संगठनहरुले जात व्यवस्था विरुद्धको विद्रोह दिवसको रुपमा मनाउने गरेका छन्।

बिहीवार सोही सन्दर्भमा काठमाडौँको माईतीघर मण्डलामा फोटो प्रदर्शनी तथा ¥याली गरिएको छ। फोटो प्रदर्शनीमा जातिय विभेदका कारण मारिनुपरेका दलित समुदायका व्यक्तिको फोटो राखिएको थियो।

सो क्रममा एकीकृत दलित मुक्ति मोर्चा नेपालका संयोजक दर्शनकुमार नेपालीले आजको दिनले जात व्यवस्था विरुद्धको लडाईंको सन्देश दिन खोजेको बताए।

कार्यक्रममा जात व्यवस्था मुर्दावाद, मान्छे मार्न पाइँदैन, जात व्यवस्था चाहिँदैन लेखिएको प्लेकार्डहरुको समेत प्रदर्शन गरिएको थियो भने जात व्यवस्था चाहिँदैन, सम्पूर्ण उत्पीडितहरु एक हौँ, वैज्ञानिक समाजवाद जिन्दावादलगायतका नारा लगाइएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.